फागुमा अनाथलाई शैक्षिक सामग्री



नेपाल समाचारपत्र, पोखरा ।
कोराना भाइरसको सन्त्रासले सोमबार पोखरामा होली खेल्ने युवायुवतीको जमात खासै देखिएन। दिनभरि नै पोखरा शहर सुनसान जस्तै रह्यो। तर दशनामी दिदीबहिनी दाजुभाइहरूसँगै युथ नर्स सञ्जाल कास्कीका पदाधिकारी भने सुटुक्क पोखरा–६, लेकसाइडको डिहीको पाटनस्थिन रेन्बो चिल्ड्रेन होममा पुगेर होली मनाए। तर उनीहरूको होली मनाउने तरिका भने बेग्लै थियो।
बालगृहमा रहेका करिब ४० जना अनाथ बालबालिकालाई शैक्षिक सामग्री एवं फलफूल वितरण गरी त्यहाँ रहेका बालबालिकासँग होली मनाइएको होे। कार्यक्रममा युथ नर्स सञ्जाल कास्कीका अध्यक्ष सरस्वती पुरी, दशनामी दिदीबहिनी दाजुभाइहरू मनोज गिरी, कृष्ण भारती, अञ्जली गिरी, सुस्मिता गिरी, सिम्रन गिरी, दीपिका गिरी, राजीव गिरीलगायतले बालगृहका सञ्चालक गोमा ढकाललाई संयुक्त रूपमा शैक्षिक सामग्री र फलफूल हस्तारण गर्नुभएको हो।
कार्यक्रममा युथ नर्स सञ्जाल कास्कीका अध्यक्ष सरस्वती पुरीले कोरना भाइरसको संक्रमणबाट बच्ने तरिकाबारे सचेतना गराउनुभएको थियो। सचेतनापश्चात होलीको सद्भाव र शुभकामना साटासाट गरी रङ खेलेर उल्लासमय वातावरणमा होली मनाइएको अञ्जली गिरीले बताउनुभयो।
‘अनाथालयमा दिदीबहिनी दाजुभाइ आएर बालबालिकालाई गर्नुभएको सहयोगले निकै हर्षित भएकी छु,’ सञ्चालक ढकालले भन्नुभयो– ‘अहिले कोरोना भाइरसको संक्रमणको सन्त्रासले आम मान्छे आत्तिएका बेला वहाँहरूले बालबालिकालाई हात धुने तरिका र त्यसबाट बच्चे उपाय बारे प्रशिक्षण दिनुभएकोमा धेरै आभारी छु।’
कार्यक्रममा युथ नर्स सञ्जाल कास्कीकी अध्यक्षसमेत रहेकी स्टाफ नर्स सरस्वती पुरीले बालबालिकालाई हात धुने विधि र प्रक्रियाबारे डेमोस्ट्रेसन नै प्रदर्शन गर्नुभएको थियो। ‘हामीलाई अनाथालयमा आएर फरक ढंगबाट होली मनाउन पाउँदा खुसी लागेको छ,’ स्टाफ नर्स पुरीले भन्नुभयो– ‘आफ्नो व्यस्त समय र स्वआर्जनबाट बचेको रकमको केही अंश समाजसेवामा खर्च गर्दा धेरै आत्मसन्तुष्टि मिलेको छ।’

प्रतिक्रिया दिनुहोस्