मतदाता परिचयपत्रमा कुकुरको तस्वीर



एजेन्सी । भारतको पश्चिम बंगालमा एक व्यक्तिको मतदाता परिचयपत्रमा तस्वीर हुनुपर्ने ठाउँमा कुकुरको तस्वीर राखिएको छ ।

पश्चिम बंगालका बासिन्दा सुनिल करमाकर नाम गरेका ती व्यक्तिको उनको मतदाता परिचय पत्रमा नाम, ठेगाना सबै सही राखिएपनि तस्वीर राख्नुपर्ने ठाउँमा भने कुकुरको तस्वीर राखिएको छ ।

६४ वर्षीय करमाकरले निर्वाचन आयोगविरुद्ध मानहानिको मुद्दा हाल्ने बताएका छन् । करमाकरले भने, ‘आयोगका अधिकारीले मेरो मतदाता परिचयपत्रमा कुकुरको तस्वीर राखेछन् । मैले सुधारका लागि निवेदन दिएको थिएँ । तर उनीहरूले सुधार गरेनन् ।’

पटक पटक जानकारी गराउदा पनि वास्ता नगरेपछि आयोगका कर्मचारीहरुले जानीबुझी यस्तो गरेको उनले बताए । कर्मचारीको यस्तो हर्कतले आफ्नो मजाक र बेइज्जती भएको करमाकरले बताएका छन् ।

तर, आयोगका अधिकारीलाई यसबारेमा सोधपुछ गर्दा भने उनीहरुले थाहा नभएको बताएका छन् । यस्तै, उनीहरुले पहिले नै सो गल्ती सच्चाएको जनाएका छन् ।

करमाकरका साथसाथै अन्य ८ लाख ३० हजार मानिसले मतदाता परिचयपत्रमा भएका गल्ती सुधार्न निवेदन दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्