माईभ्याली फाइनलमा



गणेश घिमिरे, इलाम

त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै आयोजक माईभ्याली फुटबल क्लब जारी खेलको फाइनलमा प्रवेश गरेको छ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा निर्धारित र थपिएको समयमा दुवै टिमबाट १/१ गोलको बराबरी खेलेपछि नतिजा टाइब्रेकरबाट लिनुपरेको हो।

टाइब्रेकरमा पनि बराबरी गोल भएपछि जितको निर्णय सडन डेथमा गरिएको हो। जसमा आयोजक भाग्यमानी बन्दै पहिलोपटक घरेलु मैदानमा उपाधि होडमा प्रवेश गर्न सफल भयो। यसभन्दा अघिको संस्करणहरूमा आयोजक सेमिफाइनलसम्म पुग्न सकेको थिएन।

आयोजकले अब उपाधिका लागि शनिबार लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। सडन डेथमा आर्मीका दीपक गुरुङ, राजु आले, दीप लामा र राजिव गुरुङले गोल गर्दा विकास तामाङ, भरत चौधरी गोल गर्न चुकेका थिए। आयोजकका लागि देव लिम्बू, आन्द्रे थिरे, इला क्षेत्री, प्रिजन तामाङ र पासाङ शेर्पाले गोल गर्दा विशाल तामाङ र शरण बस्नेत गोल गर्न चुकेका थिए।

खेलको शुरूबाटै दुवै टिम आक्रामक रूपमा प्रस्तुत भएका थिए। पहिलो हाफमा आयोजकले अग्रता लिएको थियो। करन राईले खेलको ३४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।

तर, आर्मीका सन्तोष तामाङले ४१औं मिनेटमा ३० यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक गोलमा परिणत हुँदा खेल बराबरीमा रोकिएको थियो। त्यसपछि, दुवै टिमबाट खेलअवधिभर गोल हुन सकेन।

अतिरिक्त समयको इन्ज्युरी समयमा आर्मीका विवेक बस्नेत दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि करिब ४ मिनेट आर्मी १० खेलाडीमा समेटिएको थियो। प्रतियोगितामा आयोजकका देव लिम्बू ‘म्यान अफ दि म्याच’ घोषित भए। उनले नगद १५ हजार रुपियाँ प्राप्त गरे।

खेलको २८ मिनटमा विकास तामाङले डिबक्सभित्र मिलाएको पासमा विवेक बस्नेत चुक्न पुग्दा आर्मीले अग्रता बनाउने पहिलो अवसर गुमाएको थियो। लगत्तै ३१औं मिनेटमा आयोजकका इला क्षत्रीले डिबक्सभित्रबाट प्रहार गरेको सशक्त प्रहारलाई आर्मीका युद्ध शाहीले गोल लाइनबाट बचाएका थिए। ६०औं मिनेटमा डिबक्सभित्रबाट राजिव गुरुङको प्रहार आयोजकका गोलरक्षक देव लिम्बूले निक्कै मुस्किलले बचाएका थिए।

आयोजकले खेलको करिब अन्तिम १० मिनेटको समयमा एकपछि अर्को पोस्ट चार्ज गरे पनि सफल बन्न सकेन। डिबक्सभित्रबाट पासाङ शेर्पाको दुईवटा सशक्त प्रहार गोलपोस्टको केही माथिबाट बाहिरिएको थियो। लिग उपविजेता बनेको आर्मीका नवयुग श्रेष्ठ, भरत खवासजस्ता पहिलो रोजाइका खेलाडी नहुँदा आर्मीले आयोजकसँग हार सेमिफाइनलबाटै बाहिरिन बाध्य बन्यो।

प्रतिक्रिया दिनुहोस्