प्रदेश सरकारबाट १५ श्रमिक महिला सम्मानित



सरोज यादव ,विराटनगर।

प्रदेश एक सरकारले १५ जना महिला श्रमिकहरुलाई सम्मान गरेको छ । प्रदेश एकको सामाजिक विकास मन्त्रालयले ११० औं अन्तरष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर उनीहरुलाई सम्मान गरेको हो । विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा आज आयोजित कार्यक्रमकाबीच महिला श्रमिकहरुलाई नगद ५ हजार, दोसल्ला र फूलमालासहित सम्मान गरिएको हो ।

 प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, उपसभामुख सरस्वती पोखरेल, सामाजिक विकासमन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेर लगायतले महिला श्रमिकहरुलाई सम्मान गर्नुभयो । कार्यक्रमकाबीच प्रदेश एकका विभिन्न जिल्लामा लामो समयदेखि सरसफाई, उद्योग, निर्माण, स्वास्थ्य, चिया र घरेलु कामदारका क्षेत्रमा कार्यरत महिला श्रमिकहरुलाई सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा यमकला मग्राती, खेदनी देबी महतो, हर्कमायाँ सार्की, निर्मला थापा, कागती ऋषिदेव सदा, कमला शर्मा बढी, सितादेबी डोम, अंजना श्रेष्ठ, सिर्जना उराउ, वविता विष्ट, दुलारीदेबी सरवरिया, दुरपतदेबी ऋषिदेब, सुमी हेमरन सतार, निर्मला डंगोल र अम्बीका अधिकारी छन् । यसरी सम्मानीत हुनेमा झापा, मोरङ, सुनसरी र ईलामका रहेको सामाजिनक विकास मन्त्रालयले जनाएको छ। सम्मानित भएका सबैलाई जनही ५ हजारका दरले नगद समेत प्रदान गरिएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई, मन्त्री जीवन घिमिरे, उपसभामुख सरस्वती पोखरेल तथा राज्यमन्त्री जसमायाँ गजमेरले श्रमिक महिलाहरुलाई सम्मान गरि रहँदा ती महिलाका आँसु टिल्पीलाएका थिए । जीवनका धेरै दशक दुःख र पीडामा बिताएका यी महिलाहरुलाई सम्मान गरिरहँदा उनीहरुका आँखा खुसीका आँसु टिल्पिलाएको देखिन्थ्यो ।

मञ्चमा आयोजकले आफ्नो आनुभव बताउन बोलाएर त्यहाँ पुग्नु भएकी देबकला मग्रातीले जीवनमा कहिल्यै पाउन नसकेको सम्मान पाएको बताउनुभयो । नजिकै सम्मान लिएर बस्नु भएकी दुरपतदेबी ऋषिदेवका आँखा पनि रसाएका थिए ।

उहाँले आफुले यसरी मुख्यमन्त्री र मन्त्रीबाट सम्मान पाउँला भन्ने अहिलेसम्म नसोचेको सुनाउनुभयो । महिला श्रमिकको कुरामा मुख्यमन्त्री र मन्त्रीले पनि नयाँ कामको शुरुवात गरेको बताउन भ्याउनुभयो । प्रदेश सरकारका मुख्यमन्त्र ी शेरधन राईले महिला श्रमिकहरुलाई सम्मान गर्ने अभियानको शुरुवात भएको बताउनुभयो । अहिले उपप्रमुखमा सिमित रहेको स्थानीय तहमा अब महिला प्रमुख हुने बाटो खुलेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री राईले नेपाल महिलामैत्री मुलुकको रुपमा विश्वमा चिनिएको बताउनुभयो । उहाँले मुलुकको विभिन्न कार्यकारी निकायसहित स्थानीय तहहरुमा महिलाहरुको अभूतपूर्व सहभागिता रहेको बताउनुहुँदै नेपाल महिलामैत्री मुलुक रहेको कुरा शिर ठाडो पारेर भन्न सकिने अवस्था रहेको उल्लेख गर्नुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले नेपाली महिलाहरु अग्रस्थानमा रहेको बताउनुभयो ।

उहाँले संबिधानले महिलाहरुलाई समानताको अधिकार दिएको बताउनुहुँदै ब्यवहारिक रुपमा देखिएका चुनौतीहरु विस्तारै समाधान हुँदै जाने विचार व्यक्त गर्नुभयो । सो अवसरमा बोल्ने ट्रेड युनियन महासंघकी प्रदेश महिला अध्यक्ष सिता सापकोटा, नेपाल ट्रेड युनियन कांग्रेसकी सुनिता घिमिरे, जीफन्टकी प्रदेश अध्यक्ष निलम ढुंगेललगायतले अझै पनि महिला र पुरुष श्रमिकको समान ज्याला हुन नसकेको बताउनुभयो ।

उहाँहरुले संविधानले समानताको अधिकार दिए पनि व्यवहारिकरुपमा कार्यान्वयन हुन नसकेको गुनासोसमेत व्यक्त गर्नुभएको थियो । उहाँहरुले श्रमिक महिलाको लागि राज्यले सार्बजनिक बिदा दिएको भएपनि उद्योगहरुले महिलालाई बिदा नै नदिएको र श्रममा लगाई रहेको आरोप लगाउनुभयो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयले पछिल्लो समय देखिएको कोरोना भाइरससम्बन्धी सचेतना कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा सहभागी मुख्यमन्त्री, उपसभामुख र मन्त्रीहरुले सम्मानित ब्यक्तिहरुलाई सम्मान गर्नुअघि साबुन पानीले हात धुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्