प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित



नेपाल समाचारपत्र, बैतडी ।
बैतडीको सुर्नया गाउँपालिका गएको मंसिर महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ। प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टको सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको हो। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्पूर्ण आर्थिक कारोबारका काम ठप्प भएका गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले बताउनुभयो।
संघीय सरकारले कार्यालय प्रमुख पठाउने गरेको र गाउँपालिकामा पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई मनलाग्दी हिसाबले सरुवा गर्ने गरिएकाले समस्या भएको उहाँले बताउनुभयो। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा अत्यावश्यक कामसमेत रोकिएको उहाँले बताउनुभयो।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा मंसिरदेखि कर्मचारीहरूले तलब भत्ता पाएका छैनन् भने सामाजिक सुरक्षा भत्ता वितरणमा समेत अवरोध आएको गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबहादुर चन्दले बताउनुभयो। निमित्त कार्यालय प्रमुखलाई आर्थिक अधिकार नहुँदा समस्या भएको उहाँले बताउनुभयो।
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षमा गाउँपालिकाले सञ्चालन गर्ने योजनाहरू अहिलेसम्म सञ्चालन हुन सकेका छैनन्। चालु आर्थिक वर्षको ८ महिना बितिसक्दासमेत योजनाहरू कार्यान्वयनमा नआएका हुन्। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्ने सबै क्षेत्रका कामकाजमा बाधा पुगेको वडा नं १ का वडा अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताउनुभयो।
यता गाउँपालिकाबासीहरूले भने चालु आर्थिक वर्षको ८ महिना बितिसक्दासमेत योजनाहरू कार्यान्वयन नहुँदा असन्तुष्टि जनाएका छन्। संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत नपठाए आन्दोलनमा जाने गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले बताउनुभयो।
देश संघीय संरचनामा गइसकेपछि सबै सेवासुविधा गाउँघरमै पाइने आश गरेका नागरिक अझै सास्तीमै छन्। स्थानीय सरकार आएको ३ वर्ष पुग्नै लाग्दासमेत अझै पनि सोचेअनुसारका सेवासुविधा पाउन सकेका छैनन्। कहिले भौतिक पूर्वाधार अभाव त कहिले कर्मचारी अभाव हुँदाको मारमा सर्वसाधारण नागरिक पर्ने गरेका छन्।
हालसम्म पनि योजना कार्यान्वयन नहुँदा विकास निर्माणका योजना गुणस्तर नहुने स्थानीय प्रकाश भाटको भनाइ छ। असारमा आएर हतारहतारमा निर्माण गरिने योजना दिगो बन्दैनन् उहाँले भन्नुभयो– ‘असारमा हतारहतारमा गरिएका विकास निर्माणका कामले विपत्ति निम्त्याउने चिन्ता छ।’

प्रतिक्रिया दिनुहोस्