निर्माण उपकरण आगजनीप्रति महासंघको आपत्ति



नेपाल समाचारपत्र, काठमाडौं

निर्माण व्यवसायी र निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरणमाथि अज्ञात समूहबाट भइरहेको श्रृखंलाबद्ध आक्रमण तथा आगजनीका घटनाप्रति नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका महासचिव रोशन दाहालले बिहीबार विज्ञप्ति जारी गर्दै सरकार, गृहमन्त्री, सुरक्षा निकायका प्रमुखलगायतलाई बारम्बार लिखित तथा मौखिक रुपमा जानकारी गराउँदासमेत आगजनीका घटनामा कुनै कमी नआएको उल्लेख गरिएको छ।

यस्ता घटनाले समृद्ध नेपाल सुखी नेपालीको अवधारणासहित भौतिक पूर्वाधारको विकासमा खटिएको सिंगो मुलुकलाई नै अपूरणीय क्षति हुने एवम् भौतिक पूर्वाधारका कार्यहरू समयमा हुन नसकी राज्यले लिएको लक्ष्यसमेत पूरा हुन नसक्ने महासंघले जनाएको छ। महासंघका अनुसार कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौलामा बुधवार राति अज्ञात समूहले स्काभेटर, ब्यक्होलोडर गरी चार थान र जीप २ थानमा आगजनी गरेका छन्।

हुलाकी राजमार्ग निर्माण गर्ने जिम्मा पाएको महासंघका सल्लाहकार एवम् पूर्वअध्यक्ष रमेश शर्माको शर्मा एन्ड कम्पनी प्रालिले उक्त सडकखण्डमा निर्माण कार्य गरिरहेको महासंघले जनाएको छ। आगजनीबाट करिब ५ करोड रुपियाँबराबराको क्षति भएको जानकारी सम्बन्धित कम्पनीबाट महासंघलाई प्राप्त भएको विज्ञप्तिमा जनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्