नेपाल भाषा र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड



rbt

नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडाैंको ठँहिटीमा अवस्थित श्री शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयले आफ्नो ७०आैं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ। ७०औं वार्षिक उत्सवका अवसरमा इतिहासविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा पूर्वविद्यार्थी नेपाल सरकारका पूर्वसचिव रञ्जनकृष्ण अर्याल, सोही ब्याचकै पूर्वविद्यार्थी तथा नेपाल सरकारका निसान छापका डिजाइनर नविन्द्रमान राजभण्डारी र २०३८ ब्याचका पूर्वविद्यार्थी तथा देशकै नमुना सामुदायिक विद्यालय ज्ञानोदय मावि बाफलका प्रधानाध्यापक नातिकाजी महर्जनलाई प्रमाणपत्रसहित दोसल्लाले सम्मान गरिएको थियो।

त्यस्तै, विगत लामो समयसम्म उक्त विद्यालयमा सेवा गरी निवृत्त जीवन बिताइरहनुभएका पूर्वशिक्षक/शिक्षिकाहरू, विगत ३८ वर्षदेखि विद्यालयको सेवामा हालसम्म कार्यरत शिक्षिका नानिहेरा ब्रजाचार्य र ३५ वर्षदेखि सोही विद्यालयको सेवामा कार्यरत कर्मचारी सानुबाबु थापालाई समेत सम्मान गरिएको थियो।

वार्षिक उत्सवकै अवसरमा सामाजिक व्यक्तित्व तथा विद्यालयका पूर्वविद्यार्थी मचाकाजी महर्जनको अध्यक्षतामा ‘शान्ति शिक्षा मन्दिर मावि पूर्वविद्यार्थी मञ्च’ गठन गरिएको छ। सो मञ्चका सदस्यहरूमा क्रमशः राधा श्रेष्ठ, रजनी बज्राचार्य, सागरिका मानन्धर, लीला चौहान, सजन बज्राचार्य, मीरा श्रेष्ठ कायस्थ, सुरेश रेग्मी र राजु बज्राचार्य रहनुभएको छ। सो मञ्च गठनपश्चात् मञ्चका संयोजक मचाकाजी महर्जनले विद्यालयले पूर्वविद्यार्थीहरूलाई सम्झेकोमा खुसी व्यक्त गर्दै मञ्चले विद्यालयको प्रगतिका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो।

विद्यालयका प्रधानाध्यापक सुदाम गौतमलाई पूर्वविद्यार्थी मञ्चले कदरपत्रसहित सम्मान गरेको थियो। कार्यक्रममा मन्तव्य राख्ने क्रममा काठमाडौं महानगरपालिका शिक्षा विभागका अधिकृत मोतिराज खनालले छोटो समयमा विद्यालयले उल्लेख्य प्रगति गरेकोमा खुसी व्यक्त गर्नु भएको थियो। विद्यालयबाट सम्मानित हुनुहुने पूर्वविद्यार्थी तथा नेपाल सरकारका पूर्वसचिव रन्जनकृष्ण अर्यालले सामुदायिक विद्यालयबाट आफू नेपाल सरकारको सचिव तहसम्म पुगेकोले सामुदायिक विद्यालयलाई भरोसा गर्नुपर्ने बताउनुभयो।

मन्तव्यका क्रममा ज्ञानोदयका प्रधानाध्यापक नातिकाजी महर्जनले सामुदायिक विद्यालय अब्बल भएको उदाहरण शान्ति शिक्षा मन्दिरमै अध्ययन गरी उच्च ओहदामा पुग्न सफल रन्जनकृष्ण अर्याल उदाहरण रहेको दृष्टिकोण राख्नुभएको थियो।

त्यस्तै, विद्यालयका पूर्वविद्यार्थी नविन्द्रमान राजभण्डारीले शान्ति शिक्षा मन्दिरको इतिहास गर्विलो रहेको बताउनुभयो। विद्यालयका प्रधानाध्यापक सुदामप्रसाद गौतमले सबैको सहयोगले आज ७०/८० जना विद्यार्थीबाट एकै वर्ष ३ सय १० जना विद्यार्थी विद्यालयमा पठनपाठन गरिरहेको र निकट भविष्यमै विद्यालयले भौतिकका साथै शैक्षिक फड्को मार्दै जाने र त्यसका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार तथा विभिन्न संघ÷संस्थाको सहयोग रहेको बताउनुभयो।

विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले विद्यालयमा वर्तमान प्रधानाध्यापकको उत्कृष्ट पहलमा विद्यालयको वातावरण राम्रो हुँदै गइरहेको बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि इतिहासविद् सत्यमोहन जोशीले विद्यालयलाई छोटो समयमा गरेको प्रगतिप्रति गर्व गर्दै यस्ता सामुदायिक विद्यालयमा नेपाल भाषा र सस्कृतिको जगेर्ना गर्नुपर्ने कुरामा जोड दिँदै समाजसेवी लक्ष्मीदास मानन्धरले शिक्षा तथा नेपाल भाषाको जगेर्नामा खेलेको अग्रणी भूमिकाको प्रशंसा गर्नुभएको थियो।

विद्यालयको उक्त वार्षिक उत्सव कार्यक्रमको अवसरमा सल्लाहकार सदस्य लक्ष्मीप्रसाद श्रेष्ठले स्व. आमाको नाममा ५१ हजारको र त्यसै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले स्व. श्रीमतीको नाममा २ लाख रकमको अक्षयकोष स्थापना गर्नुभएको छ। अन्तमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई विद्यालयको तर्फबाट अध्यक्ष लक्ष्मीदास मानन्धर र प्रधानाध्यापक सुदामप्रसाद गौतमले प्रमाणपत्र सहित सम्मान गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्