भीरकै छेउ पुगेपछि…



विपीन खनाल

हामीहरू एक–अर्काबिना बाँच्नै नसक्ने भइसकेका थियौं। एक पल नदेख्दा पनि यो मन साह्र्रै डराउँथ्यो। तर, यो खुसी त केही क्षणका लागि मात्र त रहेछ। भनौं खुसी पाहुनाजस्तै हुँदोरहेछ।

मानिसहरू भन्छन् नि!  बिहेपछि त परिवर्तन हुन्छ रे मान्छे। तर, हाम्रो दाम्पत्यजीवनमा ‘रे’ कुन चराको नाम हो केही थाहा थिएन। एकदमै खुसी थियौं हामी हाम्रो जीवनदेखि। म सधैंझैं काम भ्याइवरी घर फर्किन्थें। प्यारी बूढी घरकै धन्दा गर्थिन्। मीठो खाना बनाएर माया पस्किन्थिन्। मलाई उनी असाध्यै राम्री लाग्थो, कसलाई पो राम्रो नलाग्ला र आफ्नी बूढी। झन् यति धेरै ‘केयर’ गर्ने बूढी।

एक दिनको कुरा हो। समय त आफ्नै गतिमा दुगुरिरहेको थियो। सदाझैं घर पुगें। तर, उनी पहिलेझैं ढोकाछेउ पर्खेर बसेकी थिइनन् मलाई। मनमा चिसो पस्यो : उनी बिरामी त परिनन्। उनी बिरामी हुँदामात्रै खाना पाक्थेन, नत्र जहिल्यै पाक्थ्यो। भान्सा छिरें। एक गिलास पानी पिएर कोठा गएँ। अहँ ! कतै देखिन उनलाई। उकुसमुकुस भो। फोन गर्दा टेलिकमकी बहिनीले आउट अफ रिच भनिन्।

डर लागेर आयो। अहिलेसम्म यसरी हराएकी थिइनन्। रातिमा बाहिर गएको अहिलेसम्म थाहा थिएन। एक्कासी आँखा रसाए। आफैंलाई सम्हाल्न सकिनँ। पुनः फोन लगाएँ। टेलिकमकी बहिनीले मोबाइल बन्द भएको जनाऊ दिइन्। अलिकति अगाडि बढेर नजिकैको फोनडायरी खोलें। इष्टमित्र, साथी र आफन्त जसलाई सोधे पनि पत्तो लागेन। झनै पीडा थपियो।

ऊ मसँग खुसी हुन सकिन त के भो ? खुसीका लागि जहाँ गई गई, अबको कर्मको फल ऊ आफैंले बेहोर्नेछे। मेरो बाँकी जीवन आफैं खुसीसाथ बिताउन कम्तीमा त म स्वतन्त्र भए नि !

हड्बडाहटमा यताउता गर्दागर्दै भुइँमा बजारिएँ। ऐया! भनेर उठ्दै थिएँ, अचानक कागजको खोस्टामा आँखा प¥यो। नलडेको भए त्यो कागज देख्थिनँ सायद। रातो टल्किने मसीले लेखिएको थियो। किनकि मलाई रातो टल्किने मसीले लेख्न साह्रै मनपर्ने कुरा उनलाई थाहा थियो। कागज समातेर विस्तारै उठें। उनैको पत्र थियो। पढ्दापढ्दै अश्रुधारा बग्यो। भर्खरै भुइँबाट उठे पनि फेरि छाँगाबाट खसेजस्तो भयो। रातो टल्कने मसी मन परे पनि आज त्यही मसीका सबै शब्द घाउमा नुन छर्केझैं भइरहेको थियो।

लेखिएको थियो– ‘हजुरलाई छोडेर अन्तै जाँदै छु, मलाई खोज्ने प्रयास नगर्नुहोला। अब हजुरसँग बस्न सक्दिनँ। भुलिदिनुस् हजुर मलाई।’
पुराना दिनहरू वर्तमान बनेर आउन थाले। त्यो कसम, त्यो दोहोरो माया, त्यो हाँसो, साथसाथ रहँदाको पल, मैले हरेस खाँदा उनले दिएको ढाडस आदि आदि यादले चिमोट्न थाल्यो।

दिमाग चच्कराइरह्यो। त्यही बेला मनमा चिसो नपसेको त होइन। बेलुका आइपुग्दा खाना तयार नै हुन्थ्यो टेबुलमा। तर, पहिलेझैं सँगसँगै बसेर खान छाडिसकेकी थिई। उसको व्यवहार देख्दा मन कटक्क नखाएको त होइन। बोलाउन पनि बाहाना गर्नुपर्दथ्यो। के भो भनेर सोध्न खोज्दा वाक्य फुट्थेन किनकि मलाई ऊप्रति अटल विश्वास थियो। मायाप्रेमका कुरा जति गरे पनि निकै नै परिवर्तन भइसकेकी थिई। भुइँमा सुत्थी एक्लै।

मोरोले दाइ ! भाउजूको हातको एक कप चिया त ख्वाउनुपर्छ नि! भनेर हैरान गरेकोग¥यै गरेकाले केही समय पहिले कार्यालयबाट साथीलाई आफ्नो घर ल्याएको थिएँ। एकाएक त्यो दुष्टलाई ल्याएको दिन सम्झिन थालें। त्यो पाजी त्यसपछि अनेकौं बाहाना बनाएर आइरहन्थ्यो। प्यारी भनेकीले विश्वासघात गर्ली कि भन्ने आशंका नलागेको होइन। जति नै फ्यान्क भए पनि पहिलोपटक कसैकोमा पुग्दा अप्ठ्यारै महसुस हुन्छ सबैलाई।

तर, उनीहरू त त्यसै दिन ठट्टालु बनेको मेरै आँखाले देखेको थियो। फुर्सद हुँदा सधैं फोन गथें। पछि–पछि त फोनै उठाउँथिनन्। फोन नउठेपछि खानै मन लाग्थेन। रिसको ज्वाला नदन्किएको होइन। सम्झाउने हजारौं कोशिस गर्थें। हात चैं उठाएको थिइनँ। सम्हालिन्थें नराम्रो सन्देश जाला भनेर। उसैले हजुरले नै ल्याएको त हो नि भनेर ठाडो जवाफ दिन्थी। ऊप्रति विश्वास पनि त थियो फेरि। जीवनभर सँगै बाँच्ने सँगै मर्ने कसम खाएका थियौं नि! भाइ ठानेर ल्याएकाको चाला मन नपरेपछि अनेक पापड बेलेर आउन बन्देज लगाएको थिएँ।

उसको अगाडि केही भन्न सक्थिनँ आफ्नी भन्नेलाई। ‘घृणा’ शब्दै उच्चारण गर्न मन लाग्थेन÷लाग्दैन किनकि म उसलाई मुटुबाटै माया गथें। खासमा उसकै लागि बाँचेको थिएँ। तर, के लाग्दोरहेछ र, अरूण थापाले गाए जस्तै:

जति माया लाए पनि
जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा
आँखा तरी गएपछि
मनमा पीर त पर्ने नै भयो
यो मन त त्यसै मर्ने नै भयो …!

कसका लागि बाँचु अब। जोइटिङ्ग्रे भन्लान् थाहा पाउनेले। कतिलाई त पुरुषको मनै हुँदैन, यो सबै नौटंकी हो भन्ने लाग्दो हो। यसले कुल्चिएर गएका सारा सपनालाई सम्झन पनि मन छैन। मैले के गल्ती गरें कुन्नि ! मजबुरी मेरो बाध्यता हो। मैले समय दिन सकिन होला चाहे जति। तर, सँगै बाँच्ने÷मर्ने कसम खाएको खसमले दिएको यो धोका। भुलाऔं कसरी आफूलाई ? उससँग बदला लिने मन पनि छैन। अझै लाग्छ माया उसको। ऊ खुसी होस् मलाई रुवाएर। ऊ अजर अमर होस् मलाई जिउँदै मारेर। दोषी त म नै हुँ, नरम हुनु। विश्वासी हुनु। जे गर्नु छ भगवान्ले गर्नुहुन्छ अब। न्याय–अन्यायको फैसला उनै भगवान्लाई छाडेर लम्कन्छु घरनजिकैकै ठूलो ठाडे भीरतिर।

पीरलाई पार लगाउन भीरको साहरा लिन फाल हान्न खोज्दै थिएँ। हैट ! एक्कासी आकाशवाणी भयो– धत् लाछी ! जीवन अझै बाँकी छ। एउटा कालखण्ड हो यो जिन्दगीको, सिकाइ हो सङ्घर्षको। फालहान्न उठिसकेको गोडा टक्क अडियो अनि म झसंग भएँ। अनि दिमागमा शब्दहरूको रिले दौड चल्न थाल्यो। दिमागले १ सय ८० डिग्रीको फन्को मार्यो। हो त ऊ मसँग खुसी हुन सकिन त के भो ? खुसीका लागि जहाँ गई गई, अबको कर्मको फल ऊ आफैंले बेहोर्नेछे। मेरो बाँकी जीवन आफैं खुसीसाथ बिताउन कम्तीमा त म स्वतन्त्र भए नि ! आकाशवाणी रोकियो म पनि रोकिएर फरक्क फर्किएँ।

प्रतिक्रिया दिनुहोस्