सचेतनाको खाँचो



छिमेकी देश चीनबाट फैलिएको कोरोना भाइसर विश्वव्यापीरूपमा फैलिएसँगै नेपालमा पनि सन्त्रास बढेको छ। महामारी बनेर रोग राजधानीजस्ता घना बस्तीमा छि¥यो भने यसले भयानक रूप लिन सक्छ भन्ने परिकल्पनाले मात्र पनि आम सचेत नेपालीको टाउको दुखाएको छ। तर, कोरोना भाइरसको परीक्षण गर्दा ‘पोजिटिभ’ देखिएको नेपालीले निरन्तर तातोपानी उमालेर खाएको र घरैमा छुट्टै कोठा तथा शौचालय प्रयोग गरेरै निको भएको उदाहरण हामीसँग छ। केही आधारभूत विषयमा सचेत हुने हो भने आतंकित हुनुपर्दैन भन्ने पक्षबाट सचेतना किन नफैल्याउने ?
समयमा नै पूर्वतयारी र सावधानी अपनाउन सकेको खण्डमा सम्भावित क्षतिबाट जोगिन सकिन्छ। कोराना भाइरसका कारण चीनमा मात्र ३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने अन्य देशमा पनि भाइसरको सक्रमित देखिने क्रम बढेको छ। कोरोना भाइसरका कारण नेपाल मात्र होइन विभिन्न देशमा त्रास बढेको छ। ‘रोग लाग्नुभन्दा रोग नै लाग्न नदिनू’ भन्ने भनाइ रहेको छ। कोरोना भाइसरबाट बच्नका लागि सबैभन्दा पहिलो सर्त सचेतना नै हो। कोरोना भाइरस के हो, यो कसरी सर्छ भन्ने विषयमा जानकारी लिनु र त्यसबाट बच्नका लागि चिकित्सकले दिएको सुझाव पालना गर्नतिर ध्यान दिनु आवश्यक छ। हल्लाको पछि लागेर मनमा त्रास सिर्जना गर्नतिर भन्दा पनि सावधानीको विधि अवलम्बन गर्नुपर्छ। कोरोना भाइरसबाट बच्नका लागि मास्कको प्रयोग त अनिवार्य छँदै छ, त्यसका साथै घर र कार्यालयहरूमा पनि सरसफाइमा विशेष ध्यान दिनुपर्छ। रोगसँग लड्न आत्मविश्वास जगाउनु पहिलो आवश्यकताको विषय हो। मनमा डर र त्रास राख्दा अनावश्यक मानसिक तनाव हुने गर्छ। यसले झन् समस्या बढाउने काम गर्छ। मनोवैज्ञानिकरूपमा त्रास बढाउनेतर्फ भन्दा पनि सचेत बन्नेतर्फ ध्यान दिनुपर्छ। सरकारले सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि विशेष खालका योजना अगाडि बढाउनुपर्छ। केही कार्यक्रम त अगाडि ल्याइएको छ तर त्यो मात्र पर्याप्त छैन। सीमानाकाहरूमा हेल्थ डेक्सको स्थापना त भएको छ तर प्रभावकारीरूपमा सञ्चालन हुन सकेको छैन।
कोराना भाइरस सकेसम्म देशभित्र फैलन नदिन अहिले समय हुँदै सावधानी अपनाउनु उत्तम उपाय हो। सरकारले आफूसँग भएको स्रोत र साधनलाई अधिकतम उपयोग गरेर विश्वव्यापीरूपमा महामारीका रूपमा फैलिएको कोरोनालाई देशभित्र प्रवेश हुन नदिने गरी ठोस योजना बनाएर दृढतापूर्वक कार्यान्वय गर्नुपर्छ। विश्वभर १ लाखभन्दा बढी मानिस कोराना भाइसरबाट संक्रमित छन्। कोरोना भाइरसबाट त्रास होइन, सावधानी अपनाउन सिक्नु छ। डर होइन, सचेत बन्नतर्फ ध्यान दिनु आवश्यक देखिन्छ। हल्लाको पछि लागेर होइन, तथ्यलाई बुझेर आफू सचेत बन्नु बुद्धिमानी विकल्प हो। यसो गर्न सकिएको अवस्थामा मात्र कोरोना भाइरसको सम्भावित जोखिमबाट देशलाई बचाउन सकिन्छ। कोरोना भाइरसको विषयमा सरकारले प्रभावकारीरूपमा कदम चाल्नुको विकल्प छैन भने नागरिक स्वयं पनि सचेत हुन जरुरी छ। विश्व स्वास्थ्य संगठनले सुझाएका पाँच सुझावलाई मात्र पनि ध्यान दिएको अवस्थामा यसबाट सुरक्षित रहन सकिन्छ भने बढी चिन्ता किन ?

 

प्रतिक्रिया दिनुहोस्