पौडेलको उपचारका लागि लायन्स क्लबको ५१ हजार



नेपाल समाचारपत्र, विराटनगर

ब्लड क्यान्सरबाट पीडित मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेलको उपचारका लागि लायन्स क्लब विराटनगर एक्टिभले ५१ हजार रुपियाँ सहयोग प्रदान गरेको छ।

मकालु टेलिभिजनको हलमा एक कार्यक्रमको आयोजना गरी लायन्स क्लब एक्टिभले सहयोग रकम हस्तान्तरण गरेको हो। क्लबका संस्थापक अध्यक्ष रेवतबहादुर कार्कीले मकालु टेलिभिजनका कार्यक्रम उत्पादन विभाग प्रमुख अभयकुमार राईलाई ५१ हजार रुपियाँको चेक हस्तान्तराण गर्नु भएको हो।

चेक हस्तान्तरण गर्दै कार्कीले उपचारका लागि थप सहयोग गर्न अन्य लायन्स क्लबहरूलाई पनि आग्रह गर्नुभयो। सम्पादक पौडेलको उपचारका लागि देशभित्र मात्रै नभई विदेशबाट पनि सहयोग जुटिरहेको टेलिभिजनका सह–सम्पादक हरिहर नेपालले जानकारी दिनुभयो।

यसैगरी, इटहरीस्थित पाथिभरा एड्भटाईजिङका सञ्चालक पवन अघिकारीले पनि पौडेलको उपचारका लागि नगद सहयोग गर्नु भएको छ। उहाँले टेलिभिजनको कार्यालयमा आएर टेलिभिजनका सिईओ दिवस सुवेदीलाई २५ हजार ५ सय ५१ रुपियाँको चेक हस्तान्तरण गर्नुभएको हो।

ब्लड क्यान्सरबाट पीडित भएर काठमाडौंमा रहेको सिभिल अस्पतालमा भर्ना हुनुभएका पत्रकार पौडेलको उपचारमा थोरै भए पनि सहयोग पुगोस् भनेर नगद सहयोग गरेको अधिकारीले बताउनुभयो। यसैगरी, मोरङको झोराहाट नाट्य समूहले पनि सहयोग गरेकोे छ।

समूहले टेलिभिजनको कार्यालयमा आएर टेलिभिजनका प्रशासन प्रमुख वीरेन्द्र भगतलाई ७ हजार ९ सय रुपियाँको चेक हस्तान्तरण गरेको हो। नाट्य समूहले करुणा समाज इनरुवा सुनसरीका सदस्यहरूलाई मालिनी नाटक देखाएर संकलित रकम हस्तान्तरण गरिएको अध्यक्ष भरत गुरागाईंले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्