भैंसी पाल्ने कृषकलाई २० हजार अनुदान 



नेपाल समाचारपत्र, पर्वत । 
पर्वतको बिहादी गाउँपालिकाले उन्नत जातको गाईभैंसी पालनलाई प्रोत्साहन गर्ने कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाले उन्नत गाई भैंसी किन्ने किसानलाई प्रतिपशु २० हजार रुपियाँ अनुदान दिने कार्यक्रम ल्याएको हो ।
किसानलाई दिगो आम्दानीतर्फ आकर्षित गर्ने गाउँपालिकाको योजनाअनुसार किसानलाई पशुपालनमा अनुदान दिन थालिएको गाउँपालिकाले जनाएको छ । ‘पशुपालनमा किसानको ध्यान आकर्षित गर्न अनुदान दिने कार्यक्रम ल्याएका हौं’ गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले भन्नुभयो– ‘अनुदान दिन किसानको निवेदन संकलन गर्दैछौं ।’ बढ्दो बसाईसराईले गाउँ रित्तिँदै गएको छ ।
अधिकांश युवा गाउँमा भेटिन छाडेका छन् । खासगरी युवा विदेश पलायन भइरहेका छन् । स्थानीयस्तरमा रोजगारीका कुनै सम्भावना नभएको हुनाले पशुपालनलाई व्यावसायिक बनाउन सके गाउँ छोडेका फर्किने अपेक्षासहित किसानलाई पशुपालनमा आकर्षित गर्न थालिएको वडा नम्बर ३ का अध्यक्ष रणबहादुर आलेले बताउनुभयो ।
‘पशुपालनमा युवाको आकर्षण बढ्न सकेको छैन,’ वडाअध्यक्ष आलेले भन्नुभयो– ‘पशुपालनलाई व्यावसायिक बनाउन सके युवा विदेश जानुपर्दैन भनेर पशुपालनलाई जोड दिएका हौं ।’  उहाँका अनुसार दूध उत्पादन बढाउने र गाउँ–गाउँमा संकलन केन्द्र बनाउने कार्यक्रम रहेको छ ।
दूध संकलन केन्द्र स्थापना गर्न चाहने सहकारी र फर्मलाई ७० प्रतिशत अनुदान दिने गाउँपालिकाको योजना रहेको उहाँले सुनाउनुभयो ।  पशुपालन र कृषिमा विहादी गाउँपालिका राम्रो र सम्भावना रहेको क्षेत्र हो । गाउँपालिकामा प्रशस्त चरन क्षेत्र, भुईघाँस र डालेघाँस लगाउने क्षेत्र पनि पर्याप्त रहेको छ । गाउँपालिकाले पशुपालनमा सहयोग गर्न घाँस बिस्तार गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
बजारीकरणका लागि अहिले पक्की सडक बनाउन थालिएको छ । पशुपालन गर्ने किसानको राम्रो भविष्य देखेरै गाउँपालिकाले कृषि र पशुपालनलाई जोड दिएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले बताउनुभयो ।  कृषकलाई ५० प्रतिशत अनुदानमा टनेल, यान्त्रिक हलो, भकारो सुधारमा पनि सहयोग गर्न थालेको उहाँले जानकारी दिनुभयो ।
पशुपालन र कृषि क्षेत्रमा चालू वर्ष उक्त गाउँपालिकाले १ करोड रुपियाँभन्दा बढी बजेट विनियोजन गरेको छ । विहादीमा प्रदेश सरकारमार्फत चालू वर्ष नै मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम पनि शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्