के नारी दिवस पुरुषको दोहोलो काड्न मात्र हो ?



सन् १९११ देखि विश्वभरका महिलाहरुले मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन शुरु गरेकोमा नेपालमा पहिलोपटक २०१७ सालमा धनकुटाका केही शिक्षिकाहरुले मार्च ८लाई ‘आइमाई दिवस’का रुपमा मनाएको पाइन्छ ।२०३३ सालबाट दरबारिया र घरानियाँ महिलाको नेतृत्वमा यश दिवसलाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाउन थालिएको देखिन्छ ।
शहरहरुमा केही फेमिनिस्टहरुले यो दिवसको कारण मञ्च प्राप्त गरेपनि ग्रामिण नारीहरुलाई नारी दिवस के हो भन्ने समेत थाहा छैन ।श्रमिक महिलाको के कुरा गर्नु,दिवसको दिन पनि हातमुख जोर्नको निम्ति आवश्यक कुरा जोहो गर्न मजदुरीमा जान बाध्य छन्।

हाम्रो देशमा अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसमा भाषणको अवसर पाएका फेमिनिस्टहरुले नारी मुक्तिको गुह्य कुरा भन्दा पुरुषलाई गाली गरेर समय बर्बाद गर्छन् तालि पाउँछन् र मख्ख पर्दै घर फर्कन्छन् ।यसरी मञ्च प्राप्त गर्ने हैसियतका धेरैले आफ्नो घरमा राखेका महिला श्रमिकको आँसुमा डुबुल्की मार्ने गर्छन् ।

यो लेखमा उठाउन खोजेको कुरा के हो भने नारी दिवसमा भाषण गर्ने महिला नेतृहरु ९फेमिनिस्टहरु०अधिकांशले पुरुषलाई अत्याचारी,शोषक र बलात्कारीको उपमा दिन्छन् ।पुरुषले हामीलाई होच्याए,दबाए ,बस्तुको रुपमा प्रयोग गरे,अन्याय थोपरे भन्ने कुरा हामी सबैको निम्ति थोपरिदिन्छन्।

किन फेमिनिष्टहरु बुझ्दैनन् कि सबै पुरुषहरु अत्याचारी होइनन् ,बलात्कारी होइनन् र अन्याय गर्दैनन् ।नारी हक र समानताका कुरा ,अधिकारको कुरा सामाजिक न्यायका वृहत् पक्षसँग जोडिएको छ।महिला मुक्तिलाई श्रमजीवी बर्गको आन्दोलन सँग जोडेर आमूल परिवर्तनको अभियानको नेतृत्व गर्न सके मात्र समानता सम्भव छ,महिला मुक्ति सम्भव छ।

यो कुरा धेरै फेमिनिष्टहरु बुझ्छन् तर गर्न चाहन्नन् किनकि उनीहरू अधिकांश सम्भ्रान्त बर्गका हुन्छन् जसले श्रमिक नारी दिवसको मञ्च पाउँछन् ।जसले मञ्च पाउनु पर्ने हो ,उ गासबासको जोहो मै रुमल्लिन्छ, दिवसको कुरा अलि परको कुरा हुन्छ ।यो प्रश्न गम्भीर छ कि दिनहुँ नारी मात्रै होइन छाला र जातका आधारमा निमुखाहरु हेपिएको हेपिइ छन् ।नारी हेपिनुमा सबै पुरुष होइन पितृसत्तात्मक सोँच दोषी छ।

पितृसत्ताले नारीलाई मात्र होइन पुरुषलाई पनि उत्तिकै पिरोलेको छ जसले पुरुषलाई नारी बिपरित शक्तिशाली बन्न उक्साउँछ।कमाइ गरेर परिवार पाल्न नसक्ने पुरुषलाई समाजमा पुरुष भन्दा बढी महिलाले नै “आइमाई जस्तो नामर्द भन्छन् र हेप्छन् ।कमाइ गरेर परिवार पाल्न नसकेको कारण विदेशीएका हाम्रा युवाले उतै आत्महत्या गरेको कैयौं घटना सुनिन्छन् यी घटनाहरु महिला वा पुरुषका कारण नभएर पितृसत्तात्मक सोँचका कारण ” नामर्दू कहलिने डरले भएका हुन्।त्यसैले केही फेमिनिष्टले जस्तो पुरुषलाई गाली गर्नु मात्रै समाधान होइन ।

हो असमानता र सामाजिक असुरक्षाको लडाइँ महिला एक्लैले लड्न सक्दैनन् ,न्याय प्राप्तिका यी लडाइँमा सबैको साथ चाहिन्छ तर नारी दिवस मनाइरहँदा फेमिनिष्टहरुले सबै पुरुषलाई एकसाथ गर्ने गाली र उपमा उपयुक्त छैनन् ।फेमिनिष्टहरुले बुझ्नुपर्छ कि यो पुरुष बिरुद्ध नारीको संघर्ष होइन ,पुरुषलाई गाली गरेर मात्रै नारीका समस्या समाधान हुँदैनन् ।यो अन्याय बिरुद्धको लडाइ हो ।

हाम्रो देशमा समयको परिवर्तन सँगै मान्छेका सोँच ,बिचार ,चिन्तन र जीवनशैलीमा हुँदै गइरहेको परिवर्तनको सत्यलाई नकार्न नसकिए पनि आम नेपाली नारी विभिन्न युग र शताब्दीको कालखण्ड पार गर्दा पनि पितृसत्तात्मक सोंच र चिन्तनको घेराबन्दीबाट उम्कन सकेका छैनन् ।समाज बदलिएको छ,ब्यबस्था बदलिएको छ तर पनि नारीहरुलाई हेर्ने दृष्टिकोण बदलिएको छैन ।

पहिलेको तुलनामा केही समानता छ तर न्यायोचित रुपमा कार्यनीति बन्न सकेको छैन ।सबैतिर पितृसत्तात्मक सोंच प्रबल छ,समाजमा सत्ता जमाएको छ,आफू अनुकूल निर्णय गर्छ ।त्यसैले नारी दिवसको अवसर पारेर एकोहोरो सबै पुरुषलाई गाली गर्नाले नारी मुक्ति हुन सक्दैन भन्ने बुझ्नु आवश्यक छ।किनकि यसको शिकार नारी र पुरुष दुवै बनिरहेका छन्।

घर बाहिर आदर्शको कुरा गर्नेअधिकांश पुरुष र फेमिनिष्टहरु नै नेपाली समाजमा जरा गाडेका पुराना सोंचका पर्दाहरु च्यात्नको निम्ति नारी पुरुष दुवैलाई सँगै लड्न उत्प्रेरित गर्दैनन् ।यो कुरा महिलाको कमाइले पालिनु परेका शिक्षित परिवारमा देखिने उत्ताउला विभेदबाट पनि बुझ्न सकिन्छ ।अनि पुरुषको त के कुरा महिलाले नै महिलालाई विभेद गर्छन् ।यो चेतना र शिक्षाको कमीका कारण हो भन्ने पनि हामीले बुझ्नु पर्छ।हामीले एक अर्कोलाई लान्छना लगाएर होइन गलत गर्नेहरुलाई गलहत्याउन सक्षम बनेर मात्रै समानताको लडाइ जित्न सक्छौं ।

राजनीतिक सहभागीता,पैतृक सम्पत्तिमा समानहक,घरेलुु श्रमको गणनाको संबैधानिक प्रावधानको निम्ति र महिला विरुद्धका विभेदपूर्ण व्यबहार हटाउन दुवैको चेतनशील संघर्ष आवश्यक छ,संगठन आवश्यक छ,चेतना आवश्यक छ,शिक्षा आवश्यक छ न कि मञ्चहरुमा सबै पुरुषलाई गाली गरेर दोहोलो काडेर मात्रै महिला मुक्ति हुन्छ।

यसको निम्ति हरेक पुरुषले पितृसत्तात्मक सोंचबाट मुक्त हुनुपर्छ ।नारीहरुले आफ्नो मनोबल उच्च बनाउनु पर्छ ।महिला पुरुष न्यायको लडाइँमा सँगसँगै उभिनु पर्छ।फेमिनिष्टहरु महिला मुक्तिलाई श्रमजीवी बर्गको आन्दोलन सँगै जोडेर आमूल परिवर्तनको लडाइँको नेतृत्व गर्नुपर्छ अनिमात्र महिला मुक्ति संभव छ।अन्तमा ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना ।

-नारायण खनाल ,मालारानि -३ अर्घाखाँची

प्रतिक्रिया दिनुहोस्