बेलायतमा एनआरएनए अध्यक्ष पन्तलाई कालो झण्डा,आर्थिक अनियमितता छानबिनको माग



न्युज अफ नेपाल,युके ।

एनआरएन युकेको १५औं वार्षिकोत्सवमा आयोजना गरिएको कार्यक्रममा भाग लिन जर्मनीबाट बेलायत पुगेका गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तलाई कार्यक्रमस्थलमै कालो झण्डा देखाइएको छ।गैरआवासीय नेपालीहरूले एनआरएनएमा भाडभैला मच्चाएको तथा मनपरी नियुक्ति गरेको विरोधमा अध्यक्ष पन्तलाई कालोझण्डा देखाइएको हो।

एनआरएनका निर्वाचित पदाधिकारी, सल्लाहकार र संस्थापकहरुले पनि उक्त कार्यक्रम बहिस्कार गरेको थिए।विरोधका बीच आयोजित कार्यक्रममा पन्तले आयोजकले बोलाएर मात्रै आफू कार्यक्रममा आएको बताए। ‘धेरै साथीहरुले यहाँ नआउन भन्नु भएको थियो, तर एनसीसीले निम्ता गरे पछि म जान्छु भनेँ,’ पन्तले भने।

पन्तले आफू धेरै एनसीसीहरुमा पुग्ने गरेको भए पनि यो प्रकृतिको विरोध बेलायतमा मात्रै व्यहोर्नु परेको बताए।कार्यक्रम सुरु भएको केहीबेरमै एनआरएन युकेसँग आबद्ध केही महिला अभियन्ताहरुले ‘आर्थिक अनियमितताको छानबिन गर, कुमार पन्त फिर्ता जाउँ’ भन्दै कालो झण्डा देखाएका थिए। उनीहरुले लण्डनस्थित नेपाल दूताबासले विवादित कार्यक्रममा प्रतिनिधि पठाएकोमा आक्रोश व्यक्त गरेका थिए।

तर, शान्तिपूर्ण विरोध गरिरहेका ती महिलाहरुमाथि एनआरएन युकेका केही व्यक्तिहरुले हातपात र लछारपछार गरेका थिए।
एनआरएन युकेका निवर्तमान अध्यक्ष योगकुमार फगामीले नेतृत्व गरेको कार्यसमितिले करोडौं रकम घोटाला गरेको भन्दै विरोध भइरहेको छ। तर, एनआरएन युकेको नयाँ कार्य समितिले अझै छानबिन समिति समेत गठन गरेको छैन।

कार्यक्रममा बोल्दै एनआरएनएका महासचिव हेमराज शर्माले एनआरएनए अहिले २५ करोड घाटामा गएको दावी गरेका छन्। एनआरएनलाई क्यान्सर लागि सकेको छैन, बच्ने सम्भावना छ,’ उनले भने। शर्माले एनआरएनको केन्द्रीय भवन प्रकरणबारे एक समितिले अध्ययन गरी छिट्टै एउटा श्वेतपत्र प्रकाशित गरिने जानकारी पनि दिए।

एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङले संस्थाको विवाद संस्थाभित्रै छलफल गरिनु पर्ने बताइन्। तर, सिंगो कार्य समितिलाई बाइपास गरेर केन्द्रबाट मनोनित आइसीसी सदस्य रामशरण सिम्खडालाई आर्थिक कारोबार समेत गर्ने गरी किन कार्यक्रमको संयोजक बनाइयो भन्ने प्रश्नको उनले जवाफ दिइनन्।

एनआरएन युकेका चारजना उपाध्यक्ष तथा कोषाध्यक्षले बुधबार राति पत्रकार सम्मेलन गरी कार्यसमितिको अनुमोदन बिना नै सल्लाहकारहरु घोषणा गरिएको भन्दै विधान विपरित आयोजित कार्यक्रममा आफुहरु नजाने घोषणा गरेका थिए।

निर्वाचित उपाध्यक्षहरु प्रेम गाहामगर, नारायणदत्त कँडेल, रामचन्द्र पोखरेल, मोहन कार्की, कोषाध्यक्ष तेजेन्द्र रोकामगर लगायतलेकार्यक्रम बहिस्कार गरेका थिए।एनआरएन युकेका कोषाध्यक्ष तेजेन्द्र रोका मगरले उक्त विवादित कार्यक्रमको आय व्ययको छानबिन गरिने जनाएका छन्।

विश्वभरि कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला खादा र माला लगाउने एउटा औपचारिक कार्यक्रममा आएर अध्यक्ष पन्तले बेलायतस्थित नेपाली समाजलाई भाँड्न रातदिन सक्रियहरुलाई नै सघाएको भन्दै आलोचना भएको छ।

प्रतिक्रिया दिनुहोस्