कोरोना भाइरस सम्वन्धि बृहत जनचेतना अभियान सञ्चालनमा जुट्यो काठमाडौँ महानगरपालिका

गलत सूचनाले कोरोनाबारे बढी संन्त्रास फैलियो : मेयर शाक्य



न्युज अफ नेपाल,  काठमाडौँ ।

चीनबाट सुरु भएको कोरोना भाइरस ( काेभिड–१९)को संन्त्रास विश्वभरी फैलिरहेका बेला नेपालमा पनि त्यसको संन्त्रास बढेको छ । उक्त भाइरसलाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका गलत सूचना प्रवाहित गर्दा अझ बढी संन्त्रास फैलिरहेका बेला काठमाडौँ महानगरपालिकाले बृहत जनचेतना मुलक कार्यक्रम गर्ने भएको छ ।

आज राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाले नै आयोजना गरेको कोरोना र डेंगे रोगको महामारी संवन्धि बृहत जनचेतना कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ३२ वटै वडामा जनचेतना मुलुक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । ‘कोरोना रोगको महामारीबाट डराउने भन्दा पनि त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेतिर बढी ध्यान दिन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल र केही मिडियामा आएका अनावश्यक हल्लाले बढी संन्त्रास फैलिएको छ । सहि सूचना प्रवाह हुन नसक्दा आम नगरिकमा डर पैदा भएको छ ।’

मेयर शाक्यले महानगरपालिकाले ३२ वटै वडामा अब जनचेतना मुलुक अभियान सञ्चालनको सुरुवात गरेको जानकारी दिदैँ सबै मिलेर यस्ता महामारीबाट कसरी बच्ने र व्यवस्थापन गर्ने भन्नेमा लाग्नु पर्नेमा जोड दिनुभयो । ‘बनको बाघ होइन अहिले कागजको बाघले खाला भन्ने डरले बढी समस्या भएको छ,’ उहाँले भन्नुभयो, ‘कोरोनाकै संन्त्रास बढाएर अहिले कालोबजारी समेत बढ्न थालेको छ । यसको नियन्त्रण जरुरी छ ।’

मेयर शाक्यले गर्मी बढ्दै गएपछि अब विस्तारै डेंगेको समेत महामारी बढ्न सक्ने भन्दै त्यसमा पनि सचेत रहन आग्रह गर्नुभयो । ‘राज्यले दिएका आधिकारिक सूचनालाई मात्रै तपाईँहरुले आधार मान्नुहोला,’ उहाँले भन्नुभयो, ‘महानगरपालिका भित्रका कुनै नागरिक यदि यस्ता रोगबाट संक्रमित भए भने उपचार गर्ने दायित्व हाम्रो हो । हामी निरन्तर प्रयासमा लाग्ने छौँ ।

तर, महामारी फैलियो भने नियन्त्रण बाहिर पनि जान सक्छ । त्यस्तो बेलामा समस्या हुन्छ । त्यसैले यस्तो महामारी आउनै नदिनका लागि हामी सबै सचेत भएर व्यवस्थापनमा लाग्नुपर्छ ।’ मेयर शाक्यले ३२ वटै वडाका जनप्रतिनिधि र स्वयसेविकालाई घर–घरमा पुगेर जनचेतनामुलुक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको भन्दै सबै नागरिकलाई डरले होइन आरामले बस्न र त्यस्ता महामारीबाट बच्ने उपायबारे जानकार रहनु आग्रह गर्नुभयो । काठमाडौँ महानगरपालिका सहरी स्वास्थ्य महाशाखाले यस्तो जनचेतना मुलुक कार्यक्रमको थालनी वडा १५ बाट सुरुवात गरिसकेको जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि सहरी स्वास्थ्य क्लीनिकले दिने सेवालाई थप विस्तार गर्दै थप सेवा दिने कुरामा महानगरपालिका लागि पर्ने बताउनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सरकारले उच्च सतर्कता देखाएको भन्दै अहिले नै आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो ।

‘तर, केही छैन भनेर ढुक्क बस्ने होइन, सकेसम्म त्यो महामारीलाई आउनै नदिने गरी आम नागरिकले सतर्कता अपनाउन आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘हामीले पहिला पनि नाकावन्दी भोगेका छौँ । अब कोरोनाका कारण नाकाबन्दी भयो भने हामी जस्तो परनिर्भर मुलुकका लागि त्यो भयावह हुनेछ ।’ उहाँले अहिले महामारीलाई कारण देखाएर कालोबजारी समेत सूरु भएको भन्दै त्यो दुःखद भएको बताउनुभयो । ‘हामी सबै सजग बनौँ,’ उहाँले भन्नुभयो ।

त्यसैगरी इपिडेमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले अहिलेसम्म ५ सय जनाको र्याल परिक्षण गर्दा एक जनाको पोजेटिभ देखिएको र ती विरामी समेत अहिले ठिक भएको भन्दै अहिले नै आत्ति हाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो । ‘यो रोग लागेका १ सय मा ३ जनाको मात्रै मृत्यु भएको तथ्याङ्क छ,’ उहाँले भन्नुभयो, ‘त्यसमा पनि बृद्धबृद्धा रोग प्रतिरोधात्मक क्षमता कम भएका र गर्भवतीमा बढी समस्या देखिएको छ ।’

इपिडेमियोलोजि तथा रोग नियन्त्रण महाशाखाकै डाक्टर प्रकाश शाहले गर्मी मौसम आउँदै गरेको भन्दै अब डेंगेको महामारी फैलिन सक्ने भन्दै त्यसमा सजक हुन आग्रह गर्नुभयो । उहाँले लामखुट्टेले पारेका अण्डाका कारण सो रोग फैलिने भन्दै अण्डा पार्ने ठाउँ नष्ट गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने र एक पटकमा पचासौँ अण्डा पार्ने भएकाले त्यस्ता ठाउँ नष्ट गर्नुपर्नेमा जोड दिनुभयो

प्रतिक्रिया दिनुहोस्