मिलापत्रमै सीमित महिला हिंसाका उजुरी



शिक्षा पन्त, लमजुङ ।

जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता भएका घरेलु हिंसाबाट पीडित महिलाका उजुरी मिलापत्रमै सीमित भएका छन् । चालू आर्थिक वर्षको माघसम्म जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा ४९ वटा महिला हिंसाका उजुरी दर्ता भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख नन्दुकुमारी अधिकारीले बताउनुभयो ।

अधिकांश उजुरी छलफल गरी मिलापत्रबाटै समाधान हुने गरेको उहाँले बताउनुभयो । केन्द्रका अनुसार उजुरीमध्ये २५ वटा मिलापत्र गरिएको छ । तीनवटा मुद्दा अदालतमा दर्ता गरिएको र अन्य २१ वटा उजुरी छलफलको क्रममा रहेका छन् । प्रहरीबाहेक जिल्लाका आठवटै स्थानीय तहको न्यायिक समितिमा परेका उजुरी पनि मिलापत्रमै सीमित हुँदै आएका छन् ।

कुटपिट गरी घर निकाला, शारीरिक र मानसिक यातना, आर्थिक अभावमा पारेर यातना लगायतका उजुरी आउने गरेको अधिकारीको भनाई छ । पछिल्लो समय स्थानीय तहको न्यायिक समितिमा पनि अधिकांश मुद्दा घरेलु हिंसाका आउने गरेको राइनास नगरपालिका उपमेयर एवं न्यायिक समिति संयोजक धनकुमारी गुरुङले बताउनुभयो ।

कुटपिट गरेको, खानलाउन नदिएको लगायतका उजुरी आउने गरेको बताउँदै उहाँले दुवै पक्षलाई कार्यालयमा बोलाएर मिलाउने गरिएको बताउनुभयो । आर्थिक वर्ष २०७५ र ७६ मा १२ वटा महिला हिंसाका उजुरी परेका थिए यीमध्ये ९ वटा मिलापत्रमा टुंग्याइएको छ  । ३ वटा उजुरीकर्ता भने सम्पर्कमा नआएको केन्द्रले जनाएको छ । २०७४ र ७५ मा ७९ वटा महिला हिंसाका उजुरी प्रहरीमा दर्ता भएको थियो ।

यी उजुरीमध्ये ४५ वटा मिलापत्रमा टुंग्याएको छ । १२ वटा अदालती प्रक्रियामा लगिएको थियो । २२ वटा उजुरीकर्ता सम्पर्कमा नआएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार शारीरिक, मानसिक, आर्थिक यातना दिएकालाई मिलापत्र गराएपछि समस्या समाधान भएको छ । कुरा मिल्दै नमिले मात्र अदालत पठाउने गरिएको छ  ।

प्रतिक्रिया दिनुहोस्