विद्युत् विस्तार नहुँदा विद्यार्थीको पढाइ प्रभावित



मिला दरै, तनहुँ

सञ्चार तथा प्रविधिको विकाससँगै प्रविधिको प्रयोग गरी आमनागरिकले विश्वलाई एक ठाउँमा बसेर हेर्न थालिसकिएका छन्। शहर बजारका बालबालिकाले इमेल, इन्टरनेटको प्रयोगबाट पढाइ गर्ने प्रचलनको शुरुआत भएको छ।

तर, तनहुँको देवघाट गाउँपालिका–२ ब्यागनका विद्यार्थी प्रविधिको प्रयोग त परको कुरा विद्युत्को उज्यालोमा बसेर पढ्ने अवस्थासमेत बन्न सकेको छैन। देवघाटका बालबालिका टुकी बालेर पढ्न बाध्य छन्।

देवघाटधाममा विद्युतीकरण नहुँदा त्यहाँका बालबालिकाको पढाइमा प्रत्यक्ष प्रभाव परेको छ। टुकी बालेर पुस्तक पढ्नुपर्ने अवस्था रहेको विद्यार्थी बताउँछन्। गाउँमा बिजुली भएदेखि उज्यालोमा पढ्न सजिलो हुने सर्वोदय आधारभूत विद्यालयका कक्षा ८ मा अध्ययनरत रमेश विकले बताउनुभयो। ‘टुकी बाल्दा निस्किएको धुवाँले श्वासप्रश्वासमा असर गर्छ भनेर पढिन्छ तर हामी टुकी बालेर पढ्न बाध्य छौं’, उहाँले भन्नुभयो– ‘शहर बजारका विद्यार्थीको पढाइ ल्यापटप र कम्प्युटरबाट हुन्छ, यहाँ हामीले उज्यालोमा ढुक्कसँग पढ्न पाएका छैनौं।’

देवघाट गाउँपालिकाका अधिकांश वडाका विद्यार्थी र अभिभावकको गुनासो एउटै हुने गरेको छ। लोडसेडिङमुक्त भएको देश भनेर जसरी राज्यको प्रशंसा भएको छ त्यो सकारात्मक कुरा हो। तर, सुगम जिल्ला भनेर चिनिने भए पनि यो ठाउँमा विद्युतीकरण गर्नुपर्छ भन्ने विषयमा कसैले पहल नगरिदिँदा अन्धकारमा बस्नुपरेको उहाँहरूको गुनासो छ।

केही बालबालिका सोलारबत्तीको उज्यालोमा पढ्न पाए पनि अधिकांश बालबालिका भने टुकी बालेरै अध्ययन गर्ने गरेको सर्वोदय आधारभूत विद्यालयका प्रधानाध्यापक टेकबहादुर आलेले बताउनुभयो। ‘देश संघीयतामा गइसकेको छ, कार्यान्वयनको चरण छ, तर देवघाटमा विद्युतीकरणको कुनै अत्तोपत्तो छैन। त्यसैले गर्दा विद्यार्थीको पढाइ प्रत्यक्ष प्रभाव परेको छ।’ –उहाँले भन्नुभयो।

देवघाटका ४ सय घरधुरी विद्युत्बाट वञ्चित

देवघाट गाउँपालिका–२ ब्यागनका ४ सय घरधुरी अझै पनि विद्युत् सेवाबाट वञ्चित छन्। ग्रामीण क्षेत्रमा स्थानीय तहहरूले विभिन्न विकासका कार्य भइरहँदा पनि यस ठाउँमा अझै पनि सिंहदरबार गाउँमा आइनपुगेको स्थानीयवासीको गुनासो छ।

‘देवघाटमा सडक सुविधा पुगे पनि खानेपानी र विद्युत् सेवा पुग्न सकेको छैन, हुनेखाने परिवारले सोलारबत्ती जडान गरेका छन् भने आर्थिक अवस्था कमजोर भएका परिवार टुकीको भरमा निर्भर छन्,’ देवघाट–२ का वडाध्यक्ष पोलबहादुर आलेले भन्नुभयो– ‘जडान गरेकाहरूको पनि पछिल्लो समय बिग्रिएपछि मर्मतसमेत गर्न सकिएको छैन जसले गर्दा बालबालिका टुकी बालेर पढ्न बाध्य छन्।’

देवघाट गाउँपालिकाका ब्यागन, जरम, कोटबैदी, सिम्लेलगायतका गाउँमा हालसम्म बिजुली पुगेको छैन। विद्युत् सेवा विस्तारका लागि स्थानीय तहले मात्रै नसक्ने भएकाले संघीय सरकारले नै प्राथमिकतामा राखी पहल गर्नुपर्ने स्थानीयवासीको भनाइ छ।
चालू आर्थिक वर्षमा बिजुली बल्ने

आर्थिक वर्ष ०७६/७७ को अन्त्यसम्ममा विद्युतीकरण गर्ने लक्ष्य रहेको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताउनुभयो। उहाँका अनुसार भौगोलिक हिसाबले यो ठाउँ दुर्गम हो। ‘हामीले विद्युत् विस्तारका लागि पहल गरिरहेका छौं, सम्बन्धित निकायसँग छलफल चलिरहेको छ, चालू आर्थिक वर्षमा विद्युत् सेवा स्थानीयको घरघरमा पुर्याउने तयारीमा छौं।’ –उहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्