पाल्पाको तानसेनमा डायलाईसिस सेन्टर संचालन हुँदै



यमलाल भुसाल,बुटवल

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था, बुटवलले पाल्पाको तानसेनमा स्थापना गरेको पाल्पा सामुदायिक डायलाईसिस सेन्टरले आफ्नो सेवा शुभारम्भ गर्ने तयारीमा रहेको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आर्थिक सहयोगमा स्थापना गरिएको डायलाईसिस सेन्टरले आउलदो चैत ७ गते देखि सेवा शुभारम्भ गर्ने जनाएको छ ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले सेन्टरमा भवन निर्माण, डायलाईसिस मेशिन जडान लगायतका सम्पूर्ण कामहरु पुरा भएकोले ७ गतेदेखि सेवा शुभारम्भ गर्ने गरि काम गरिरहेको बताउनु भयोे ।

हाल १० वटा मेशिनबाट विरामीहरुको मृगौला डायलाईसिस गरिने र आवश्यकताको आधारमा थप मेशिन समेत जडान गरिने रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले बताउनुभयो । पाल्पा सामुदायिक डायलाईसिस सेन्टरका संयोजक बाबुराम बोहराले तान्सेनमा डायलाईसिस सेवा शुभारम्भ भएपछि विरामीहरुको आर्थिक संगै समयको बचत हुने छ भने डायलाईसिसको लागि पालो पर्खिनुपर्ने अवस्थाको समेत अन्त्य हुने बताउनुभयो ।

१० वटा मेशिन सहित तान्सेनको बन्दीपोखरामा स्थापना गरिएको सेन्टरबाट पाल्पा, गुल्मी र स्याङजा क्षेत्रका मृगौलाका विरामीहरु लाभान्वित हुने छन् । करिब ५ करोडको लागतमा स्थापित उक्त सेन्टरबाट दैनिक ३० जना विरामीको नियमित डायलाईसिस गर्न सकिने स्वास्थ्य संस्थाले जनाएको छ ।

हाल पाल्पा गुल्मी लगायतका जिल्लाबाट ६४ जना विरामी नियमित डायलाईसिसको लागि बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेका छन् । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले विगत ५ वर्ष देखि बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा २० वटा मेसिनबाट २४ घन्टा सेवा प्रदान गर्दै आउनुको साथै विगत १ महिना देखि दाङ्गको लमहीमा १० वटा मेसिन जडान गरी सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्