कुस्मामा न्यायिक समिति गठन, दलीय भागबण्डाका आधारमा सहमति



न्यूज अफ नेपाल, पर्वत । 

पर्वतको कुश्मा नगरपालिकाको पाँचौ नगरसभाले लामो समय देखि गठन हुन नसकेका समितिहरु गठन गरेको छ ।

बुधबार सम्पन्न नगरसभाले लामो समय सम्म बिबाद र मतभेदका कारण गठन हुन नसकेका न्यायिक समिति, लेखा समिति सहितका समितिहरु गठन गरेको हो ।

नगरपरिषदले न्यायिक र लेखा समिति गठन गर्दा संयोजक र दुई सदस्यहरु दलीय भागबण्डाका आधारमा सहमति कायम गरेको छ । न्यायिक समितिको पदेन सदस्य उपप्रमुख रहेका कारण दुई सदस्य नेकपाका तर्फबाट राखिएको छ भने लेखा समितिको नेतृत्व नेकपालाई दिएर सदस्यहरु नेपाली कांग्रेसको तर्फबाट राखिएको छ ।

यस बाहेक बिभिन्न बिषयगत समितिलाई बिभाजन गरेर सबै वडा अध्यक्षहरुलाई नेतृत्व दिइएको छ । कुस्मा नगरपालिकामा बिबादका कारण समितिले पुर्णता पाउन नसकेको भन्दै अदालतमा समेत मुद्दा परेपछि सहमति कायम गरेर निकास निकालेको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । ‘नगरसभाले ऐतिहासिक रुपमा नगरसभा सम्पन्न गरेका छौ’ उहाँले भन्नुभयो‘सबै गतिरोध र समस्या हल भएर एक हुँदै काममा जुट्ने संकल्प गरेका छौ’ सामाजिक बिकास समितिका संयोजक शिब पौडेलले लामो समय देखि एक अर्कालाई आरोप लगाएर बस्ने तर समस्याको समाधानमा नजुट्ने कुरालाई अन्त्य गर्दै नगरको समग्र बिकासका लागि एक भएर अघि बढ्ने संकल्प यो नगरसभाले गरेको बताउनुभयो ।

न्यायिक समितिमा उप प्रमुख सिता काफ्ले लामिछाने संयोजक तथा सदस्यहरुमा वडा नं ३ का अध्यक्ष तेजप्रसाद पाध्या र कार्यपालिका सदस्य देबेन्द्र नेपालीलाई सदस्य रहनुभएको छ । लेखा समितिको संयोजकमा शान्ता पौडेल र सदस्यहरुमा उत्तम ढकाल र कालीभक्त शर्मा रहनुभएको छ । बिद्यायन समितिमा सुवासचन्द्र पौडेल संयोजक र सदस्यहरुमा बिरेन्द्र रिजाल र कल्पना तिमिल्सिना सदस्य रहनु भएको छ ।

नगरपालिकामा न्यायिक समिति, लेखा समिति, सामाजिक बिकास समिति, भौतिक पुर्वाधार बिकास समिति, बिद्यायन समिति, आर्थिक बिकास समिति, वन,वातावरण समिति रहने ऐनमा व्यवस्था छ । नगरपालिकाले यस अघि शिब पौडेलको नेतृत्वमा सामाजिक बिकास समिति, राजकुमार क्षेत्रीको नेतृत्वमा भौतिक पुर्वाधार बिकास समिति, राजेन्द्र पौडेलको नेतृत्वमा आर्थिक बिकास समिति र रुद्र गिरीको नेतृत्वमा वन वातावरण समिति गठन गरेको थियो ।

पाँचौ नगरसभाले भने सबै वडा अध्यक्षहरु र सदस्यहरुलाई समेत भूमिका दिने गरि समितिहरुलाई बिभाजन गरेर बिषयगत रुपमा बिभिन्न समितिहरु गठन गरेको छ । यसरी गठन गरिएका समितिहरुमा वडा अध्यक्षहरुलाई संयोजक तोकिएको छ भने पहिलेका समितिहरुलाई बिभाजन गरिएको छ । सहमति कायम गर्न तथा वडा अध्यक्षहरुलाई समेत जिम्बेवारी दिनका लागि थप समितिहरु बनाउने काम भएको प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले बताउनुभयो । ‘सहमतिका लागि ठुलो कार्यक्षेत्र भएका समितिहरुका कामलाई बिभाजन गर्ने काम भएको हो’ उहाँले भन्नुभयो‘यसबाट कामको बाँडफाँड र कार्यान्वयनमा समेत सहजता आउने बिश्वास लिएका छौ’ ।

प्रतिक्रिया दिनुहोस्