मानव सेवामा बाग्लुङका कलाकारको सांगीतिक साँझ



बाग्लुङ, (नेस)।

बाग्लुङको गलकोटका ५ जना कलाकारले मानव सेवाका लागि गीत गाएका छन्। सधैं पारिश्रमिक लिएर गीत गाउने कलाकारहरूले योपटक भने काठमाडौंबाट बाग्लुङसम्म आएर मानव सेवाका लागि निःशुल्क गीत गाएका हुन्।
गलकोट युवा गु्रप बाग्लुङले मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरेको सांगीतिक साँझमा बाग्लुङको गलकोटमा जन्मिएका लोकदोहोरी गायक विष्णु खत्री, थानेश्वर गौतम, वसन्त थापा, श्रीकृष्ण बम मल्ल, लक्ष्मी मल्ल र ईश्वर सिंहले गीत गाएर दर्शकलाई खुब नचाए। सांगीतिक साँझमा कलाकारले गीतमात्र प्रस्तुत गरेनन्, नाटक पनि देखाए। मानवताको प्रवद्र्धनका लागि मानव सेवा समाजका अभियान्ताहरूले निर्माण गरेको नाटकले सांगीतिक साँझमा झुम्न र नाच्नका लागि पुगेका दर्शक भावुक बने।
सबैका लागि खाना, छाना र नाना हाम्रो चाहना भन्ने नाराका साथ आयोजना गरिएको सांगीतिक साँझमा उल्लेख्य संख्यामा दर्शकको उपस्थिति रहेको थियो। सांगीतिक साँझमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले व्यक्तिगतरूपमा मानव सेवा आश्रमलाई १ लाख १ हजार रुपियाँ हस्तान्तरण गरेका थिए। त्यस्तै टिकट बिक्रीबाट संकलन भएको २ लाख रुपियाँ आयोजक गलकोट युवा ग्रुपले आश्रमलाई हस्तान्तरण गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्