कोरोना त्रासः विश्व शेयर बजारमा पहिरो



नेपाल समाचारपत्र, काठमाडौं । 
चीनबाट महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण विश्व अर्थतन्त्रमा नराम्रो असर परेको छ । विश्वका अर्थतन्त्रमा कोरोनाले पारेको असरका कारण विश्व शेयर बजारमा पहिरो गएको छ ।
भारतमा सोमबार शेयर बजारमा १५ महिना यताकै सबैभन्दा ठूलो गिरावट आएको छ । कोरोना भाइरसको आतंकका कारण लगानीकर्ताहरू त्रसित बनेकाले भारतीय शेयर बजारमा भारी मात्रामा गिरावट आइरहेको विज्ञहरू बताउँछन् ।
भारतीय सूचकांक सेन्सेक्समा सोमबार शुरूवाती केही घण्टामा नै १९ सयअंकसम्मको गिरावट आएको थियो ।
कोरोना भाइरसबाट आतंकित विदेशी पोर्टफोलियो लगानीकर्ता (एफपीआई)हरूले पाँच कारोबार दिनमा भारतीय शेयर बजारबाट करिब डेढ खर्ब रुपियँँ झिकेका छन् । ‘एफपीआई’ले  २०२० मार्चमा पाँच कारोबार दिनमा भारतीय पुँजी बजारबाट एक खर्ब ३१ अर्ब रुपियाँ निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यस अघि लगातार ६ महिनासम्म एफपीआई भारतीय बजारमा ठूलो लगानीकर्ताको रूपमा रहेको थियो । डिपोजिटरी तथ्यांकका अनुसार मार्च २ देखि ६ मार्चका बीच एफपीआईले शेयर बजारबाट ८९ अर्ब ९७ करोड, ४१ अर्ब ५९ करोड ऋण पत्र बजारबाट निकालेका हुन् ।
बेंगलुरुमा आधारित लगानी शुरू गर्ने ग्रोकाका सह–संस्थापक र प्रमुख अपरेटिंग अफिसर (सीओओ) हर्ष जैनले अमेरिकामा कारोना भाइरसको संक्रमणको बढ्दो चिन्ताले भारतीय बजारलाई नकारात्मक प्रभाव पारेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘अमेरिकामा कोरोना भाइरसको फैलावटको बढ्दो चिन्ता र विश्व बजारमा भएको गिरावटले भारतीय बजारलाई पनि असर गरेको छ ।’ एफपीआईहरू बजार सुस्त हुने डरले लगातार दुवै घरेलु स्टक र बन्ड मार्केटबाट पैसा फिर्ता लिंदै छन्।
अमेरिकी फेडरल रिजर्भले अचानक नीतिगत दरमा शून्य दशलमव ५ प्रतिशतले कटौती गरेको छ । यसले फेडरल रिजर्भले अमेरिकामा आर्थिक मन्दीको कल प्राप्त गरिरहेको अवस्था देखाउँछ । अर्को यति बेला भारतमा बैंक संकटको कारण बजारमा कुनै उत्साह नभएको र  त्यसकै कारण तर्सिएको जैनको भनाइ छ ।
यस्तै जापानको निक्केई सूचकांक पनि पाँच प्रतिशतसम्म घटेको छ । सोमबार अस्ट्रेलियाको एएसएक्स सात दशमलव तीन प्रतिशतसम्म घटेको हो । यो वर्ष सन् २००८ पछि यी बजारमा सबैभन्दा ठूलो गिरावट आएको विज्ञहरूको भनाइ  छ । कोरोना भाइरसको आतंक विश्वभर फैलिएपछि त्यसको त्रासका कारण अर्थतन्त्रमा निकै नराम्रो असर पर्न गएको विज्ञहरू बताउँछन् ।
तेलको मूल्यमा पनि भारी गिरावट
विदेशी बजारमा सोमबार कच्चा तेलको मूल्यमा ३० प्रतिशतसम्म गिरावट देखिएको छ । यो सन् १९९१ मा भएको खाडी युद्धपछि कच्चा तेलको मूल्यमा आएको सबैभन्दा ठूलो गिरावट भएको विज्ञहरू बताउँछन् । तेलको मूल्यमा भएको गिरावटको असर ऊर्जा कम्पनीको शेयरको मूल्यमा पनि परेको छ ।
अस्ट्रेलियामा पञ्जीकृत तेल कम्पनी आयल सर्चको शेयर ३१ प्रतिशतसम्म गिरावट आएको छ भने ऊर्जा फर्म सान्तोसको शेयरमा २७ प्रतिशतले गिरावट आएको छ । चीनबाट फैलिन शुरू भएको कोरोना भाइरस (कोभिड–१९) विश्वभरि देखिएपछि तेलको मागमा कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्