पर्वतमा मिचिएको सार्वजनिक जग्गा खोज्दै प्रशासन, कालीगण्डकी नदी नै व्यक्तिका नाममा



दुर्गाप्रसाद शर्मा, पर्वत

भूमाफियाले सरकारी जमिन मात्रै होइन कालीगण्डकी नदी नै व्यक्तिका नाममा दर्ता भएको पाइएपछि जिल्ला प्रशासन कार्यालयले कार्यदल बनाएर सार्वजनिक जग्गा खोजी गर्न थालेको छ ।

पर्वत र बाग्लुङ्गको सिमाना भएर बग्ने पवित्र कालीगण्डकी नदीमा पर्ने पर्वतको खनियाघाटदेखि नयाँपुलसम्मको चार किलोमिटरभन्दा लामो क्षेत्रफलमा नदी नक्सामै नदेखिएपछि जिल्ला प्रशासन कार्यालय खोजी थालेको हो ।

कालीगण्डकी नदीको अतिक्रमणबारे अध्ययन गर्न सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुबेदीको नेतृत्वमा रहेको समितिले अध्ययन गरिरहेको छ । समितिलाई दिइएको दुई महिनाको समयावधि सकिएपछि एक महिना थप गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो । ‘नदी नै व्यक्तिका नाममा रहेको सूचनाका आधारमा वास्तविकताको खोजी गरिरहेका छौ’, उहाँले भन्नुभयो– ‘समितिले दिने सिफारसका आधारमा थप कारबार्ही अघि बढ्छ ।’

कालीगण्डकी नदी अतिक्रमण भएको, व्यक्तिले आफ्ना नाममा दर्ता गरेको चर्चापछि २०७२ सालमा पर्वत र बाग्लुङ्गको संयुक्त टोली गठन भएको थियो । समितिले पर्वत खण्डमा पर्ने कालीगण्डकीको धेरैजसो भाग व्यक्तिका नाममा पहिल्यै दर्ता भएको प्रतिबेदन दिएको थियो । कुस्मा नगरपालिका–१ मा पर्ने सहस्रधारादेखि कुस्मा–४ मा पर्ने अर्मादीसम्मको करिव दुई किलोमिटर दुरीमा नदीको भाग नै छैन ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा रहेको उक्त अध्ययन प्रतिवेदनमा थप अनुसन्धान गर्नुपरेका कारण समिति गठन गरिएको प्रजिअ नेपालले बताउनुभयो । अन्तरिम प्रतिवेदन मात्रै भएका कारण स्पष्ट विवरण खोल्न नयाँ समितिले काम गर्ने बताइएको छ ।

उक्त प्रतिबेदनले कालीगण्डकी नदीको पर्वत खण्डमा पर्ने कतिपय क्षेत्रफल २०३८ सालमै व्यक्ति र बिभिन्न गुठीका नाममा दर्ता भएको पाइएको छ । पर्वत खण्डमा पर्ने तत्कालीन पाङ गाविस–१, २, ३ र ४ तथा तत्कालिन खुर्कोट गाविस–१ र २ मा पर्ने २४ कित्ताको करिव १६० रोपनी जमिन व्यक्तिका नाममा देखिएको छ । अध्ययन प्रतिवेदनअनुसार सो जग्गा कालीगण्डकी नदीकिनारमा आवादी जग्गा भएका जग्गाधनीहरुले २०३८ चैतअघि नै आ–आफ्ना नाममा दर्ता गरेको देखिएको छ ।

कतिपय जमिन गुठीका नाममा समेत दर्ता गरेको पाइएको छ । प्रतिवेदनका अनुसार १२ सय रोपनी जग्गा लक्ष्मीनारायण गुठीका नाममा दर्ता छ । त्यसमध्ये करिव १ सय ९० रोपनी क्षेत्रफल नेपाल सरकारकै नाममा मालपोत कार्यालयमा दर्ता छ । २०३८ सालमा भएको नापीमा कालीगण्डकीको सतहको चौडाइ नदीको मध्यभागबाट ३० मिटर कायम गरिएको थियो । उक्त अध्ययनअनुसार कालीगण्डकीको चौडाई ६० मिटर हुनुपर्छ ।

तर, पछिल्लो समय नदीकिनारमा आवादी जग्गा हुनेहरुले मिच्दै मुख्य सतहसम्मै पुगेर नदीजन्य पदार्थ निकासी गर्ने, ठेक्कामा लगाउने र नदीको सतहसम्म नै अतिक्रमण गर्नेगरेको समेत पाइएको छ ।

कालीगण्डकी नदी शालिग्राम पाइने विश्वकै एकमात्र नदी हो । यो नदीमा स्नान गरे मात्रै पुण्य मिल्ने बिश्वास रहीआएको छ । मुस्ताङ्गको बिशाल मरुभूमि भएर बग्ने भएकाले यो नदीले धेरै बालुवा र ढुंगा गिटी बगाएर ल्याउने गरेको छ । नदीकिनारमा जग्गा हुने र सार्वजनिक जग्गामा समेत नदीजन्य पर्दाथ उत्खनन र बिक्री गर्न ठुलै चलखेल हुने गरेको छ । राम्रो आम्दानी हुने भएकाले नदी किनारको जमिन व्यक्तिले दर्ता गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्