नेपालमा विकास हुन नसक्नुको कारण



नेपालको विकास हामी सम्पूर्ण नेपालीका लागि एउटा महत्वपूर्ण विषय हो। यो हरेक नेपालीले बोल्ने शब्द पनि बनिसकेको छ। नेपालको विकास कहिले होला ? यो प्रश्न धेरैले गर्ने गर्छन् तर सोच्दैनन् कि हरेक चिज परिवर्तन गर्नुअघि आफूबाट नै शुरू गर्नुपर्छ भनेर।
हरेक चिज भनेर मात्र सम्भव हुने भए त नेपाल पहिले नै अमेरिका भैसक्थ्यो होला। हैन भन्नुस् त ? तपाईं आफैं आफ्नो घरअगाडिको फोहोर व्यवस्थापन गर्न नगरपालिकाको गाडी नै कुर्नहुन्छ, अफिस निस्कँदा होस् वा कहीँ–कतै जाँदा तपाईं त्यही बाटो आफ्नो नाक थुन्दै हिँड्नुहुन्छ। तर सोच्नुहुन्न कि यो हामी आफैंले सफा गर्दा पनि हुन्छ भनेर।
हरेकले भन्नुहुन्छ– घूसखोरीले नै देश बिग्रेको हो भनेर। तर त्यो घूस कसले दिएको हुन्छ ? सोच्नुभएको छ कहिल्यै ? त्यो घूस त निश्चय नै अन्यत्रबाट आएर कसैले दिँदैन होला, हैन र ? त्यो घूस दिने पनि त तपाईं–हामी नै हो। अनि किन दोष दिन्छौं हामी अरूलाई ? हामीले आफ्नै काम गर्नलाई त अरूको बाटो हेर्छौं भने देशको विकासको बारेमा त कुरा गर्नबाहेक अरू केही सिकेका छौं जस्तो लाग्दैन मलाई।
बरु तपाईंसँग आफ्ना बकमफुसे गफ गरेर बस्ने समय हुन्छ, अरूको कुरा काटेर बस्ने समय हुन्छ, फलानाले त फलानोको यति पैसा लिएर यस्तो ठाउँमा काम लगाइदियो रे ⁄ अथवा यस्तो काम गरिदियो रे त ⁄ भन्दै चौतारोमा बसेर गफ चुट्नसम्म चुट्नुहुन्छ। अनि आफैं भन्नुहुन्छ– देश नेताले बिगारेका हुन् भनेर। एकपटक सोच्नुस् त, तपाईं–हामीले नै देश बिगारेको हो कि हाम्रा माननीय नेताले ?
हो, म मान्छु– हाम्रा माननीय नेताको पनि गल्ती हो तर उहाँहरूलाई हामीले नै बिगारेको होइन र ? यदि तपाईंको आफन्ती कसैले कहीँ–कतै केही गल्ती गरिहाल्यो भने तपाईं उक्त कुरा बाहिर देखाउनुहुँदैन तर अफसोस तपाईंसँग कोही नमिल्ने मान्छेले गल्ती गरोस् त तपाईं जत्तिको अगाडि उसको सिकायत गर्न अरू कोही पुगेको हुँदैन। तपाईं–हामी आफैंले नै आफ्नो पावर लाग्ने ठाउँमा भरपूर फाइदा उठाउँछौं अनि आफैं भन्छौं कि अर्काे दिन कसैसँग यहाँ पावर हुनेको मात्रै चल्छ, हामी जस्ता साधारणको त केही लाग्दैन भनेर।
तपाईंले एकदिन दुःख भोग्दा त्यस्तो सास्ती हुन्छ भने अन्य सधैँ हरेक चिज बनाउँदा लाइन लागेर बनाउनुपर्ने अवस्थामा अन्य सामान्य मान्छेलाई कस्तो हुँदो हो ? कहिल्यै सोच्नुहुन्छ तपाईं ? कदापि सोच्नुहुन्न। किनकि तपाईं त व्यस्त मान्छे होइन र ?
हिजोको अवस्था भुल्दै जान्छौं हामी। आज आफैं यो सफलता प्राप्त गरेका हौं भन्ने सोच्छौं हामी। अनि कुनै कुर्सीमा बसेर भन्दा गरिब भनेका यस्तै हुन् हामी आफ्नो बाटो लाग्दै गरौं। सेल्युट गर्छु म तपाईंको सोचलाई, आफू केही गर्नुहुन्न अनि अर्काेलाई दोष दिँदै बस्नुहुन्छ। देशको विकास गर्ने कुरा गर्नहुन्छ, तर तपाईंमा मानसिक सोचको त विकास भएको छैन, झन् देशको त कुरै नगरौं।
हामी आफंै नाराबाजी गर्छौं– नेपालमा छन् त दुईवटा मात्र, ती हुन् नारी र पुरुष भनेर। तर जो नारा लगाउनुहुन्छ, उहाँकै घरमा गाउँको तल्लो जात भनेर चिनिने कुनै मानिस आएमा भन्ने गर्नुहुन्छ, बाहिर बैठक कोठामा बस् भनेर। मानौं कि ऊसँग छोइयो भने आफू बाँचिदैन होला भनेर। मेरा माननीयज्यूहरू, हरेक कुरा विकास गर्नु छ भने पहिला आफ्नो दिमागी सोचको विकास गर्नुस् अनि देशले आफैं विकासको बाटो पछ्याउनेछ।
– लक्ष्मी राना, जोशीपुर, कैलाली।
आफ्नै सोच र व्यवहारमा परिवर्तन गरौं
उपत्यकामा चल्ने सवारीसाधनको पहिलो सिट प्रायः महिला सिट नै हुने गर्छ। उपत्यकामा यात्राको समयमा सिटमा बस्नुप¥यो भने पनि युवा केटाहरू अन्तिममा, ज्येष्ठ नागरिक बीचमा र अगाडि महिला नै बस्ने गरेको पाइएको छ। उपत्यकामा सवारी साधन पर्याप्त मात्रामा नभए पनि महिला सिटमा गरिएको ट्राफिकको कडाइले गर्दा यो नियम उपलब्धिमूलक देखिएको छ।
यति मात्र नभई पुरुषहरूबाट महिलाहरूले असुरक्षित महसुस गरे भन्दै ट्राफिकले माइक्रोबसको महिला बस्ने भन्दा अगाडिको सिट पनि हटाएको थियो। यस्तो खालको नियमले उपत्यकावासीको सभ्यतालाई झल्काएको छ। जसरी यो सिट महिलाको लागि बनाइएको हो र हामी यो सिटमा बस्नु कुनै पनि हक छैन भन्ने खालको सोच र व्यवहारमा परिवर्तन आएको छ, त्यसरी नै अन्य कुरामा पनि यसरी नै नियम लागू भयो भने देशले अर्कै मोड लिनेछ।
जनताको यो व्यवहारले के देखाएको छ भने, देशको विकासका लागि सरकार परिवर्तन गरेर मात्र नभई जनताको सोच र व्यवहारमा परिवर्तन ल्याउनु जरुरी छ, जसले गर्दा देश विकासमा टेवा पुग्छ। त्यसै गरी सवारीसाधनमा ‘नो हर्न’ नियम कत्तिको उपलब्धिमूलक रहनेछ, हामी हेर्ने नै छौं।
– अमर शेर्पा, ग्वार्को, ललितपुर।
पैदल यात्रीका बारेमा फेरि सोचौं
धेरैजसो पैदल यात्री ट्राफिक प्रहरीले जरिबाना गर्न थालेपछि अनुशासित भइसकेका थिए। तर केही भने जहाँबाट मन लाग्यो त्यहीँबाट बाटो काट्ने, नजिकै जेब्राक्रसिङ भए पनि त्यसको वास्ता नगर्ने, ट्राफिक प्रहरी वा अन्य कसैले सम्झाउँदा पनि उल्टै गालीगलौज गरी नटेर्ने, ओभरहेड ब्रिजबाट नहिँडी सवारीसाधनको चाप भएको स्थानबाटै जबरजस्ती सडक काट्ने गरेको देखिन्छ। सरकारले २ सय रुपियाँ जरिबाना लगाएपछि त्यसमा कमी आएको थियो। यहाँ नजानेर भन्दा पनि जानी–जानी बुझेर बुझ पचाउनेले नियम उल्लंघन गरेका छन्।
फेरि जरिबानाको व्यवस्था गरेर पैदल यात्रीका लागि ट्राफिक व्यवस्थापन गर्न सरकारसँग अपिल गर्न चाहन्छु। मनपरि गर्ने अनुशासनहीन पैदल यात्रीलाई अनुशासनपूर्वक सडक पार गर्न सिकाउने एकमात्र विकल्पका रूपमा २ सय रुपियाँ जरिबाना वा ती अटेरी पैदल यात्रीलाई जनचेतना जगाउन र सिकाउन केही समय ट्राफिक प्रहरीको कक्षामा राखी छाड्ने व्यवस्था फेरि गर्न जरुरी छ। प्रहरीले पनि नीतिगतरूपमै कारबाहीको कुरा अगाडि बढाएमा पछि समस्या पर्दैन। यो विषयमा सम्बन्धित निकायको ध्यान जाओस्।
– रोशन राई, चितवन।

प्रतिक्रिया दिनुहोस्