स्थानीयको अग्रसरतामा खोला उत्खनन्मा रोक



मोरङ, (नेस)

भलुवा खोला र तुर्के खोलाबाट ढुंगागिटी उत्खनन् गर्न स्थानीयले रोक लगाएका छन्। मापदण्डविपरीत खोला उत्खनन् गरी ढुंगागिटी लगेको र प्रकृतिको दोहन गरेको भन्दै मंगलबार केराबारी ९ का स्थानीयले उत्खनन्मा अवरोध गरेका थिए। अवरोधपछि भलुवा भन्ने ठाउँमा ढुंगागिटी उत्खनन्मा प्रयोग भएको स्काभेटर र अन्य औजार उपकरणहरूसमेत फिर्ता भएको छ।

केराबारी गाउँपालिकाले भलुवा र तुर्के खोलाबाट २ लाख घनमिटर ढुंगागिटी उत्खनन् गर्ने गरी ठेक्का लगाएको छ। ठेक्का सम्झौतामा खोलामा बढीमा १ सय ३० सेन्टिमिटर अर्थात् करिब ५ फिट गहिरो च्यानल बनाउनुपर्ने भनिएको छ। तर, त्यसलाई ठेकेदारहरूले उल्लंघन गरी जथाभावी उत्खनन् गर्न थालेपछि स्थानीयले विरोध गरेका थिए।

त्यसबारे स्थानीयले गाउँपालिकाकोसमेत ध्यानाकर्षण गराउँदा बेवास्ता गरेपछि बुधबार स्थानीयले खोलामै गएर उत्खनन् बन्द गराएका हुन्। प्राकृतिक स्रोतमाथिको दोहन थामिनसक्नु भएपछि उत्खनन् रोकेर स्थानीयले त्यस क्षेत्रमा नापी गरेका छन्। त्यस क्रममा खोला २९ फुटसम्म गहिरो बनाएको पाइएको स्थानीय सनबहादुर बस्नेतले जानकारी दिनुभयो।

स्थानीयले सम्झौता विपरीत उत्खनन् गरेको र प्रकृति नष्ट गरेको विषयमा छानविन हुनुपर्ने माग गरेका छन्। गाउँपालिकाले ठेक्का लगाएअनुसार दुईवटा खोलाबाट उत्खनन् गर्नुपर्ने २ लाख घन मिटर ढुंगागिटी उत्खनन् गरिसकेको स्थानीयले बताएका छन्। भलुवा र तुर्के खोलाको विभिन्न तीनवटा प्वाइन्टबाट आवश्यक परिमाणमा ढुंगागिटी लगिसकिएको बस्नेतले जानकारी दिनुभयो।

स्थानीयका अनुसार चुरे क्षेत्रबाट ठेकेदारले अवैध रुपमा ढुंगासमेत चोरी गर्ने गरेका छन्। सम्झौतामा ढुंगा लैजान नपाइने उल्लेख भए पनि ठेकेदारले चुरेबाट लाखौं घनमिटर ढुंगा अवैधरुपमा उत्खनन् गरेर लगेका छन्। चुरेबाट चोरेर ल्याएको ढुंगा भलुवाको तल्लो भागमा जम्मा गरेर मेसिनले फुटाएर ढुवानी गर्दा पनि गाउँपालिका र स्थानीय प्रशासन मौन बसेको स्थानीयले आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्