‘स्वास्थ्यका नक्षत्र डा. दीर्घसिंह बम’ विमोचित



नेपाल समाचारपत्र, काठमाडौं

स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यले आफ्नो जीवनको अन्त्यमा चलचित्र ‘चोट’ का लागि गाएको बहुचर्चित गीत ‘विरही माया अधुरो र≈यो बिर्सनु कसरी, तड्पाई दिन्छ जलाई दिन्छ, याद आउँछ बेसरी’ का रचनाकार डा. दीर्घसिंह बमलाई अबदेखि उनकै जीवनीमा आधारित पुस्तक ‘स्वास्थ्यका नक्षत्र डा. दीर्घसिंह बम’ मा पढ्न पाइने भएको छ।

सुदूरपश्चिमको डोटी जिल्लाको जमरसल्ली, बोगटानमा २००८ सालमा जन्मेका डा. दीर्घसिंह बम नेपालको स्वास्थ्य क्षेत्रका नक्षत्र मात्रै नभई नेपालको क्षयरोग नियन्त्रण कार्यक्रमलाई सफल स्वास्थ्यको कार्यक्रमका रूपमा विश्वभरि चिनाउने एकमात्र नेपाली क्षयरोग विज्ञ हुन्।

नेपालमा क्षयरोगको उपचार, रोकथाम र नियन्त्रणको क्षेत्रमा उल्लेखनीय योगदान गरेका डा. बमले क्षयरोगीका लागि प्रतिपादन गरेको प्रत्यक्ष निगरानीमा गरिने उपचार विधि ‘डट्स’ नेपालमा मात्रै नभई विदेशमा समेत कार्यान्वयन गरिएको थियो, जसबाट प्रति १ सयमा ८५ जनाको क्षयरोग निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको थियो। यसै नतिजाको मूल्यांकन गरी डा. बमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्बाट थुप्रै पुरस्कार प्रदान गरेको थियो।

जन्मेहुर्केको ठाउँमा कखरा सिक्न पनि धौ–धौ भएकाले जीवनको पूर्वाद्र्ध संघर्ष गरी आफ्नो उच्च शिक्षा सकेका उनले तत्कालीन सोभियत संघबाट मेडिकल डाक्टर उत्तीर्ण गरी नेपाल फर्केका थिए।

एमबीबीएस सकेपछि केन्द्रीय उर—चिकित्सालय र नेपाल क्षयरोग निवारण संस्थाको साथै राष्ट्रिय क्षयरोग केन्द्र र सार्क क्षयरोग केन्द्र ठिमीमा ११ वर्ष प्रमुख भएर काम गरेका उनी नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको कायम मुकायम सचिवसम्म पुगेका थिए।

डा. बम चर्चित गीतकार, समाजसेवी, कोमल हृदयवाला मानवतावादी चिकित्सक भएको कुरा उनको नाउँमा प्रकाशित गरी बुधबार सार्वजनिक गरिएको पुस्तक ‘स्वास्थ्यका नक्षत्र डा. दीर्घसिंह बम’ मा उल्लेख गरिएको छ।

घोस्ट राइटिङ तथा जनविचार पब्लिकेसन एन्ड रिसर्च सेन्टरद्वारा प्रकाशित ४ सय ८० पृष्ठ लामो उक्त पुस्तक पूर्वप्रधानमन्त्री एवं वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दले बुधबार एक समारोहका बीच विमोचन गरे। पूर्वप्रधानमन्त्री चन्दले यसअघि २०६२ पुस १० गते डा. बमको पहिलो गीतिएल्बम ‘विरही माया’ लोकार्पण गरेका थिए।

२०५४ सालको मदन पुरस्कार विजेता ‘विसर्जन’ कृतिका लेखकसमेत रहेका वरिष्ठ साहित्यकार चन्दले डा. बम नेपालको स्वास्थ्य क्षेत्रका नक्षत्र मात्रै नभई सुदूरपश्चिम क्षेत्रको बहुमूल्य सम्पत्ति भएको उल्लेख गरे।

कार्यक्रममा चन्दका साथै उद्योग तथा वाणिज्यमन्त्री लेखराज भट्ट, पूर्वप्रधानन्यायाधीश हरिप्रसाद शर्मा, वरिष्ठ पत्रकार टंक पन्तलगायतले डा. बमको १४औं गीतिएल्बम ‘दुनियाँ’ सार्वजनिकसमेत गरे।

त्यस अवसरमा घोस्ट राइटिङको तर्फबाट डा. बमलाई अभिनन्दन गरिएको थियो।

उद्योग तथा वाणिज्यमन्त्री लेखराज भट्टले द्वन्द्वकालमा डा. बमले थुप्रै जनमुक्ति सेनाको उपचार गरेको बताउँदै डा. बम एक कल्याणकारी चिकित्सक भएको बताए भने पूर्वप्रधानन्यायाधीश हरिप्रसाद शर्मा, पुस्तकका समीक्षक पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरा, घोस्ट राइटिङका अध्यक्ष कमल ढकाल, वरिष्ठ पत्रकार टंक पन्त तथा जनविचार पब्लिकेसन एन्ड रिसर्च सेन्टरका अध्यक्ष गोविन्दप्रसाद दुलालले प्रकाशित पुस्तक देश विकासमा खटिने युवा पुस्ताका लागि एक मार्गदर्शक हुने विचार व्यक्त गरे। वरिष्ठ संगीतकार मनराजा नकर्मीले गीतिएल्बम दुनियाँका बारेमा बताएका थिए।

कार्यक्रममा डा. बमद्वारा रचित ‘दुनियाँ’ एल्बमको गीत–संगीता थापा शाक्य र सुलिन्द्र शाक्यले गाएका थिए। पुस्तक तथा गीति एल्बम विमोचन कार्यक्रममा पूर्वमन्त्रीहरू, पूर्वसचिवहरू, नेपाल सरकारका वर्तमान र पूर्वअधिकारीहरू, विदेशी कूटनैतिक नियोगका प्रमुखहरू, स्वास्थ्यसम्बन्धी काम गर्दै आएका नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र राष्ट्रिय गैरसरकारी संस्थाका पदाधिकारीहरू, वरिष्ठ पत्रकारलगायतको ठूलो संख्यामा सहभागिता थियो।

 

प्रतिक्रिया दिनुहोस्