नेपाल–भारत समन्वय समिति बैठक सम्पन्न



बैतडी, (नेस)

नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा बुधबार सम्पन्न भएको छ। दुईपक्षीय हितका विभिन्न ७ बुँदामा सहमति गर्दै बैठक सकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो।

शान्तिसुरक्षा, विपद् व्यवस्थापन, झुलाघाटमा मोटरेबल पुल निर्माण र आखेटोपहार नियन्त्रणसम्बन्धी सहमति भएको हो। यसका साथै कोरोना भाइरस, पहिरो र पेन्सनसम्बन्धी गरेर ७ बुँदामा सहमति भएको हो।

सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गर्ने, विपद्पूर्व तथा विपद्का बेला सूचना आदानप्रदान गर्ने, कोरोना भाइरस फैलन नदिन सीमा रहेका हेल्थ डेस्कमा चेकजाँच गर्ने, उपकरणमा सहयोग गर्ने, सीमा क्षेत्रमा हुने सडक निर्माणका बेला हुने सम्भावित ख्याल गर्ने गरी निर्माण गर्ने र भारतीय पेन्सनधारी नेपाली नागरिकले पेन्सन बुझ्न भएको समस्या समाधानका लागि पहल गरिने, नेपाल भारत सीमानाका झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि प्रदेश सरकार र केन्द्रीय सरकारलाई अनुरोध गर्ने सहमति भएको हो। यसका साथै समन्वय समितिको बैठक हरेक ३/३ महिनामा बस्ने पनि निर्णय भएको प्रजिअ पौडेलले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्