नेपालको स्वास्थ्य बीमा सरकारको राजनीतिक नारा हो



नेपाल सरकारले कानको समस्यालाई पनि अरू समस्याजस्तै प्राथमिकतामा राख्नुपर्छ। कानको समस्या धेरै प्रकारका हुन्छन् र कानको समस्याले दिमागलाई समेत असर पार्छ, क्यान्सरसमेत हुन सक्छ। सरकारले कानको समस्यालाई प्राथमिकता नै दिएको छैन र दाँतसँग जोडेर कानको सेवालाई राखेको छ। सरकाको नीति तथा योजनाकारहरू नै पहिला बहिरोपनको न्यूनीकरणका लागि सचेत हुनु जरुरी छ। हेड एन्ड नेक सर्जन प्राडा. दीपेन्द्र श्रेष्ठसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेप ः
कानको मुख्य समस्या के हो ?
कानको समस्या धेरै प्रकारका हुन्छन् नसुन्ने मात्र हैन। कानको समस्याले ल्याउने प्रमुख समस्या बहिरोपन हो।
कानको समस्या कति प्रकारका छन् ?
कान कराउने, चक्कर लाग्नेलगायतका कानमा विभिन्न किसिमको समस्या हुन्छ। यस्तो समस्या भएपछि कान कम सुन्ने, कान बन्द हुनेलगायतका समस्या हुन्छन्। कानको समस्याका कारण कान नसुन्ने अवस्था सृजना हुन्छ। जन्मजात कान नसुन्ने, जन्मेपछि समस्या आएर कान नसुन्ने तथा कानको संक्रमण पनि तत्काल र दीर्घकाल हुने हुन्छ। कुनै संक्रमण त ज्यानको खतरा हुने पनि हुन्छ। कानको संक्रमणका कारण कान पाकिरहने, कानमा ट्युमर, क्यान्सरहरू हुन्छ।
दुःख दिने भन्नुभयो, कस्तो खालको दुःख हो ?
दुःख दिने भन्नाले घरी–घरी कान पाक्ने, कान दुख्ने कानबाट पानी बगिरहने, चक्कर लाग्ने, कान कराउनेलगायतका घरी–घरी दुःख दिने समस्या हुन्। यस्ता समस्याले ज्यानको खतरासमेत निम्त्याउँछ र अपांग बनाउने, मानिसको ज्यानै जानेसम्मको समस्या हुन सक्छ। यस्ता समस्याले दिमागमा असर पार्ने, मुख बांगिने, मुखको नसाको प्यारालाइसिस हुने, बेहोस हुने, मेनेन्जाइटिस हुने, हातखुट्टा नै नचल्ने खालको प्यारालाइसिससमेत हुन सक्छ।
कानको समस्याले कस्तो खालको अपांग बनाउँछ ?
कानको कारणले शारीरिक अपांग पनि बनाउन सक्छ। जनचेतना नभएकाले मात्र हो नत्र कानको समस्या सबैमा हुने कमन कुरा हो। जनचेतनाको अभावका कारण अपांग भएका मान्छेहरू उपचारका लागि आउने संख्या धेरै छ। आम मानिसले सामान्य मान्दै आएको कानको समस्या भनेको कानको जालीमा प्वाल परेर कान पाकिरहन्छ। यसले गर्दा विस्तारै कानको सुन्ने क्षमता घट्दै जान्छ। कानै नसुन्ने अवस्थामा पुगेपछि बिरामी बल्ल परीक्षणका लागि अस्पताल आइपुग्छन्। काननै नसुन्नु पनि अपांगता हो। यस्तो अवस्थामा बिरामीको उपचार सम्भव छैन।
कानको मुख्य काम के हो ?
कानको मुख्य गरी दुईवटा काम हुन्छ, एउटा सुन्ने र अर्को मानिसलाई ब्यालेन्समा राख्ने।
अन्य बिरामीको दाँजोमा कान नसुन्ने बिरामीको संख्या कति होला ?
नेपालमा त कुनै अनुसन्धान भएकै छैन र पुरानो तथ्यांकअनुसार धेरै ठूलो समस्या त्यो पनि दुर्गम भेगमा भएको देखाएको छ। अन्तर्राष्ट्रिय रूपमा विश्व स्वास्थ्य संगठनको सन् २०१८ को तथ्यांकअनुसार ४० लाख भन्दा बढी बहिरोपनको समस्या छ र यो एकदम बढ्दो क्रममा छ। सन् २०५० सम्म ९० मिलियन ९ हजार मानिस बहिरोपनको समस्या झेल्न बाध्य हुने उल्लेख गरिएको छ।
यति धेरै संख्यामा कान कम सुन्ने अर्थात् बहिरोपन बढ्नुको मुख्य कारण के हो ?
आयु लम्बिनु र बुढाबुढी धेरै हुनुका साथै शहरको कोलाहल वातावरणको बसाइ धेरै हुनु नै प्रमुख कारण हो। दोस्रो कारण भनेको विकाससँगै ठूल्ठूला आवाज आउने मेसिनरीको प्रयोग हुनुनै हो। तेस्रो कारण एनटिबायोटिकको बढी प्रयोग र क्यान्सरको कारणले पनि सुन्ने क्षमतामा असर परिरहेको छ। हाम्रो डेभलपिङ मुलुकमा बच्चालाई चाहिनेभन्दा कम भ्याक्सिन लगाएका कारण पनि दादुरा र हाँडेका कारणले पनि बच्चामा बहिरो पनि बढ्दो छ। बहिरोपनको दुईतिहाइ संख्या विकसित मुलुकमा मात्र छ। यसको ५० प्रतिशत बहिरोपन समयमै उपचार गरे रोक्न सकिने खालको हुन्छ।
नेपालजस्ता मुलुकले बहिरोपन न्यूनीकरणका लागि के गर्नुपर्छ ?
न्यूनीकरणका लागि दुई किसिमको तहमा काम गर्न सकिन्छ। पहिलो सबै तहमा सचेतना नै हो। दोस्रो नेपाल सरकारले प्राथमिकतामा राखेर सचेतना र उपचार विधिमा सहजीकरण गर्नु जरुरी छ। प्राइमरी, सेकेन्डरी र टर्रसरी प्रिभिन्सन गर्नुको जरुरी छ। सचेतना के गर्न हुन्छ हुँदैन भन्ने, स्कुल तहमै परीक्षण गर्ने र बहिरोपन भएकालाई हेरिङ एड लगाउने, जन्मजातै बहिरोपन रोक्न भ्याक्सिन लगाएर रोक्न सकिन्छ।
जन्मजातै आउने समस्या रोक्न सकिन्छ कि सकिन्न ?
कतिपय वंशानुगत रूपमा आउने समस्या रोक्न नसकिने पनि हुन्छ। यो बाबुआमाको वंशानुगत समस्याले देखापरेको बहिरोपन खासै नियन्त्रण गर्न सकिने हुँदैन। सामान्य थेरापी गराउनेजस्ता विधि आएका भए पनि त्यति सजिलै समाधान गर्न सकिन्न। तर, दादुरा र हाँडेरोग लागेपछि बच्चाको कान नसुन्ने हुन्छ। आमाको पेटमा हुँदै भारइरसहरूको संक्रमणहरू रोकथाम गरियो भने पनि जन्मजात हुने बहिरोपन रोक्न सकिन्छ। गर्भवती भएका बेला खान नहुने औषधि खाँदा पनि बच्चाको कानमा असर पर्न सक्छ। यस्ता समस्याको न्यूनीकरणका लागि सचेतनाका माध्यम अपनाउनुपर्छ।
नर्भिक अस्पतालमा कानको निःशुल्क परीक्षण गराउनुको मूल उद्देश्य के हो ?
कानको समस्या अशिक्षित, ग्रामीण भेगमा बसोबास गर्नेमा मात्र नभई शिक्षितवर्ग शहर बजारमा बस्ने र योजना बनाउनेहरूमा पनि सचेतनाको अभाव भएकाले सचेतनाका लागि विश्व स्वास्थ्य संगठनले मार्च ३ लाई विश्व श्रवण दिवसका रूपमा मनाउन थालेको छ र हामीले पनि त्यही अवसरको सदुपयोग गरी सेवा र सचेतनाका लागि नर्भिकमा इन्टरनेसनल अस्पतालमा २ दिन निःशुल्क शिविर चलाएका हौं।
कानको नसुन्ने समस्या उमेरसँगै पनि आउँछ, न्यूनीकरणको उपाय के हुन सक्छ ?
उमेर बढ्दै गएपछि अंगहरूको कार्यक्षमता घट्दै जान्छ र कान सुन्ने क्षमतामा पनि कमी आउँछ। यसको न्यूनीकरण हुँदैन यो प्राकृतिक प्रकृया हो। त्यसलाई रोक्न सकिन्न तर कानमा लगाउने हेरिङ एडहरू दिएर सुन्न सक्ने बनाउन भने सकिन्छ।
उच्च रक्तचाप, मधुमेहले पनि कान नसुन्ने समस्या बढाउँछ ?
हो, उच्च रक्तचाप र मधुमेह भएका व्यक्तिमा कान नसुन्ने समस्या बढी नै छ।
बालबालिका र युवावर्गमा पछिल्लो समय एयरफोन प्रयोग गर्ने क्रम बढेको छ। यसले कानलाई कत्तिको असर गर्छ ?
वास्तवमै कानमा लामो समय एयरफोन लगाएर ठूलो स्वरमा गीत सुन्दा बहिरोपनको समस्या निम्त्याउँछ। साँघुरो ठाउँमा, कारमा ठूलो आवाज बजाउँदा पनि कान सुन्ने क्षमतामा कमी ल्याउँछ। त्यस्तै ठूल्ठूला मेसिन चलाउने कम्पनीमा लामो समय काम गर्नेमा पनि कान सुन्ने क्षमतामा कमी आउँछ। १ सय २० डिजेबलभन्दा माथिको आवाज एक्कासि कानमा आयो भने पनि कानको जालीमा क्षति पु¥याउन सक्छ।
मुख्यतया कानको सुन्ने भाग कुन हो र त्यसलाई के भनिन्छ ?
कानमा ३ वटा भाग हुन्छ। बाहिरी कान, मध्य कान र भित्री कान हुन्छ। भित्री कानको जोडाई दिमागसँग हुन्छ। हामीले सुन्ने खास कानबाट हैन कान माध्यम हो सुन्ने दिमाग हो। दिमागमा भएको एउटा अल्टरी कटेज भन्ने एरियाले सुन्ने काम गर्छ। यो दिमागको एउटा भाग हो। कानले आवाजलाई त्यहाँ पु¥याउँछ र दिमागले सुन्छ। कान मेकानिकल इनर्जी हो र यसले फिल्टर गरेर दिमागमा पु¥याउँछ र दिमागले काम गर्छ। यसमा खराबी आएको खण्डमा बहिरोपना ल्याउँछ।
बहिरोपना कति किसिमका छन् ?
बहिरोपना ३ किसिमको हुन्छ। कन्डक्टिङ हेरिङ लस्ट, कानको बाहिरबाट भित्री कानसम्म आवाज पुराउने प्रकृयामा समस्या भयो भने त्यसलाई कन्डक्टिङ हेरिङ लस्ट भनिन्छ। यो कानको प्वाल बन्द छ, कुनै ट्यूमर पलाएको छ, कानको जालीमा प्वाल परेको छ। कानमा एकदमै धेरै कानेगुजी जमेको छ भने आवाजको आवतजावतमा रोक्छ, यसलाई कन्डक्टिङ हेरिङ लस्ट भनिन्छ। अर्को सेन्चुरी लेरिङ हेरिङ ग्लास भनिन्छ। त्यो भनेको कानले मेकानिकल इनर्जी आवाज लिन्छ । त्यसलाई इलेक्ट्रिकल इनर्जीमा भित्री कानले इनर्जी अलिकति परिवर्तन गर्छ। त्यो आवाज कानको नसाबाट अलटरी नभ भन्ने दिमागमा जान्छ। यो अवस्थामा समस्या आयो भने नसा र दिमाग दुवैमा समस्या आएको हुन सक्छ। कसैकसैलाई दुई किसिमको समस्या हुन सक्छ, कन्डक्टिभ र सेन्सेनरी हेरिङ लस पनि हुन सक्छ। मुख्य गरी यिनै तीन किसिमको समस्या हुन्छ।
बृहत् रूपमा कानको समस्याको समाधान गर्न राज्यले के गर्नुपर्ला ?
राज्यले कानको समस्या महत्वपूर्ण समस्या हो भन्ने महसुस गर्नुपर्छ। यसले गर्दा मानिसको मानसिक विकास, पूरै स्वास्थ्यमा, आर्थिक उपार्जनमा पनि ठूलो समस्या परेको हुन्छ र व्यक्तिले राज्य र समाजलाई जति योगदान दिनुपर्ने हो त्यसमा कमी आउँछ। विकसित मुलुकहरूमा बहिरोपनका कारण कति आर्थिक नोकसानी हुन्छ भन्ने विषयमा अध्ययन भएको छ। यस्तो विषयमा राज्य पनि सचेत हुनुप¥यो। राज्यले यसलाई राष्ट्रिय समस्याका रूपमा लिएर राष्ट्रिय रूपमै योजना बनाएर कार्यान्वयका लागि नीति बनाएर लागू गर्न तयारी हुनुपर्छ। बहिरोपनाको क्षेत्रमा पनि अन्य क्षेत्रमा जस्तै योजना बनाएर अघि बढ्नुपर्छ।
तपाईंले ईएनटी नै किन रोज्नुभयो ?
आफूलाई सर्जिकल फिल्डमा इच्छा भएकाले ईएनटी सर्जरी नै रोजें। ईएनटी भेगिलो क्षेत्र छ। यसमा विभिन्न किसिमले काम गर्न सकिन्छ। जस्तैः फिजिसियन, सर्जन, माइक्रोसकोपी सर्जरी, इन्डोस्कोपिक सर्जरी, रोबोटिक सर्जरी, ओटी सर्जरीजस्ता विभिन्न क्षेत्रमा काम गर्न पाउने फराकिलो दायराको फिल्ड भएकाले नेपालमा अन्य बिरामीभन्दा ईएनटीको बिरामी सबैभन्दा बढी बिरामी हुने क्षेत्र हो। सबैभन्दा बढी मानिस बढी समस्या हुने पनि ईएनटी नै हो।
तपाईंले त अमेरिकाको स्वास्थ्य सेवा पनि नजिकबाट नियाल्नुभएको छ। विदेश र नेपालमा के फरक छ ?
विदेश र नेपालको धेरै नै ठूलो फरक छ। विदेशमा सबै कुरा योजनामा हुन्छ। राष्ट्रिय तहबाट अनुगमन हुन्छ। हरेक तहमा योजनाअनुरूप गएको छ। हामी त्यस्तो विषयमा व्यवस्थित छैनौं र त्यति राम्रो योजना छैन।
कानको उपचार कत्तिको खर्चिलो छ ?
कानको उपचार अरू रोगसँग दाज्ने हो भने खर्चिलो छैन। धेरै महँगो खालको ककलेन प्लान लगाउन चाहिँ महँगो हुन्छ। यस्तोमा राज्यले अनुदान दिने काम विदेशमा पनि छ। बिरामीलाई कानको कारणले ठूलो आर्थिक बोझ हुँदैन।
नेपालमा बिमा योजना लागू हुँदै छ। यस्तो अवस्थामा नेपालीले सोचेजस्तो उपचार सेवा पाउलान् त ?
बीमा केही सरकारी अस्पतालमा शुरू भएको छ। तर, यसमा पनि विभिन्न किसिमको समस्या आएको सुनेको छु। नेपालको सरकारी अस्पतालहरू स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन। राजनीतिक नाराका रूपमा मात्र अघि बढेको छ बिरामीले सेवा पाएका छैनन्। बीमाको कुराले धेरै बिरामीले अस्पतालमा नीति र व्यवस्थापनका कारणले धेरै दुःख पाएका छन्।
नेपालमा ईएनटी चिकित्सक कति जना हुनुहुन्छ ?
नेपालमा ईएनटी चिकित्सक १ सय ८० को हाराहारीमा छन्। अधिकांश काठमाडांै र नेपालका ठूला शहर पोखरा, विराटनगर, चितवनलगायतका मुख्य शहरहरूमा कानका सर्जनहरू हुनुहुन्छ।
उत्पादन कम भएको हो वा जाने वातावरण नै नभएको ?
उत्पादन नै कम भएको हो। ३ करोड जनताका लागि यो संख्या अति नै न्यून हो। पाँचसात वर्षको दाँजोमा बढेको छ। र, बढ्ने क्रम छ। शैक्षिक केन्द्रहरू पनि बढ्दै छन्।
अन्तमा तपाईंको केही भन्नु छ कि ?
विशेष गरी सरकारले कानको समस्यालाई बुझेकै छैन र जहिले पनि कानको समस्याको कुरा गर्दा दाँतसँग जोडेर मात्र ल्याउँछ। दाँतको क्षेत्र यति भेग भइसक्यो। नेपाल सरकारको नेसनल डिफिनेस प्रोग्राम पनि गरियो। कुन तहको काम गर्ने भन्ने छैन। सचेतना नै छैन। शहर बजारदेखि गाउँघरमा भयावह छ। कानमा मेसिन लगाएर गयो भने कसैलाई थाहा हुन्न तर पनि हिचकिचाहट छ। कान पाक्यो भने अभिभावकले चिन्ता नै गर्दैनन्। कारण जनचेतनाको अभाव हो। यसको दायित्व सरकारको हो। आँखाको क्षेत्रमा सरकार सचेत छ। त्यस्तै कानको क्षेत्रमा पटक्कै छैन।

प्रतिक्रिया दिनुहोस्