दोस्रो रत्नेचौर जागरण कप फुटबल प्रतियोगिता सुरु



प्रताप बानियाँ, म्याग्दी ।

‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित रत्नेचौर जागरण समूहको आयोजनामा बुधबारदेखि फुटबल प्रतियोगिता सुरु भएको छ । बेनी नगरपालिका–१, रत्नेचौरस्थित खेलकुद मैदानमा दोस्रो रत्नेचौर जागरण कप फुटबल प्रतियोजिताको आयोजना गरिएको हो ।

आउँदै गरेको फागुपूर्णिमा पर्वको पूर्वसन्ध्याको अवसर पारेर आयोजित फुटबल प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार पाँचसय ५५, द्वितीय पुरस्कार २५ हजार पाँचसय ५५ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र रहेको छ । आगामी २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत खुल्ला न्युत्य, वडास्तरीय रत्यौली, छेलो फ्याँक्ने, अन्धनिसान, महिला म्युजिकल चियर र स्लो बाइक रेस प्रतियोगिता रहेको आयोजकले जनाएको छ ।

खुल्ला नृत्यमा प्रथम हुनेलाई सातहजार, द्वितीयलाई चारहजार, रत्यौली प्रतियोगितामा प्रथमलाई छ हजार, द्वितीयलाई तीनहजार, छेलो प्रतियोगितामा प्रथमलाई दुईहजार, महिला म्युजिकल र अन्धनिसानतर्फ एकहजार पाँचसय रुपैयाँसहित नगद पुरस्कार तथा प्रमाणपत्रले पुरस्कृत गरिने भएको छ । यसका साथै विविध सांस्कृतिक कार्यक्रमहरु समेत हुने जनाइएको छ । फुटबल प्रतियोगितामा विभिन्न १४ ओटा टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले रत्नेचौरमा खेलमैदान निर्माणका लागि आफूले युवा तथा खेलकुद मन्त्रालयमा बजेटका लागि पहल गरेको बताएका छन् । उनले रत्नेचौरमा कालीगण्डकी नदीबाट लिफ्टिङ प्रविधिको खानेपानी योजना, रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक निर्माण, रत्नेचौर–बागलुङ जोड्ने अग्लो तथा लामो झोलुङ्गे पुल निर्माणका लागि आवश्यक पहल तथा बजेट विनियोजन गरेको बताए ।

बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले खेलकुदले शारिरीक, मानसिक तथा संवेगात्मक विकास गर्ने भएकाले नगरपालिकामार्फत खेलकुदजन्य गतिविधिलाई जोड दिइएको बताएकी छिन् । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका पूर्व सहसभापति नेत्रबहादुर महत, राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान जिल्ला अध्यक्ष एकेन्द्रबहादुर रावल, युवा नेता सन्तोष रावल, भानु माध्यमिक विद्यालयका भूपू प्रधानाध्यापक विरबहादुर कार्की, वर्तमान प्रअ भरत खत्री र रत्नेचौरका कार्यवाहक वडा अध्यक्ष टेकबहादुर थापाले मन्तव्य राखेका थिए ।

प्रतियोगिता सञ्चालनमा आर्थिक सहयोग गर्नेहरुलाई दोसल्ला ओढाई प्रमाणपत्रले सम्मान गरिएको थियो । जागरण समूहका अध्यक्ष गणेशबहादुर बोगटीको अध्यक्षता, उपाध्यक्ष मन्नु रावलको स्वागत र सचिव दानबहादुर महतको सञ्चालनमा सम्पन्न कार्यक्रममा सांस्कृतिक प्रस्तुती समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्