लाङटाङमा मोटरबाटो



गोसाइँकुण्ड गाउँपालिकाभित्रका ५ वटा वडामा सडक सञ्जालले छोएको छ भने अब पर्यटकीय नगरी लाङटाङमा पनि सडक पुग्ने भएको छ। कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र विकासको सेरोफेरोमा रहेर गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्ष कैसाङ नुर्पु तामाङसँग नेपाल समाचारपत्रका लागि रसुवा संवाददाता सरस्वती न्यौपानेले गरेको कुराकानीको सारांश ः
स्थानीयसँग तपाईंले निर्वाचन हुँदा के–के कुरामा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ?
स्थानीय सरकारको निर्वाचन हुँदा यस गाउँपालिकाभित्र ६ वटै वडामा सडक सञ्जाल विस्तार गर्ने, स्थानीय तहमा आयमूलक रोजगार कार्यक्रम गर्ने प्रतिबद्धता गरेको थिएँ।
तपाईंको प्रतिबद्धताअनुरूप काम भएका छन् त ?
भएका छन्। पाँचवटा वडामा सडक सञ्जालको विस्तार भइसकेको छ भने बाँकी रहेको लाङटाङमा पनि यसै आर्थिक वर्षभित्र मोटरबाटो पुग्छ। र, आयमूलक रोजगारी कार्यक्रमअन्तर्गत पनि रोजगारी दिने कामहरू भएका छन्। निर्वाचित हुनुभन्दा अघि विद्यालयको भौतिक पूर्वाधार थिएन। गुणस्तरीय शिक्षाका लागि प्रत्येक वडामा विद्यालय पुनः सञ्चालनमा ल्याई मण्डेश्वरी विधिबाट ३ वटा विद्यालयमा कक्षा सञ्चालन भएका छन्। ‘लाङटाङ सेरोफेरो’ नामक किताब तयार गरी सबै विद्यालयमा कक्षा ८ सम्म सञ्चालन भएका छन्।
गोसाइँकुण्ड गाउँपालिकाभित्र पर्यटकीय स्थलको विकास कसरी हुँदै छ।
कृषि क्षेत्रको सम्भावना रहेको यस पालिकाभित्र चौरीपालन, जलविद्युत्, पर्यटन तथा जडीबुटीको राम्रो सम्भावना छ। तामाङ सम्पदामार्ग पनि यस गाउँपालिकाको महत्वपूर्ण नै मानिन्छ। ऐतिहासिक रसुवागढी, दूधकुण्ड रिभर कुण्ड तथा ठूल्ठूला खर्कहरू रहेका छन्।
भेषभूषा, भाषा, सांस्कृतिक दृश्यावलोकन, नयाँ पर्यटकीय रुटको खोजी गर्दै ओझेलमा परेका सम्भावित पर्यटनमार्ग पहिचान गरी मर्मतसम्भार गरेर नागथली, दूधकुण्डजस्ता पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा गाउँपालिका लागेको छ।
तपाईंले कृषि तथा किसान लक्षित केही काम गर्नुभएको छ त ?
यस गाउँपालिकाभित्र बेमौसमी तरकारीखेती, जापनिज रेन्बो माछा, तरकारीखेतीमा अनुदान तथा सहुलियत ऋणमा आय–ºआर्जन गराउन किसानलाई सहयोग गरी चौरीपालनमा फोकस गरेका छौं।
स्वास्थ्य क्षेत्रमा के गर्नुभएको छ ?
स्वास्थ्य क्षेत्रमा भन्नु पर्दा सुत्केरी गराउने वर्थिङ सेन्टर केन्द्र खोल्ने योजनाअनुरूप ४ स्थानमा काम भइसक्यो। प्रत्येक वडामा स्वास्थ्य संस्थासहित तालिमप्राप्त स्वास्थ्यकर्मी छन्। मातृ शिशु स्वास्थ्य कार्यक्रमअन्तर्गत सुरक्षित तवरले स्वास्थ्य संस्थामै सुत्केरी गराउनुपर्छ भन्ने भावना प्रत्येक वडामा विकास गर्न सफल भएका छौं।
धुन्चे–गोसाइँकुण्ड केबलकार योजनाका बारेमा केही बताइदिनुस् न ?
धुन्चे–गोसाइँकुण्ड केबलकारका लागि संघीय सरकारले कार्ययोजना पास गरिसकेको छ। यसै वर्ष ईआईए र डीपीआर हुन्छ।

प्रतिक्रिया दिनुहोस्