बजार अनुगमन गर



सरकारले बजारमा तत्काल कुनै वस्तुको अभाव हुँदैन भनिरहँदा खाना पकाउने एलपी ग्यासका लागि सर्वसाधारण सडकमा भांैतारिरहेको अवस्था छ । अन्य खाद्यवस्तु पहिलेकोजस्तो सर्वसुलभरूपमा पाइन छाडेको छ ।
धेरैजसो व्यापारीले खाद्य तथा दैनिकरूपमा चाहिने अन्य सामान लुकाई कृत्रिम अभाव सिर्जना गरेका छन् । यसै कारणले बजारमा रहेका सामानको भाउ पनि उल्लेख्यरूपमा वृद्धि भएको छ ।
यसलाई नियन्त्रण गर्न सकारको कुनै दृष्टिकोण तयार भइसकेको छैन, कुनै योजना बनाइएको छैन । सरोकारवाला निकायका जिम्मेवार पदाधिकारीको बोली मात्र सुन्न पाइन्छ ‘कुनै वस्तुको अभाव हुँदैन’ भनेर । सर्वसाधारण एक सिलिन्डर ग्यास नपाएर कति तड्पिरहेका छन् भनेर उनीहरूलाई हेर्ने फुर्सद छैन ।
नेपाली जनता कोरोना भाइरस (कोभिड–१९) बाट भन्दा पनि अहिले दैनिक उपभोग्य सामान नपाएकोमा चिन्तित हुन थालेका छन् । सरकारले भीडभाडमा नजान सूचना जारी गरेको भए पनि ग्यासलगायतका उपभोग्य सामान खोजी गर्नका लागि उनीहरू व्यस्त सडक तथा बजारमा जान बाध्य भएका छन् । दिनभरि डुल्दासमेत ग्यासलगायतका सामान पाउन उनीहरूलाई कठिन भइरहेको छ ।
यस्तो अवस्थामा गृहमन्त्री रामबहादुर थापा तथा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा उपभोग्य वस्तुको अभाव हुँदैन भनिरहँदा जनतामाझ उनीहरू हाँसोको पात्र जस्तो भएका छन् । पसले र सेवाग्राहीबीच ग्यास पसलमा दैनिकजसो झगडा परिरहेको देख्न सकिन्छ । यस्तो अवस्थामा ‘बजारमा वस्तुको अभाव हुँदैन’ भन्नु अर्थहीन हुन गएको छ ।
निश्चितरूपमा ठूलाबडालाई चाकरी तथा चाप्लुसी गर्दै दैनिक उपभोग्य सामान घरमा नै पु¥याइने गरिन्छ । यस्ता सामान सहजरूपमा घरमा नै ल्याइदिँदा दैनिक उपभोग्य सामानको अभाव नभएको उनीहरूले ठान्नु ठीकै पनि हो । आफ्नो आवश्यकता पूरा भएको महसुस हुँदा अर्काले पनि सोहीअनुसार भएको ठान्ने प्रवृत्तिले गर्दा नेपाली जनताले दुःख पाउने गरेका हुन् भन्दा फरक पर्दैन । तर, विगतमा भारतले नाकाबन्दी गर्दा र भूकम्प जाँदा जुन कठिनाइ भोग्नुपरेको थियो, सोही अवस्था आउने बेला भइसकेको आम जनताले महसुस गरेका छन् ।
केही दिन सरकारले वास्ता नगर्ने हो भने यस्तै अवस्थाको सिर्जना हुने निश्चित छ । त्यसैले सरकारले अब कडा कदम चाल्नु नै पर्ने भएको छ । मुलुकमा कुनै एउटा समस्या देखापर्दा लुट्न पल्केकाहरूलाई खोजी–खोजी कारबाही गर्ने बेला यही हो । गृहमन्त्री, आपूर्तिमन्त्रीलगायतका जिम्मेवार पदाधिकारीले निर्देशन मात्र दिएर पुग्दैन, निर्देशनबमोजिमको कार्य भयो वा भएन भनेर हेर्ने, सुन्ने तथा अनुगमन पनि गर्दा सर्वसाधारणले केही राहत महसुस गर्न पाउने थिए कि ⁄ सरकारले अनावश्यकरूपमा धेरै सामान खरिद नगर्नका लागि पनि आह्वान गरेको छ । तर, सरकारले यसमा भन्दा पनि सामान लुकाउने तथा महँगोमा बेच्नेलाई बढी मात्रामा निगरानी बढाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्