दोस्रो आदिवासी जनजाति लमजुङ साँस्कृतिक एवं पर्यटन महोत्सव सुरु



शिक्षा पन्त, लमजुङ ।

लमजुङ सदरमुकाम बेसीशहरमा शुक्रबारदेखि दोस्रो आदिवासी जनजाति लमजुङ साँस्कृतिक एवं पर्यटन महोत्सव २०७६ सुरु भएको छ । मौलिक संस्कृति, भाषा र सम्यता हाम्रो पहिचान, एकता, समान अधिकार र आर्थिक समृद्धिको लागि पर्यटन’ भन्ने मुल नाराका महोत्सव आयोजना गरिएको हो ।

महोत्सव सुरु हुनु अगाडी बेसीशहर बजारको मनाङेचौतारादेखि पुरानो बैंक चोक, भीमसेनस्थान चोक, नारायणस्थान चोक, फुलबारी मञ्च, प्रशासन चोक हुदैँ महोत्सव स्थल दनाई फाँटमा झाँकीर्याली निकालिएको थियो । र्यालीमा गुरुङ, तामाङ, नेवार, चेपाङ, भुजेल, दुरालगायतका जातीले आआफ्नो भेषभुषा र बाजागाजाको साथमा सहभागि थिए ।

महोत्सव शुक्रबारबाट चैत २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशभर कोरोना भाइरसको त्रास फैलिएकाले मन्त्री परिषद्को बैठकबाट पनि कुनै मेला, महोत्सव नगर्ने निर्णय भएपनि जनजाति महोत्सवका तयारी तीब्र पारिएको र खर्च भएकाले नरोकेको बताउनुभयो ।

प्रदेशले क्वारेन्टाइन बनाउनका लागि नीतिगत निर्णय गरेर अघि बढेको उहाँले बताउनुभयो । अर्को प्रशंगमा मुख्यमन्त्री गुरुङले जनजाति महोत्सवमा लमजुङका ९ जातिको एकता सहकार्यले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । जनजातिको कला, संस्कृति, परम्पराको जगेर्नाका लागि समुदायसंगै स्थानीय सरकारको पनि उत्तिकै भुमिका रहने र कला संस्कृतिको संरक्षण र विकासबाट देशमा समृद्धि भित्र्याउन सकिने बताउनुभयो ।

नेपालमा बाहिरी देशका पर्यटक आउनुको कारण प्राकृतिक दृश्य मात्र नभई विभिन्न जातजातिको कला, संस्कृति, भेषभुषा रहेकोले यसको संरक्षणका लागि सरकार लागि परेको बताउनुभयो । गण्डकी प्रदेश सरकारले लोपन्मुख तथा विपन्न जातजातिको घरवासका लागि जनता आवास कार्यक्रम अन्र्तगत घर बनाएको मुख्यमन्त्री गुरुङको भनाई छ ।

कार्यक्रममा विभिन्न जनजाति समुदायले साँस्कृतिक प्रस्तुति राखेका थिए । नेपालमा कोराना भाइरसको हल्ला भएपनि यसको कुनै असर नदेखिएको र संक्रमण नहुने भएपछि महोत्सव सञ्चालन गरिएको मूल आयोजक समितिका संयोजक एवं आदिवासी जनजाति महासंघ लमजुङका अध्यक्ष हरिजंग तामाङको भनाई छ । महोत्सवमा गीत संगीतसँगै कोराना भाइरस बारे सचेतना दिने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ । महोत्सव स्थलमा १ सय ७५ वटा स्टल निर्माण गरिएका छन् ।

त्यस्तै ९ आदिवासी जनजातिका संग्रहालय, नमुना घर, स्टल निर्माण गरिएका छन् । महोत्सवमा शैक्षिक, विज्ञान तथा कृषि प्रदर्शनी, बाल उद्यान, बालमेला सूचना प्रविधि सम्बन्धी जानकारी तथा मेला, स्थानीय कलाकारको साथै राष्ट्रिय कलाकारको साथमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, आदिवासी जनजाति समुदायको दैनिक रुपमा फरक–फरक सांस्कृतिक प्रस्तृति राखिएको छ ।

महोत्सव अवधिभर मस्र्याङ्दी नदीको बेलौतीबिसौनादेखि झिंगोखोलाको दोभानसम्म र्याफ्टिङ, विभिन्न जातजातिको साँस्कृतिक घर, जातीय खाना तथा खाजा, आदिवासी जनजातिको जम्म–मृत्यु संस्कारमा चाहिने सामाग्री, जातीय पुस्तक, पोषाक, विभिन्न बाजागाजा, कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनी गरिने भएको छ ।

महोत्सव अवधिभर २ लाख पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको छ । २ करोड रुपियाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव स्थल प्रवेशको लागि सर्वसाधरणलाई ५० रुपियाँ साथै जेष्ठ नागरिक र विद्यार्थीलाई ३० रुपैयाँको टिकट राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्