जलविद्युत्को सीमापार व्यापारलाई उच्च प्राथमिकतामा



नेपाल समाचारपत्र, काठमाडौं
नयाँ सरकार बनेपछि नेपाल–भारतबीच द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम ऊर्जा क्षेत्रमा भएको नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले बताउनु भएको छ। ऊर्जा, जलस्रोत तथा सिंँचाइमन्त्री वर्षमान पुनसँग भेटपछि उहाँले सो कुरा बताउनु भएको हो।
वर्तमान सरकार गठन भएपछि ऊर्जा क्षेत्रमा राम्रो काम भएको भन्दै त्यसको वातावरण निर्माणमा सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा राजदूत क्वात्राले मन्त्री पुनको प्रशंसा गर्नुभयो। विशेष गरी लामो समय अलपत्र अवस्थामा रहेको अरूण तेस्रो जलविद्यु्त् आयोजना निर्माणको कामले गति लिएकामा राजदूत क्वात्राले खुसी व्यक्त गर्नुभयो। अरूण तेस्रोको ३० प्रतिशत काम सम्पन्न भइसकेको चर्चा गर्दै उहाँले निर्धारित समयमै आयोजनाको काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो।
राजदूत क्वात्राले पहुँचमार्गको स्तरोन्नती, विस्फोटक पदार्थ आयात र सुरक्षामा ख्याल गरिदिन आग्रह गर्नुभयो। यस्तै बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणका लागि भएको सहकार्यको सहमतिले उक्त काम सफलतापूर्वक सम्पन्न हुने आशा जागेको राजदूत क्वात्राको भनाइ थियो। उक्त प्रसारण लाइन निर्माणका लागि नेपाल–भारत संयुक्त कम्पनी नै निर्माण भइसकेको छ। मन्त्री पुन मन्त्रालयको नेतृत्वमा आएपछि नेपाल–भारतबीच इनर्जी बैंकिङको सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ।
यस्तै भारतले छिमेकी मुलुकसँग विद्युत आयात निर्यातका लागि ल्याएको निर्देशिका परिमार्जन भयो। जसले दुई देशबीच इनर्जी बैंकिङका साथै अन्तरदेशीय विद्युत् व्यापारका लागि बाटो खुलेको थियो। सोही आधारमा नेपालले बंगलादेशसँग विद्युत् व्यापारको सम्झौता गरेको छ। यस्तै सोही अवधिमा नेपाल–भारतबीच विद्युत् आदान प्रदानका लागि निर्माण हुने बुटवल–गोरखपुर दोस्रो अन्तरदेशी प्रसारण लाइनको लगानी तथा कार्यान्वयनको प्रारुपमा सहमति भएको छ।
भेटमा मन्त्री पुनले नेपालले जलविद्युत्को सीमापार व्यापारलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै त्यसको सहजीकरणका लागि भारतीय पक्षबाट गरिएका प्रतिबद्धताको प्रशंसा गर्नुभयो। मन्त्री पुनले भारतीय लगानीमा निर्माण भइरहेका अरूण तेस्रो जलविद्युत् आयोजना र बुटवल–गोरखपुर ४ सय केभी प्रसारण लाइन नेपालको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो। भारतीय सरकारले पश्चिम राप्ती, बाणगंगा र खाँडो नदी नियन्त्रणमा सहयोग गरेकामा धन्यवाद दिनुभयो।

प्रतिक्रिया दिनुहोस्