किवानिज इन्टरनेशनलको एशिया प्यासिफिक सम्मेलन सम्पन्न



काठमाडौँ । 

बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तरराष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एशिया प्यासिफिक क्षेत्रको ४५ औँ सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलन आयोजक समितिका अध्यक्ष मोहन लम्सालले नेपाली र विदेशी गरेर चार सयमध्ये करिब तीन सय विदेशीको सहभागिता रहेको सम्मेलन सफलतापूर्ण सम्पन्न भएको बताउनुभयो ।

उहाँले बालबालिकामार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न अग्रसर रहेको संस्थाको स्थापना नेपालमा सन् २०१५ मा भएको जानकारी गराउनुभयो । “हामीले विभिन्न जिल्लामा बालबालिकालाई स्टेसनरी, खाजा, खेलकुद सामग्रीलगायतका समान प्रदान गर्दै आएका छौं, बालबालिकाको नेतृत्व विकास, मनोवैज्ञानिक परामर्शलगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छौं”, अध्यक्ष लम्सालले भन्नुभयो ।

किवानिज एशिया प्यासिफिक ९एस्प्याक०का सचिव माइकल चुले नेपालले नेपालमा किवानिज एसिया प्यासिफिक सम्मेलन हुनु आफैमा गर्वको कुरा रहेको भन्दैँ एशिया प्यासिफिक जोनका नागरिक नेपाल र नेपाली प्रतिको बुझाईमा अझ सकारात्मक भएका उल्लेख गर्नुभयो ।

सम्मेलनमा १५ सय बढी प्रतिनिधि भित्र्याउने लक्ष्य रहेकामा विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण उपस्थिति कम भएको किवानिज इन्टरनेशनल नेपालका संस्थापक अध्यक्ष सुजनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले किवानिज इन्टरनेशनल नेपालमा हालसम्म देशभर एक हजार ९२ सदस्य सहित ५१ किवानिज क्लव गठन भएको जानकारी दिनुभयो ।

किवानिज इन्टरनेशनल नेपालका संस्थापक राष्ट्रिय सचिव लक्ष्मण लम्सालले १०५ बर्ष पुरानो संस्था किवानिजको सदस्य राष्ट्र नेपालसमेत हुनुु आफैमा गर्वको कुरा भएको बताउनुुभयो । उहाँले नेपालमा आयोजना भएको ४५ औँ एशिया प्यासिफिक सम्मेलनले पर्यटन गन्तव्यका लागि अझै पनि नेपाल एक उत्तम गन्तव्य हो भन्ने सन्देश दिएको उल्लेख गर्नुभयो ।

उहाँले किवानिज इन्टरनेशनल नेपाल र किवानिज इन्टरनेशनल अष्ट्रेलियाको समन्यवमा शारिरिक अपाङ्गता भएका १८ बर्ष भन्दा कम उमेरका नेपाली बालबालिका जसको नेपालमा उपचार सम्भव छैन त्यस्ताको निशुल्क शल्यक्रिया अष्ट्रेलियामा गर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । यस पटक नेपालमा आयोजना भएको किवानिज इन्टरनेशनल एशिया प्यासिफिक सम्मेलन हेरक बर्ष आयोजना हुने गर्छ । सम्मेलनमा निर्वाचन मार्फत् अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारी चयन हुने गर्छन् ।

यसपटक एशिया प्यासिफिकको अध्यक्षमा फिलिपिन्सका केन एलोभेरा, निर्वाचित अध्यक्षमा अष्ट्रेलियाका क्लिटन ग्रीन र उपाध्यक्षमा फिलिपिन्सका म्यारि बेल ग्रासिया चयन हुनुभएको छ । यस्तै एशिया प्यासिफिक क्षेत्रबाट ट्स्टीमा तीन बर्ष कार्यकाललाई जापानका बुहेता फुजिवारा र दुई बर्षका लागि फिलिपिन्सका विलफ्रेडो जी आगुइलार निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्