भीमफेदी–कुलेखानी सुरुङमार्ग : आधा सकियो प्राविधिक अध्ययन



रोशन पराजुली,हेटौंडा ।

आर्थिकरुपमा देशलाई नै सकारात्मक प्रभाव पार्ने गरी बागमती प्रदेश सरकारले महत्वपूर्ण परियोजनाका रुपमा अघि बढाएको पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको प्राविधिक अध्ययन करिब ५० प्रतिशत सकिएको छ ।करिब डेढ महिनाभित्र सुरुङमार्गको डीपीआर तयार हुने जानकारी दिइएको छ ।

उक्त कार्यमा खटिएका भुगर्भशास्त्री ईश्वर दाहालका अनुसार टोपोग्राफिक सर्वे, जियोलोजिकल म्यापिङ सर्वे, ड्रोन सर्वे भइरहेको छ । जियोलोजिकल सर्वे केही दिनपछि सुरु हुने उहाँले बताउनुभयो । सुरुङमार्गको प्राविधिक अध्ययनका लागि हाल ४५ प्राविधिक कार्यस्थलमा खटिएका छन् ।

१० जनाले डिजाइनिङ, २० जनाले सोयल इन्भेष्टिगेसन, ५ जनाले टापोग्राफिक सर्वे, ५ जनाले जियोफिजिकल सर्वे र ५ जना ड्रोन सर्वे गर्ने काममा खटिएको भुगर्भशास्त्री दाहाल जानकारी दिनुभयो ।

उहाँले सबै प्राविधिक अध्ययन सक्न करिब ५० दिन लाग्ने भन्दै अध्ययन सकिएलगत्तै प्रदेश सरकारलाई डीपीआर बुझाइने बताउनुभयो । प्राविधिक टोलीले जमिनबाट ५० मिटरभित्र भर्टिकल सर्वे सकाएको छ । उक्त सर्वेले सुरुङ सुरक्षित हुने निश्चित भएको भुगर्भशास्त्री दाहालले दाबी गर्नुभयो ।

भीमफेदी–कुलेखानीसम्म ३ दशमलव २ सय १५ किलोमिटर सुरुङ निर्माण हुनेछ । करिब १५ अर्ब खर्च लाग्ने अनुमान गरिएको उक्त निर्माणका लागि केही दिनमा सुरुङ हुने क्षेत्रमा विकिरण पठाएर भुगोलको अबस्थाबारे जानकारी लिइने बताइएको छ ।यसअघि उक्त मार्ग नेपाल पूर्वाधार विकास कम्पनीले गर्ने भन्दै सरकारबाट स्वीकृति लिएको थियो ।

प्रदेशको गौरवको योजना भन्दै पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण परियोजना कार्यान्वयन गर्न बागमती प्रदेश सरकारले नेपाल पूर्वाधार विकास कम्पनीसँगको सम्झौता रद्ध गर्न संघीय सरकारलाई निर्णयसहित आग्रह गरिसकेको छ ।

उक्त स्थानको निर्माणस्थल पुगेर बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फँुयालले शुक्रबार स्थलगत निरीक्षण गर्नुभएको छ । प्रदेशको गौरवको योजना सुरुङमार्ग निर्माणमा भइरहेको कामबारेमा उहाँले सुरुङमार्गको दक्षिणी प्रवेशद्वार भीमफेदीको कोलडाँडा पुगेर प्राविधिक अध्ययनकर्ता टोलीसँग जानकारी लिनुभएको थियो ।

प्रदेश सरकारले २०७७ वैशाखभित्र सुरुङमार्गका लागि ग्लोबल टेण्डर आह्वान गर्ने गरी काम अगाडि बढाइएको भन्दै मन्त्री फुयाँलले सुरुङमार्ग बन्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।

प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा सुरुङमार्ग निर्माण गर्ने भएपछि कम्पनी संस्थापक अध्यक्ष कुशकुमार जोशी, निवर्तमान अध्यक्ष लालकृष्ण केसी र अध्यक्ष भवन भट्टको टोली हेटौंडा आउँदा मुख्यमन्त्री डोरमणि पौडेलले कम्पनीप्रति न सरकारको न त शेयर लगानीकर्ता कसैले विश्वास नरहेको भन्दै फर्काउनुभएको थियो । मुख्यमन्त्री पौडेलले नेपाल पूर्वाधार विकास कम्पनीले निर्माण गर्ने भनिएको सुरुङमार्ग निर्माण हुनेप्रति जनता विश्वस्त नभएको बताउनुभयो ।

निरीक्षणमा संविधानसभा सदस्य अनन्त पौडेल, जिल्ला विकास समिति पूर्वसभापति रामेश्वर राना, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालगायतको उपस्थिति थियो । भीमफेदी गाउँपालिका अध्यक्ष लामाले सुरुङमार्ग निर्माण गर्ने भन्दै नेपाल पूर्वाधार विकास कम्पनीले उठाएको रकमको हिसाब खोजिने बताउनुभएको छ ।

उक्त सुरुङमार्ग निर्माणकै लागि भनेर स्थापित नेपाल पूर्वाधार विकास कम्पनीलाई प्रदेश सरकारले खारेजीका लागि केन्द्रीय सरकारलाई पत्राचार गरेको छ । नेपाल पूर्वाधारले पावर चाइनाबीच भएको सम्झौतापत्र भौतिक योजना तथा यातायात मन्त्रालय र प्रदेश सरकारसमक्ष पेश गरिसकेको छ ।

जबकि, प्रदेश सरकारले निजी क्षेत्रले निर्माण गर्न नसकेको भन्दै सम्झौता खारेज गर्न केन्द्रीय सरकारलाई पत्राचार गरेको थियो । प्रदेश सरकारले सम्झौता खारेजीका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्र पठाएको हो ।

नेपाल पूर्वाधार विकास कम्पनी २०६८ भदौ २० गते स्थापना भएको थियो । कम्पनीमा १ सय ५९ जना संस्थापक शेयरधनी छन् । कम्पनीले २०६९ जेठ १ गते सरकारसँग प्रारम्भिक परियोजना सम्झौता गरी अनुसन्धान कार्यारम्भ गरेको थियो । कम्पनीले २०६९ माघ २४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।

कम्पनीले २०७० जेठ १ गते नेपाल सरकारबाट सुरुङमार्ग निर्माणको अन्तिम स्वीकृति पायो । निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) ऐनअन्तर्गत् सरकारले पूर्वाधार विकास कम्पनीलाई परियोजना सुम्पेको थियो । कम्पनीले निर्माणपश्चात् ३० वर्षसम्म सञ्चालन गरेर सुरुङमार्गको स्वामित्व सरकारलाई फिर्ता गर्नुपर्ने सम्झौतामा छ ।

ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, इन्द्रसरोवर, भीमफेदी गाउँपालिका हुँदै हेटौंडा उपमहानगरपालिकामा सुरुङमार्ग जोडिने छ ।

५० मिटरको राइट अफ वे हुने सडक ४ लेनको हुनेछ । २६ वटा पुल, ४ किलोमिटरको सुरुङ रहने सडकले १०८ हेक्टर बन र ९० हेक्टर निजी जमिन तथा बागमती किनारका ७ वटा दाहसंस्कारस्थल प्रभावित हुने र तीन स्थानमा सुरुङ निर्माण गरिनेछ ।

निर्माणकर्ता नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले शुभसाइत ठहरिएको दिन भन्दै सुरुङमार्ग निर्माणका लागि २०७० मंसिर १५ गते भूबराह पूजा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्