मकवानपुरको बिकट गाउँमा विश्व सुन्दरी



रोशन पराजुली,हेटौंडा ।

विश्व सुन्दरीको ताज पहिरिएकी महिला आफ्नो बिरानो गाउँमा आउलिन् भन्ने कल्पनै नगरेका मकवानपुरको बिकट कैलाश गाउँपालिकाका स्थानीय शुक्रबार गाउँमै विश्व सुन्दरी देख्दा दंग परे ।

वडा–७ को बिकट वस्ती तामलाङ गाउँमा मिस वल्र्ड २०१९ सहितको टोली पुगेको हो ।कैलाश गाउँपालिकाले मिस वल्र्ड टोनी एन सिंह र मिस वल्र्डकी अध्यक्ष जुलिया मोर्लेलाई चिनोस्वरुप मकवानपुर चिनाउने ठेकी उपहार प्रदान गरेको थियो ।

जमैकामा सन् १९९६ फेब्रुअरी १ मा जन्मिएकी टोनी ९ वर्षकी हुँदा उनका आमाबुबा अमेरिकाको फ्लोरिडामा बसाईं सरेका थिए । उनको बाल्यकाल र स्कुल कलेजको पढाइ अमेरिकामै भएको हो ।

वुमेन स्टडी र साइकोलोजीमा फ्लोरिडा स्टेट युनिभर्सिटीमा मास्टर डिग्री गरेकी टोनी सामाजिक कार्यमा पनि आवद्ध छिन् । उनी सन् २०१९ मै मिस वल्र्डसँगै मिस जमैका वल्र्ड– २०१९ की विजेता पनि हुन् ।

तामलाङस्थित ङिको स्वास्थ्यचौकी अवलोकनका लागि मकवानपुरकी चेली मिस नेपाल–२०१८ श्रृंखला खतिवडा, मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठ र मिस नेपालका आयोजकहरु गाउँ पुगेका थिए । अतिथिहरु तामलाङ पुग्दा कैलाश गाउँपालिका तथा स्थानीयले गरेको स्वागत हेर्नलायक थियो ।

तामलाङमा ङिको स्वास्थ्यचौकी निर्माण मिस नेपाल–२०१८ विजेता खतिवडाले गरेकी हुन् । मिस वल्र्ड च्याम्पियनमा नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी खतिवडाले ब्युटी विथ पर्पोज विधा जित्न सफल भएको स्वास्थ्यचौकी मिस वल्र्डका आयोजकलाई अवलोकन गराइएको थियो ।

मिस नेपाल–२०१८ श्रृंखलाको पहलमा मकवानपुरको बिकट कैलाश गाउँपालिका ताम्लाङमा स्वास्थ्यचौकी निर्माण भएको हो । मिस वल्र्ड प्रतिस्पर्धाका लागि ब्युटी विथ पर्पोजका रुपमा मिस वल्र्डमा प्रभावशाली प्रस्तुति दिएकी श्रृंखलाले स्वास्थ्यचौकी निर्माण गरेकी थिइन् ।
टोलीले मिस वल्र्डमा ब्युटी विथ पर्पोज जितेको भिडियोमा देखाइएको मकवानपुर भ्रमण गरेको हो ।

करिब ५५ लाख लागतमा निर्माण भएको स्वास्थ्यचौकीको मंसिर ६ गते बागमती प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपालले उद्घाटन गरेका थिए ।स्वाथ्यचौकी अवलोकनपछि मिस वल्र्ड अध्यक्ष मोर्लेले बर्थिङ सेन्टर चलाउन आर्थिक सहयोगको प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा बागमती प्रदेश सांसद् मुनु सिग्देल, संविधानसभा सदस्य गोबिन्दराम चेपाङ, हेटौंडा उपमहानगर उपमेयर मीनाकुमारी लामा, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, उपाध्यक्ष सुकुमाया थिङ, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्टलगायत जनप्रतिनिधिको सहभागिता थियो ।

मिस वल्र्ड २०१९ विजेता सिंह बिहीबार नेपाल आएकी हुन् । सँस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा नेपाल आएकी सिंहसँग मिस वल्र्ड आयोजक अध्यक्ष मार्ले र निर्देशक स्टिभ डग्लससमेत नेपाल आएका हुन् ।

जनवरीमा मिस नेपाल आयोजक हिडेन ट्रेजरले मोर्ले र मिस वल्र्ड विजेतालाई उसको २५ औं वार्षिकोत्सवमा निमन्त्रणा गरेको थियो । सोही निमन्त्रणा मान्न उनीहरु नेपाल आएका हुन् ।

दुई संस्थाबीच २३ वर्षदेखिको सुमधुर सम्बन्ध रहँदै आएकोमा हाल आएर पहिलोपटक मिस वल्र्ड अर्गनाइजेसन अध्यक्ष तथा मिस वल्र्डले नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणको क्रममा मिस वल्र्ड अर्गनाइजेसन समूहले नेपालले मिस वल्र्ड प्रतियोगिता आयोजना गर्ने सम्भावनालाई ध्यान दिनेछ ।

मिस वल्र्ड टोनी हेलम्बु पनि जाने कार्यक्रम छ । उनले हेलम्बुमा ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोर्सिङ गाउँको भ्रमण गर्नेछिन् । सोर्सिङ गाउँ मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको व्युटी विथ पर्पोज प्रोजेक्टका लागि छानिएको गाउँ हो । मिस वल्र्ड–२०१९ मा मिस नेपाल अनुष्काले व्युटी विथ पर्पाेज उपाधि जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्