कोरोनाको त्रासका कारण होलीमा बजार सुनसान



सरोज यादव, विराटनगर ।

विगतका वर्षहरुमा होली आउनु हप्ता दिन अघिदेखि नै बजारमा चहलपहल हुने गर्दथ्यो । होलीका सामग्री किन्नेको भीड लाग्ने गर्दथ्यो । तर, यस वर्ष भने होलीमा बजार सुनसान देखिएको छ ।

कोरानोको सन्त्रासका कारण होलीको उमंग यसपटक खासै देखिएको छैन । चीनबाट फैलिएको कोरोना भाइरस हालसम्म विश्वका ९० भन्दा बढी मुलुकमा फैलिसकेको छ ।

कोरोनाको भाइरस नेपालमा हालसम्म नदेखिए पनि त्यसको सन्त्रास भने अत्यधिक देखिएको छ । कोरोनाका त्रासकै कारण होलीमा समेत बजारमा चहलपहल कम देखिएको छ । होलीको सामग्रीसमेत विगतका वर्षभन्दा यस वर्ष एकदमै कम बिक्री भएको व्यापारीहरु बताउँछन् ।

होलीका लागि रंग, भेस्टलगायतका सामग्रीहरुको गत वर्षको भन्दा घटेको विराटनगरका व्यापारी रबिन भट्टराईको भनाइ छ । उहाँले विराटनगरमा कोरोनाको त्रासले गर्दा मानिसहरु आवतजावतमा कमि भएको कारण व्यापार व्यापार हुन नसकेको बताउनुभयो ।

होली पर्वका लागि भनेर ल्याएका रंग, भेष्टलगायतका सामग्री त्यतिकै थन्किने अवस्था आएको अर्का व्यापारी अजित साह बताउनुहुन्छ । एक हप्तायता बजारमा मानिसको चहलपहलसमेत घटेको छ ।

आफैं सचेत र सतर्क हुनु सकारात्मक भएको व्यापारीहरुकै भनाइ छ । नेपालीहरु कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेत भएकाले बजार शून्य रहेको व्यापारी राजकुमार साहले बताउनुभयो । विगतमा होलीको समयमा राम्रो कारोबार हुने गरेको थियो । कारोबार नभएको आफूहरु चिन्तित नभएको व्यापारीहरुको भनाइ छ ।

कोरोनाको संक्रमण फैलिन नदिनु नेपालका लागि सबैभन्दा ठूलो उपलब्धि हुने अर्का व्यापारी पवनकुमार साहले बताउनुभयो । व्यापार नभएको आफूहरु चिन्तित नभएको साहले प्रस्ट पार्नुभयो । नागरिकहरु आफैं सचेत भएकाले विराटनगरमा होली रंगमय नहुने उहाँको भनाइ छ । सरकारीस्तरबाट समेत कोरोनाको जोखिम न्यूनीकरणका लागि विभिन्न योजना अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्