असमिया लेखिकाको “डम्फुु” नेपालमा



यदुप्रसाद भट्ट

भारतको पूर्वोत्तर राज्य असमकी साहित्यकार रूमी लस्कर बोराद्वारा असमिया भाषामा लिखित तथा डा. सरिता शर्माद्वारा अंग्रेजी भाषामा अनुदित उपन्यास ‘डम्फु’ काठमाडौंमा विमोचन गरिएको छ। लेखिका बोरा र अनुवादिका डा. शर्माको उपस्थितिमा नेपाली वाङ्मय परिषद्द्वारा आयोजित समारोहमा प्राडा गोविन्दराज भट्टराईले उक्त कृतिको विमोचन गर्नुभएको थियो।

विमोचन कार्यक्रममा बोल्दै प्राडा भट्टराईले उपन्यासमार्फत लेखिका बोराले नेपाल र भारतको अन्तरसम्बन्धका बारेमा एउटा सिर्जनात्मक आयाम थपेको बताउनुभयो। उहाँले अनुवादको महत्वमाथि प्रकाश पार्दै अनुवादिका शर्माले अनुवाद साहित्यमा उल्लेखनीय योगदान दिएको दाबी गर्नुभयो।

कवि तथा किराँती सौन्दर्य चिन्तक भूपाल राईले लेखकले मातृभाषामै लेख्दा राम्रो हुने तर अनुवादका माध्यमबाट त्यसलाई विस्तार गरिनुपर्ने विचार व्यक्त गर्नुभयो।

नेपाल प्रज्ञा–प्रतिष्ठान अनुवाद विभाग प्रमुख प्राज्ञ प्राडा उषा ठाकुरले लेखिका बोराद्वारा असमिया भाषामा लिखित उपन्यासलाई अनुवादक शर्माले अंगे्रजी भाषामा अनुवाद गरेर विश्वव्यापीकरण गरेको बताउनुभयो। प्राडा ठाकुरले ‘डम्फु’ उपन्यास अब्बल लागेको धारणा राख्नुभयो।

कवि तथा किराँती सौन्दर्य चिन्तक भूपाल राईले लेखकले मातृभाषामै लेख्दा राम्रो हुने तर अनुवादका माध्यमबाट त्यसलाई विस्तार गरिनुपर्ने विचार व्यक्त गर्नुभयो। कवि तथा समालोचक सुरेश हाचेकालीले लेखिका बोराले ‘डम्फु’ उपन्यासमार्फत नेपाल र असमको अन्तरसम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभयो। उहाँले असमियाभाषी असमिया नागरिकले तामाङ समुदायको परपम्परागत मौलिक बाजा डम्फुलाई केन्द्रमा राखेर लेखेको उपन्यास ‘डम्फु’ ले विश्वमा रहेका समस्त नेपाली डायास्पोरिक समुदायलाई गौरव महसुस गराउने विचार व्यक्त गर्नुभयो। उहाँले लेखिका बोरा यस कारण धन्यवादको पात्र भएको जिकिर गर्नुभयो।

नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनुवादिका डा. शर्माले बोरा असमकी अब्बल स्रष्टा भएको सुनाउनुभयो। स्रष्टा बोराले आफू दोस्रोपटक नेपाल आएको उल्लेख गर्दै नेपाल र नेपालका नागरिकबाट आफू अत्यन्त प्रभावित भएको बताउनुभयो। उहाँले नेपालको संस्कृतिको खोज अनुसन्धान गरेर पुस्तक लेख्ने इच्छा रहेको बताउनुभयो। कार्यक्रम परिषद्का सचिव टीका चाम्लिङले सहजीकरण गर्नुभएको थियो। १५ कृतिकी स्रष्टा लस्कर बोराको ‘डम्फु’ बीबी पब्लिकेसन असमले प्रकाशन गरेको हो। उक्त कृति नेपाली र हिन्दी भाषामा प्रकाशनको तयारीमा रहेको स्रष्टा बोराले जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्