कोरोनाको असर अर्थतन्त्रमा



विश्वलाई नै हल्लाउने गरी संसारभर फैलँदै गएको कोरोना भाइरसको संक्रमणका कारण मानव जीवनमा गम्भीर संकट उत्पन्न गराउन थालेको छ । तीव्ररूपमा विश्वभर फैलँदै गएको उक्त भाइरसले गरिब मुलुकमात्र होइन धनी मुलुक बढी प्रताडित हुन थालेका छन् । चीनको उहानबाट शुरू भएको सो भाइरसले अहिले संसारलाई नै त्रासमा बाँच्न बाध्य बनाइदिएको छ ।
रोग नियन्त्रणका लागि संसारभरका वैज्ञानिकहरूले हरसम्भव गरेको प्रयास पनि असफल हुँदै गएको छ । अहिलेसम्म यसको औषधि पत्ता लाग्न नसकेका कारण मानिसमा एक प्रकारका त्रासले बास गरेको पाइन्छ । अहिले यो रोग नियन्त्रणका लागि जनचेतना फैलाउँदै यसको रोकथाममा लाग्नुपर्ने देखिन्छ । छिमेकी मुलुक चीनबाट फैलिएको यो रोगको उच्च जोखिम नेपाल भएको भन्दै अहिले सरकारले हर तरहका प्रयास अपनाउन जनतालाई आग्रह गर्दै आएको छ । खास गरी राजधानी उपत्यकामा यो रोगको संक्रमण फैलियो भने नियन्त्रण गर्न निकै कठिन हुने देखिन्छ ।
राजधानीमा हुने भीडलाई नियन्त्रण गर्न राज्यलाई सजिलो अवस्था छैन । सानो ठाउँ घनाबस्ती र सवारीसाधनभन्दा पनि पैदलै हिँडेर आफ्नो काम फत्ते गर्ने उपत्यकाबासीका लागि यो रोगको जोखिम अझै बढी देखिन्छ । रोग नियन्त्रण गर्न सरकार सक्षम नभएको भन्दै चोक–चोकमा बसेर कुरा काट्ने नेपालीले यस रोग रोकथामका लागि अपनाउनुपर्ने जनचेतना फैलाउनेतर्फ आफूलाई लैजानु उत्तम देखिन्छ । अहिले देखिएको संक्रमणका कारण दुई ठूला मुलुकले अवलम्बन गरेका नीतिले नेपाल भने चेपुवामा पर्ने देखिन्छ । नेपाल हरेक चिजमा भारत र चीनसँग आत्मनिर्भर हँुदै आएको छ । अब यी दुई मुलुकले आयात–निर्यातमा प्रतिबन्ध लगाइदिए भने नेपाली भोकै बस्नुपर्ने अवस्था छ । अहिले मुलुकमा दैनिक प्रयोगका सामानहरू भेटिन छाडेको छ भने अभाव हुने डरले जनताले पनि चाहिनेभन्दा बढी सामान उठाउन थालेका छन् । एकतर्फ कोरोनाको संक्रमणको डर कायमै छ भने अर्कोतर्फ दैनिक उपभोग्य सामान नै नपाइने पो हो कि भन्ने चिन्तामा नेपाली पर्न थालेका छन् ।
यसले नेपालको अर्थतन्त्रमा समेत गम्भीर असर पार्ने देखिन्छ ।
नेपालको प्रमुख आयस्रोत भनेकै विदेशमा बस्ने नेपालीले पठाउने रेमिट्यान्स नै हो । अहिले विश्व बजारमा ठूल्ठूला कलकारखाना धमाधम बन्द हँुदै गएका छन् । यसको असर कामको खोजीमा विदेश जाने नेपाली प्रभावित हुने अवस्था सिर्जना भएको छ । त्यस कारण पनि राज्यले यस्ता खाले संक्रमण फैलन नदिन र अर्थतन्त्रलाई मजबुत बनाइराख्न आफ्ना गतिविधिलाई चलायमान बनाउनुको विकल्प छैन । यो रोग नेपाल भित्रियो भने नेपालको काबुभन्दा बाहिर जान सक्छ यसमा सबै सचेत रहनुको विकल्प छैन ।

 

प्रतिक्रिया दिनुहोस्