“जनतासँग नजिकिएर काम गर्ने अवसर मिल्यो”



स्थानीय तह सञ्चालन ऐन–२०७४ ले उपप्रमुखलाई स्थानीय तहमा न्यायिक समितिको मुख्य जिम्मेवारी दिएको छ। योसँगै उपप्रमुखलाई अनुगमन समितिको जिम्मेवारीसमेत रहेको छ। सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय सरकारको जिम्मेवारी लिएपछि स्थानीय तहमा अहिले कामको चाप बढेको छ। म्याग्दीको बेनी नगरपालिका अन्य स्थानीय तहको तुलनामा स्रोत साधन र जनशक्तिका हिसाबले अब्बल मानिन्छ। बेनी नगरपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, संस्कृति र पर्यटनलगायतका क्षेत्रमा पनि धनी छ। स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि हालसम्म बेनी नगरपालिकाले सञ्चालन गरेका योजनाहरू, महिलासम्बन्धी गतिविधि तथा कार्यक्रम, गौरवका योजनाहरू के–के छन् ? यिनै विषयमा आधारित रहेर बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालसँग नेपाल समाचारपत्रका लागि म्याग्दी संवाददाता
प्रताप बानियाँले गरेको कुराकानीको सम्पादित अंश ः
तपाईंले बेनी नगरपालिकाको उपप्रमुख भएपछि के–कस्ता कार्य सम्पादन गर्नुभयो ?
नगरबासीको इच्छा, चाहना तथा आवश्यकताअनुसारका योजनाहरू बनाउने कामलाई नै मुख्यरूपमा जोड दियौं। संविधानमा उल्लेखित मौलिक हकको कदर गर्दै नीति तथा कार्यक्रमहरू बनाएर लागू गरेका छौं। स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले उपप्रमुखलाई दिएको जिम्मेवारीअन्तर्गत ५ वटा विषयगत समितिको संयोजक र ९ वटा विभिन्न समितिमा सदस्यको भूमिकामा रही काम गर्ने अधिकार प्रत्यायोजन गरेको हुँदा सोहीअनुसार कार्यसम्पादन गर्ने गरिएको छ।
बेनी नगरपालिकाले विकास निर्माणका कामलाई कसरी अगाडि बढाएको छ ?
बेनी नगरपालिकाभित्र रहेका १० वटा वडाका सबै बस्तीमा सडकको पहुँच पु¥याइएको छ भने बाह्रैमहिना सवारीसाधन गुड्ने गरी सडकको स्तरोन्नति गरिएको छ। ‘एक घर, एक धारा’ को अभियान सञ्चालन गरी खानेपानीको अति समस्या भएको अर्थु·े, पुलाचौरको अवेचौर, घतान र पात्लेखेतमा खानेपानी योजना सञ्चालन गरिएको छ। ‘एक घर एक धारा’ सहित खानेपानी योजना सञ्चालन गरिएका गाउँमा मिटर सिस्टमबाट जनतालाई खानेपानीको व्यवस्था मिलाएका छौं। नगरपालिकाको सबै वडा छुने गरी रिङरोडको अवधारणा अघि सारिएको छ भने म्याग्दी खोलामाथि ४ नम्बर वडाको सि·ास्थित पक्की मोटरेबल पुल निर्माण गर्नका लागि सर्भेको काम अघि बढेको छ। म्याग्दी खोलामाथि पक्की पुल बनेर सञ्चालनमा आएपछि समग्र बेनी नगरपालिका रिङरोडमा परिणत हुनेछ।
बेनी नगरपालिका क्षेत्रभित्र गौरवका योजना के–के हुन् ?
बेनी नगरपालिकाको गौरवको योजनातर्फ बेनी–अर्थु·े हुँदै पात्लेखेत जाने सडकको स्तरोन्नति र कालोपत्रे, ‘एक वडा, एक उत्पादन’ कार्यक्रम, पर्यटकीय क्षेत्र लभ्लीहिलको विकास तथा पर्यटन प्रवद्र्धन, प्रसिद्ध जगन्नाथ मन्दिरनिर केभहिलमा भ्युटावर, गलेश्वर, भकिम्लीको स्वर्गाश्रमको प्रचारप्रसार, पौलस्त्य पुलहाश्रम (रावण–पार्क निर्माण), ऐतिहासिक कोट मन्दिरहरूको संरक्षण, नगर क्षेत्रभित्र रहेका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक क्षेत्रहरूको प्रचारप्रसार, खुलामञ्च स्तरोन्नति, रत्नेचौर खेलमैदानको स्तरोन्नतिलगायत रहेका छन्।
नेपाल भ्रमण वर्ष–२०२० मा बेनीमा पर्यटक भित्याउने योजना कस्तो छ ?
भ्रमण वर्षलाई सफल बनाउनका लागि म्याग्दीको सदरमुकाम बेनीबजार प्रवेश हुने स्थान कालीगण्डकी नदीमाथि पक्की पुलनिर स्वागत ब्यानर राख्ने तयारी गरेका छौं। खास गरी भ्रमण गर्नका लागि भनेर प्रकृतिप्रेमी पर्यटक र धार्मिक पर्यटक दुई थरी आउने भएकाले सोहीअनुसार लक्षित गरेर विभिन्न कार्यक्रम बनाएका छौं। कालीपुल बसपार्कमा रहेको पर्यटक सूचना केन्द्रलाई व्यवस्थित बनाएर डिजिटल सूचना पार्टीको स्थापना गर्ने सोच रहेको छ। बेनीमा पर्यटक भित्याउनका लागि म्याग्दीखोलामा रहेको पक्की मोटरेबल पुलदेखि पर्यटकीयस्थल लभ्लीहिल पुग्नका लागि त्रिपक्षीय साझेदारीमा मोना–बेनी–लभ्लीहिल पदमार्ग बनाइएको छ। यसमा बेनी नगरपालिकाको ५०, प्रवासी म्याग्देलीको संस्था मोना ४० र निजी क्षेत्र म्याग्दी उद्योग वाणिज्य संघको १० प्रतिशत लगानी गरिएको छ। यसका साथै प्रसिद्ध जगन्नाथ मन्दिरनजिकै केभहिलमा भ्युटावर निर्माणको हालसम्म ५० प्रतिशत काम सकिएको छ।
न्यायिक समितिमा के–कस्ता मुद्दा आउने गरेका छन् र समाधानका लागि कसरी काम गर्नुभएको छ ?
न्यायिक समितिमा घर–जग्गा, सम्बन्धविच्छेद, लेनदेन, पशुपक्षीसम्बन्धी, घरायसी झै–झगडा, घरबहाल, गालीगलौज, सीमा विवादलगायतका मुद्दा आउने गरेका छन्। हालसम्म विभिन्न प्रकृतिका ४७ वटा मुद्दा न्यायिक समितिमा दर्ता भएकोमा अधिकांश मुद्दा फस्र्यौट गरिएको छ। न्यायिक समितिमा आउने मुद्दाहरू व्यवस्थापनका लागि कार्यक्षेत्रभित्र पर्ने मुद्दालाई फस्र्यौट गर्ने काम गरिँदै आइएको छ। आवश्यक परेमा जिल्ला प्रहरी, अदालत, सरकारी वकिल कार्यालयसँग परामर्श गर्ने सल्लाह लिने र समन्वय गरेर मुद्दाको किनारा लगाउने काम गरिएको छ। कतिपय मुद्दाहरू मौखिमरूपमा आउने भएकाले त्यस्ता मुद्दाको आन्तरिकरूपमा समस्या समाधानसमेत गर्ने गरिएको छ। पीडित व्यक्तिलाई पहिलो प्राथमिकता दिएर न्याय सम्पादन तथा सहजीकरणको व्यवस्था मिलाएका छौं। न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने मुद्दाको समाधान गरी अन्यलाई भने अदालत पठाइएको छ।
अहिलेसम्म न्यायिक समितिमार्फत कतिवटा मुद्दा मिलाउनुभयो वा न्याय सम्पादन गर्नुभयो त ?
न्यायिक समितिको स्थापना भई कार्यसम्पादन शुरू गरेदेखि हालसम्म विभिन्न प्रकृतिका ४७ वटा मुद्दा न्यायिक समितिमा आएको हुँदा त्यसमध्ये अधिकांश मुद्दाको किनारा लगाइएको छ। यसमध्ये दुवै पक्षलाई राखेर आवश्यक सल्लाह सुझावसहित मिलापत्र गरी सहज वातावरण निर्माण गरिएको छ।
तपाईं उपप्रमुख हुँदै गर्दा महिला सशक्तीकरणका लागि बजेट, नीति तथा कार्यक्रममार्फत के–कस्ता योजना समावेश गर्नुभएको छ ?
म एक महिला अनि उपप्रमुख भएर काम गर्दै गर्दा महिला सशक्तीकरणका लागि विभिन्न नीति, कार्यक्रम सञ्चालनमा जोड दिएकी छु। बेनी नगरपालिकाभित्र पुरुषको तुलनामा महिलाको जनसङ्ख्या धेरै रहेको छ। नगरपालिकाअन्तर्गत १० वटै वडामा छरिएर रहेका १ सय १८ वटा आमा समूहलाई एकीकृत गरी वडामा वडास्तरीय मूल आमा समूह १० वटा र सबै वडाको प्रतिनिधित्व हुने गरी नगरपालिकास्तरीय एउटा मूल आमा समूह गठन गरेर महिला लक्षित कार्यक्रमलाई अगाडि बढाइएको छ। नीति बनाएर महिला समूहलाई एकीकृत गरी मूल आमा समूह निर्माण गरिएको हुँदा महिलालाई क्षमता विकास, कानुनी सचेतना, उद्घोषण तथा भाषण कला, सीपमूलक तालिम, एकल महिला लक्षित तथा अपा·ता भएकालाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। यसका साथै लै·िक हिंसा निवारण रणनीतिक तथा बालविवाह उन्मूलन कार्ययोजना बनाई सोहीअनुसारका कार्यक्रमलाई जोड दिएका छौं। बालविवाह न्यूनीकरणलाई समेत जोड दिइएको छ।
बेनी नगरपालिकामा महिलाको अवस्था कस्तो पाउनुभयो ?
हाम्रो नगरपालिकामा महिलाको अवस्था पहिलेको तुलनामा अहिले सशक्त हुँदै गइरहेको देखिन्छ। महिला स्वयं केही गर्नुपर्छ भनेर अगाडि बढिरहेका छन्। समाजमा हुने विभिन्न विकास निर्माणका योजनाको नेतृत्व गर्ने, संघ–संस्थामा बस्ने, घर व्यवहार, पसललगायत विभिन्न व्यावसायिक क्षेत्रमा सक्रियता बढ्दै गएको छ। म उपप्रमुख निर्वाचित भएलगत्तै एक जना धामीझाँक्रीले झारफुक गर्ने बाहनामा महिलालाई यौन शोषण गर्दै आइरहेको भन्ने वडाका महिला सदस्यमार्फत मसँग त्यो घटना आयो र त्यति बेला तत्कालीन डीएसपी वसुन्धरा खड्काको पहलमा पीडक धामीलाई बागलुङबाट तत्कालै पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइयो र अहिले ती व्यक्तिले कारागारमा सजाय भोगिरहेका छन्। यस्ता घटना बाहिर आउन सक्नु पनि महिला सशक्तीकरण बढेको र महिलाको अवस्थामा सुधार आएको छ भन्ने एउटा उदाहरण मान्न सकिन्छ।
तपाईंको वडाका जनप्रतिनिधिहरूसँग कस्तो सम्बन्ध रहेको छ ?
वडाका जनप्रतिनिधिहरूसँग नजिकको सम्बन्ध रहेको छ। स्थानीय सरकार सञ्चालन ऐनले नै स्पष्टरूपमा सबै जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार तोकिदिएको हुँदा सोहीअनुसार हामीले आ–आफ्नो क्षेत्रको काम गर्दै आएका छौं। सरकारको कामलाई जनताको माझमा पु¥याउने हामी सबैको जिम्मेवारी भएकाले सबै वडामा आवश्यक समन्वय, सम्पर्क र सल्लाह गरेर काम–कारबाहीलाई अगाडि बढाइरहेका छौं।
बेनी नगरपालिकामा कतिवटा विद्यालय सञ्चालनमा रहेका छन् र सामुदायिक विद्यालय सुधारका योजनाहरू के–के होलान् ?
बेनी नगरपालिकाभित्र सामुदायिक विद्यालय कुल ५६ र संस्थागत ८ वटा सञ्चालनमा रहेका छन्। यसका साथै धौलागिरि क्षेत्रमै पहिलोपटक क्यूएए प्राप्त एकमात्र क्याम्पस म्याग्दी बहुमुखी क्याम्पस पनि बेनी नगरपालिकाभित्रै पर्दछ। सामुदायिक विद्यालय सुधार गर्नका लागि बेनी नगरपालिकाको तर्फदेखि विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण, नगर क्षेत्रभित्र रहेका मावि विद्यालयमा सेनेटरी प्याडको व्यवस्था, महिलामैत्री शौचालय निर्माण, अपा·मैत्री भवन निर्माणमा जोड दिएका छौं। नगरपालिकामा रहेको शिक्षा, युवा तथा खेलकुद शाखामार्फत शैक्षिक क्षेत्रसँग सम्बन्धित आवश्यक कार्यक्रम पनि भइरहेका छन्। शिक्षक नभएका विद्यालयमा दरबन्दी मिलान, भौतिक संरचनाको अभाव झेलेका विद्यालयमा भवन निर्माण, खानेपानी योजना तथा शौचालय कोटा आदिमा सहयोग गर्ने गरिएको छ। साथै सामुदायिक विद्यालय सुधार गर्नका लागि विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावकका बीचमा आवश्यक समन्वय, सहकार्य तथा अन्तरक्रियालाई जोड गरिएको छ। आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम बनाएर अध्ययन–अध्यापन गराउनका लागि समिति गठन गरी तयारी अगाडि बढाइएको छ। नगरपालिकाको शिक्षा तथा युवा खेलकुद शाखामार्फत खास गरी विद्यालयसँग सम्बन्धित विभिन्न कार्यक्रमलाई जोड दिइएको छ।
तपाईं उपप्रमुख हुनुभन्दा अगाडि र अहिले जिम्मेवारीसहितको पदमा हुँदा कत्तिको फरक पाउनुभयो ?
म उपप्रमुख हुनुभन्दा पहिले बेनी नगरपालिकाको सल्लाहकारका रूपमा थिएँ। पहिला सल्लाहकार हुँदा नगरपालिकाको बैठक तथा कार्यक्रममा सहभागी हुने गरिन्थ्यो। तर, अहिले विशेष जिम्मेवारीसहित जनप्रतिनिधि भएर नगरपालिकामा आउँदा धेरै फरक अनुभूतिको महसुस गरेकी छु। उपप्रमुख भएर काम गर्दै गर्दा नगरबासीसँग नजिकिने अवसर पनि मिल्यो। विकास निर्माणका काम, कानुनी विषय, नीति तथा बजेट निर्माणलगायत थुप्रै कामको समेत अनुभव लिन पाइयो। उपप्रमुख भएर काम गर्ने अवसर पाउँदा म अत्यन्तै खुसी छु र आफूलाई भाग्यमानी ठानेकी छु।
नमुना नगरपालिका बनाउने योजनाबारे केही सोच्नुभएको छ ?
बेनी नगरपालिका आफैंमा नमुना छ र यसलाई अझै नमुना बनाउनका लागि हामीले नगरपालिकामार्फत सबै वडामा पुग्ने गरी रिङरोडको अवधारणा अगाडि सारेका छौं। यस नगरपालिकाभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रहरूमा भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको छ। नगरपालिकाको सबै वडाका सडकलाई स्तरोन्नति र कालोपत्रे गर्ने, विकासे योजनाहरूलाई दिगोपन दिनका लागि डीपीआर तयार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ।
आगामी योजना के–के छन् ?
विभिन्न हिंसामा पर्ने महिला तथा बालबालिकाका लागि सेभ हाउस बनाउने, महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तथा आय–आर्जनमूलक कार्यक्रम निर्माणमा जोड, आर्थिक सशक्तीकरण गर्न आवश्यक कार्यक्रम, पर्यटन पूर्वाधार, सडकको स्तरोन्नति गर्ने, पदमार्गहरू बनाउने, पिकनिक स्पोर्ट बनाउने, जगन्नाथमा भेजिटेरियन स्पोट बनाउने जस्ता कार्यक्रम तथा योजना रहेका छन्।
अब हुने निर्वाचनमा कुन पदमा उम्मेदवारी दिने चाहना छ ?
आगामी निर्वाचनमा अहिलेसम्म फेरि उम्मेदवार बन्नका लागि त्यस्तो कुनै सोच बनाएको छैन। तर, पनि जनप्रतिनिधि भएर जनताको काम गर्नका लागि भने विचार गर्न सकिन्छ। पुनः उम्मेदवार बन्नका लागि पार्टी र जनताले फेरि पनि विश्वास गरेको खण्डमा जुनकुनै पदमा उठ्न सक्ने सम्भावनासमेत उत्तिकै छ। राजनीति भनेको पनि समाजसेवा भएकाले विकास निर्माण र जनताको काम गर्नका लागि राजनीति नै गर्नुपर्छ भन्ने पनि छैन।
अन्त्यमा केही भन्नु छ कि ?
सर्वप्रथम त मलाई आफ्नो कुरा राख्ने अवसर दिनुभएकोमा तपाईं र नेपाल समाचारपत्रलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि हामी नगरपालिकाको विकासमा केन्द्रित भएर लाग्ने नै छौं। बेनी नगरपालिकालाई समृद्ध बनाउन आम नगरबासी सबैको साथ र सहयोगको आवश्यकता छ। यसका लागि हामी सबैसँग हातेमालो गरेर अगाडि बढ्नेछौं। अन्त्यमा, मेरो अन्तरवार्ता पढेर रचनात्मक सल्लाह, सुझाव दिनुहोला भन्ने अपेक्षा गर्दछु।

प्रतिक्रिया दिनुहोस्