बालबालिकाले खेलखेलमै पढ्न थाले



बीरबहादुर बम, मुगु

शैक्षिक सामाग्री र पाठ्यपुस्तकको अभाव भएको मुगुका दुर्गम विद्यालयमा बालबालिकाले खेलखेलमै पढ्न थालेका छन् । सिकाइस्तर वृद्धि गर्न किताबमात्र घोकेर हुँदैन । बालबालिकाभित्र रहेका कला क्षमतालाई पनि चिन्नुपर्ने हुन्छ ।

जिल्लाका चार वटा स्थानिय निकायका १ सय ५ विद्यालयमा बालबालिकाको सिकाइस्तरमा सुधार गर्न शैक्षिक मेला सञ्चालन गरिएको छ । स्थानीय निकायको समन्वय, युनिसेफ, विश्व शिक्षा तथा किर्डाक नेपाल मुगुको सहयोगमा विद्यालयस्तरीय सिकाइ मेला भएको हो । ‘गुणस्तरीय प्रारम्भीक शिक्षा उच्चशिक्षाको बलियो जग’ भन्ने नीतिलाई सहयोग गर्नमा विभिन्न गैरसरकारी संघ–संस्थाको पनि हातेमालो रहेको छ ।

विद्यालयस्तरिय सिकाइ मेलामा कक्ष १ देखि ३ सम्मका बालबालिकाले निर्माण गरेका विभिन्न शैक्षिक सामाग्री, चित्रकला, एकल तथा सामूहिक गीत, नृत्य, देउडा गीत, खेल प्रदर्शन गरिएको थियो । मेलामा प्रारम्भिक कक्षा पढाइ तथा गणितका सामाग्रीका साथै स्थानीयस्तरमा निर्माण भएका शैक्षिक सामाग्रीको छुट्टाछुट्टै स्टल निर्माण भएको थियो । प्रदर्शनीको सरोकारवालाहरूले अवलोकन गरेका थिए ।

कार्यक्रमले मुगुमा रहेका प्राथमिक कक्षा शिक्षण तथा सिकाइलाई नजिकवाट नियाल्ने विश्वास छ । बालबालिकामा रहेको सीप एकवाट अन्य साथी, अभिभावक, अन्य विद्यालय, सरोकारवाला निकाय तथा अवलोकनकर्तामा सम्प्रेषण भई गुणस्तरिय शिक्षण सिकाइमा सवैको ध्यानाकर्षण भएको छ ।

यस कार्यक्रको मुख्य उद्देश्य विद्यालयमा आफ्ना बालबालिकाले कसरी सिकिरहेका छन् र अभिभावकले घरमा केमा जोड दिनुपर्ने रहेछ र बालबालिकालाई घरमा सिक्न सहज वातावरण सिर्जना गराउन अभिभावकलाई सूचीत गर्नु रहेको किर्डाक नेपालका जिल्ला संयोजक टेकबहादुर शाहीले जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्