उद्योगीलाई प्रोत्साहन गर्न बिजनेस इन्क्युवेसन कार्यक्रम



बुटवल, (नेस)
उद्योगीलाई प्रोत्साहन गर्नका लागि रुपन्देहीमा बिजनेस इन्क्युवेसन कार्यक्रम शुरु भएको छ। बुटवल उद्योग बाणिज्य संघ, लुम्बिनी बाणिज्य क्याम्पस बुटवल, नेपाल युवा उद्यमी मञ्च (एनवाईएफ) र अन्तरप्रेरणा प्रालिको सहकार्यमा विजनेस इन्क्युवेसन कार्यक्रम शुरु भएको हो।

उक्त कार्यक्रम सञ्चालनका लागि बिहीबार आयोजित पत्रकार सम्मेलनमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, लुम्बिनी बाणिज्य क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख डा. तारा उपाध्याय, नेपाल युवा उद्यमी मञ्च (एनवाईएफ) रुपन्देही च्याप्टरका अध्यक्ष सन्दिप कसौधन र अन्तरप्रेरणा प्रालिका प्रमुख कार्यकारी अधिकृत निरज खनालले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार बुटवल उद्योग बाणिज्य संघले कार्यक्रमको अभिभावकत्व ग्रहण गर्नेछ। त्यस्तै युवा उद्यमी मञ्चले मोनिटरिङ, लुम्बिनी बाणिज्य क्याम्पसले नलेज पार्टनरको रुपमा काम गर्नेछन्।

विजनेस इन्क्युवेसन केन्द्रले उद्यमीहरूको सशक्तिकरणका लागि उद्यमीलाई मेन्टर, लगानीकर्ता, विविध विधाका बिज्ञहरू, सरोकारवाला व्यक्तिहरूसंग जोड्नेलगायतका विभिन्न उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछ। केन्द्रले पहिलो चरणमा नेपाल कम्युनिटियरको ६ महिने क्युब कार्यक्रम सञ्चालन गर्नेछ। कार्यक्रममा सहभागी हुनका लागि आवेदन माग गरिएको र चैत ७ गतेसम्म आवेदन दिनुपर्नेछ। जसमा १० जना उद्यमीलाई छनोट गरिने भएको छ।

 

प्रतिक्रिया दिनुहोस्