मानवसेवा आश्रमलाई मुख्यमन्त्रीको सहयोग



शिक्षा पन्त,लमजुङ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेसीशहर नगरपालिका–७ हाइस्कुल चोकमा रहेको मानव सेवा आश्रमलाई सहयोग गर्नुभएको छ । उहाँले आइतबार आश्रमको अवलोकनको क्रममा उक्त घोषणा गर्नुभएको हो । ‘आश्रमले सडक मानवको उद्दार गरेको छ । हेरचाह गरेको छ । उनीहरुलाई नयाँ जीवन दिएको छ’ उहाँले भन्नुभयो, ‘यो काम सरकारबाट हुनुपर्नेमा एउटा संस्थाले गर्दै आएको छ ।

यो राम्रो काम हो । सडक मानवको जीवनयापनमा सहज बनाउन मैले पनि सहयोग गरेको हुँ ।’ सडक मानवको उद्दार गरी पालनपोषण गर्दै आएको मानव सेवा आश्रमको उहाँले प्रशंसा गर्दै आफ्नो तर्फबाट पनि मासिक १/१ हजार रुपियाँ प्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले गण्डकी प्रदेश सरकारले सडक मानवका लागि सहयोग गर्दै आएको र बेंसीसहरको लागि पनि सहयोग गर्ने बताउनुभयो ।

आश्रमको भवन बनाउनका लागि प्रदेशले आर्थिक सहयोग उपलब्ध गराउने उहाँले बताउनुभयो । सोही अवसरमा बाल सपना समाज लमजुङले आश्रमका लागि करिव ५ रोपनी जग्गा दान गर्ने घोषणा गरेको छ । समाजका अध्यक्ष डा.बालकृष्ण बरालले बेंसीसहर नगरपालिका ८ पाखाथोकमा संस्थाको नाममा रहेको जग्गा दान गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘सडक मानवको सेवा गरी आश्रमले पूण्यको काम गरेको छ ।

यो काममा हामीले पनि सघाउन खोजेका छौं । आश्रमलाई जग्गा हस्तान्तरण गर्छौं ।’ मानव सेवा आश्रमको आफ्नै भवन नहुँदा भाडामा बस्दै आएको छ । साँघुरो ठाउँमा सडक मानवको पालनपोषण र हेरचाहमा समस्या भएको आश्रमकी संयोजक अनिता अधिकारीले बताउनुभयो । आश्रमलाई जग्गा प्राप्त भएपछि भवन निर्माणको प्रक्रिया थालिने उहाँले बताउनुभयो । ‘जतिपनि बेवारिसे अवस्थामा भेटिएका मानवलाई उद्दार गरेका छौं ।

आश्रममा ल्याएका छौं । ठाउँ सानो हुँदा कार्यालय सञ्चालनमा समस्या छ’ उहाँले भन्नुभयो, ‘अब जग्गा पनि पाउँदै छौं । प्रदेशले भवन निर्माणमा सहयोग गर्छु भनेको छ । यो सडक मानव र हाम्रा लागि खुसीको कुरा हो । कुनैपनि व्यक्ति एकसरो कपडा लगाएर सडकमा हिँड्न नपरोस्, पालनपोषणको अभाव नहोस् भन्ने उद्देश्यका साथ मानव सेवा आश्रम लागेको संयोजक अधिकारीले बताउनुभयो । १८ जनालाई परिवारमा पुनर्मिलन गराएको छ । मानव सेवा आश्रमका हाल १८ जना सडक मानव आश्रित छन् । आश्रमले हालसम्म ६० जना सडक मानवलाई सेवा दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्