कोरोनाको त्रासका कारण होलीमा बजार सुनसान



सरोज यादव, विराटनगर।

विगतका वर्षहरुमा होली आउनु हप्ता दिनअघिदेखि नै बजारमा चहलपहल हुने गर्दथ्यो । होलीका सामग्री किन्नेको भीड लाग्ने गर्दथ्यो । तर, यस वर्ष भने होलीमा समेत बजार सुनसान देखिएको छ । सोमबार पहाड र मंगलबार तराईमा मनाइदैछ । कोरानोको सन्त्रासका कारण होलीको उमंग यसपटक खासै देखिएको छैन ।

चीनबाट फैलिएको कोरोना भाइरस हालसम्म विश्वका ९० भन्दा बढी मुलुकमा फैलिसकेको छ । कोरोनाको भाइरस नेपालमा हालसम्म नदेखिए पनि त्यसको सन्त्रास भने अत्यधिक देखिएको छ । कोरोनाका त्रासकै कारण होलीमा समेत बजारमा चहलपहल कम देखिएको छ ।

होलीको सामग्रीसमेत विगतका वर्षभन्दा यस वर्ष एकदमै कम बिक्री भएको व्यापारीहरु बताउँछन् । होलीका लागि रंग, भेष्टलगायतका सामग्रीहरुको गत वर्षको भन्दा घटेको विराटनगरका व्यापारी रबिन भट्टराईको भनाइ छ । उहाँले विराटनगरमा कोरोनाको त्रासले गर्दा मानिसहरु आवतजावतमा कमि भएको कारण व्यापार व्यापार हुन नसकेको बताउनुभयो ।

होली पर्वका लागि भनेर ल्याएका रंग, भेष्टलगायतका सामग्री त्यतिकै थन्किने अवस्था आएको अर्का व्यापारी अजित साह बताउनुहुन्छ । एक हप्तायता बजारमा मानिसको चहलपहलसमेत घटेको छ । एक हप्ता अघिदेखि नै विगतमा होलीको रौनक छाउँथ्यो विराटनगरमा । एकआपसमा रंग दलेर शुभकामना आदानप्रदान गरिन्थ्यो ।

आफैं सचेत र सतर्क हुनु सकारात्मक भएको व्यापारीहरुकै भनाइ छ । नेपालीहरु कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेत भएकाले बजार शून्य रहेको व्यापारी राजकुमार साहले बताउनुभयो । विगतमा होलीको समयमा राम्रो कारोबार हुने गरेको थियो । कारोबार नभएको आफूहरु चिन्तित नभएको व्यापारीहरुको भनाइ छ ।

कोरोनाको संक्रमण फैलिन नदिनु नेपालका लागि सबैभन्दा ठूलो उपलब्धि हुने अर्का व्यापारी पवनकुमार साहले बताउनुभयो । व्यापार नभएको आफूहरु चिन्तित नभएको साहले प्रस्ट पार्नुभयो । नागरिकहरु आफैं सचेत भएकाले विराटनगरमा होली रंगमय नहुने उहाँको भनाइ छ । उहाँले कोरोना भाइरसको संक्रमणबाट जोगीन आफू सचेत भएकाले अरुलाई पनि सचेत हुन आग्रह गर्नु भयो । सरकारीस्तरबाट समेत कोरोनाको जोखिम न्यूनीकरणका लागि विभिन्न योजना अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्