सुरुङमार्गको प्राविधिक अध्ययन आधा सकियो



नेपाल समाचारपत्र, हेटौंडा
आर्थिकरूपमा देशलाई नै सकारात्मक प्रभाव पार्ने गरी बागमती प्रदेश सरकारले महत्वपूर्ण परियोजनाका रुपमा अघि बढाएको पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको प्राविधिक अध्ययन करिब ५० प्रतिशत सकिएको छ।
करिब डेढ महिनाभित्र सुरुङमार्गको डीपीआर तयार हुने जानकारी दिइएको छ। उक्त कार्यमा खटिएका भू–गर्भशास्त्री ईश्वर दाहालका अनुसार टोपोग्राफिक सर्वे, जियोलोजिकल म्यापिङ सर्वे, ड्रोन सर्वे भइरहेको छ। जियोलोजिकल सर्वे केही दिनपछि शुरु हुने उहाँले बताउनुभयो। सुरुङमार्गको प्राविधिक अध्ययनका लागि हाल ४५ प्राविधिक कार्यस्थलमा खटिएका छन्। १० जनाले डिजाइनिङ, २० जनाले सोयल इन्भेष्टिगेसन, ५ जनाले टोपोग्राफिक सर्वे, ५ जनाले जियोफिजिकल सर्वे र ५ जना ड्रोन सर्वे गर्ने काममा खटिएको दाहाल जानकारी दिनुभयो।
एहाँले सबै प्राविधिक अध्ययन सक्न करिब ५० दिन लाग्ने भन्दै अध्ययन सकिएलगत्तै प्रदेश सरकारलाई डीपीआर बुझाइने बताउनुभयो। प्राविधिक टोलीले जमिनबाट ५० मिटरभित्र भर्टिकल सर्वे सकाएको छ। उक्त सर्वेले सुरुङ सुरक्षित हुने निश्चित भएको दाहालले दाबी गर्नुभयो।
भीमफेदी–कुलेखानीसम्म ३ दशमलव २ सय १५ किलोमिटर सुरुङ निर्माण हुनेछ। करिब १५ अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरिएको उक्त निर्माणका लागि केही दिनमा सुरुङ हुने क्षेत्रमा विकिरण पठाएर भुगोलको अवस्थाबारे जानकारी लिइने बताइएको छ। यसअघि उक्त मार्ग नेपाल पूर्वाधार विकास कम्पनीले गर्ने भन्दै सरकारबाट स्वीकृति लिएको थियो। प्रदेशको गौरवको योजना भन्दै पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण परियोजना कार्यान्वयन गर्न बागमती प्रदेश सरकारले नेपाल पूर्वाधार विकास कम्पनीसँगको सम्झौता रद्द गर्न संघीय सरकारलाई निर्णयसहित आग्रह गरिसकेको छ।
उक्त स्थानको निर्माणस्थल पुगेर बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले शुक्रबार स्थलगत निरीक्षण गर्नुभएको छ। प्रदेशको गौरवको योजना सुरुङमार्ग निर्माणमा भइरहेको कामबारेमा उहाँले सुरुङमार्गको दक्षिणी प्रवेशद्वार भीमफेदीको कोलडाँडा पुगेर प्राविधिक अध्ययनकर्ता टोलीसँग जानकारी लिनुभएको थियो।
प्रदेश सरकारले २०७७ वैशाखभित्र सुरुङमार्गका लागि ग्लोबल टेण्डर आह्वान गर्ने गरी काम अगाडि बढाइएको भन्दै मन्त्री फुयाँलले सुरुङमार्ग बन्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो। प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा सुरुङमार्ग निर्माण गर्ने भएपछि कम्पनी संस्थापक अध्यक्ष कुशकुमार जोशी, निवर्तमान अध्यक्ष लालकृष्ण केसी र अध्यक्ष भवन भट्टको टोली हेटौंडा आउँदा मुख्यमन्त्री डोरमणि पौडेलले कम्पनीप्रति न सरकारको न त शेयर लगानीकर्ता कसैले विश्वास नरहेको भन्दै फर्काउनुभएको थियो। मुख्यमन्त्री पौडेलले नेपाल पूर्वाधार विकास कम्पनीले निर्माण गर्ने भनिएको सुरुङमार्ग निर्माण हुनेप्रति जनता विश्वस्त नभएको बताउनुभयो।
निरीक्षणमा संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला विकास समिति पूर्वसभापति रामेश्वर राना, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालगायतको उपस्थिति थियो। भीमफेदी गाउँपालिका अध्यक्ष लामाले सुरुङमार्ग निर्माण गर्ने भन्दै नेपाल पूर्वाधार विकास कम्पनीले उठाएको रकमको हिसाब खोजिने बताउनुभएको छ।
उक्त सुरुङमार्ग निर्माणकै लागि भनेर स्थापित नेपाल पूर्वाधार विकास कम्पनीलाई प्रदेश सरकारले खारेजीका लागि केन्द्रीय सरकारलाई पत्राचार गरेको छ। नेपाल पूर्वाधारले पावर चाइनाबीच भएको सम्झौतापत्र भौतिक योजना तथा यातायात मन्त्रालय र प्रदेश सरकारसमक्ष पेश गरिसकेको छ। जबकि, प्रदेश सरकारले निजी क्षेत्रले निर्माण गर्न नसकेको भन्दै सम्झौता खारेज गर्न केन्द्रीय सरकारलाई पत्राचार गरेको थियो। प्रदेश सरकारले सम्झौता खारेजीका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्र पठाएको हो।
नेपाल पूर्वाधार विकास कम्पनी २०६८ भदौ २० गते स्थापना भएको थियो। कम्पनीमा १ सय ५९ जना संस्थापक शेयरधनी छन्। कम्पनीले २०६९ जेठ १ गते सरकारसँग प्रारम्भिक परियोजना सम्झौता गरी अनुसन्धान कार्यारम्भ गरेको थियो। कम्पनीले २०६९ माघ २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो।
कम्पनीले २०७० जेठ १ गते नेपाल सरकारबाट सुरुङमार्ग निर्माणको अन्तिम स्वीकृति पायो। निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) ऐनअन्तर्गत् सरकारले पूर्वाधार विकास कम्पनीलाई परियोजना सुम्पेको थियो। कम्पनीले निर्माणपश्चात् ३० वर्षसम्म सञ्चालन गरेर सुरुङमार्गको स्वामित्व सरकारलाई फिर्ता गर्नुपर्ने सम्झौतामा छ।
ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, इन्द्रसरोवर, भीमफेदी गाउँपालिका हुँदै हेटौंडा उपमहानगरपालिकामा सुरुङमार्ग जोडिने छ। ५० मिटरको राइट अफ वे हुने सडक ४ लेनको हुनेछ। २६ वटा पुल, ४ किलोमिटरको सुरुङ रहने सडकले १०८ हेक्टर वन र ९० हेक्टर निजी जमिन तथा बागमती किनारका ७ वटा दाहसंस्कारस्थल प्रभावित हुने र तीन स्थानमा सुरुङ निर्माण गरिनेछ। निर्माणकर्ता नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले शुभसाइत ठहरिएको दिन भन्दै सुरुङमार्ग निर्माणका लागि २०७० मंसिर १५ गते भूबराह पूजा गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्