पत्रकारिताका विद्यार्थीलाई काउन्सिलको प्रशिक्षण



नेपाल समाचारपत्र, काठमाडौँ

प्रेस काउन्सिल नेपालले पत्रकारिता तथा आमसञ्चार विषय लिई कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई पत्रकार आचारसंहितासम्बन्धी अन्तक्र्रियात्मक प्रशिक्षण दिएको छ।
काउन्सिल र ब्रुकलिन कलेजका विद्यार्थीबीच भएको उक्त प्रशिक्षणमा काउन्सिलका सह–प्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनालले पत्रकार आचारसंहिता र नैतिकताबीच केही भिन्नता भएको बताउँदै पत्रकारले नैतिकताको पालना नगर्दा समाचारको हत्या हुन सक्ने आशंका व्यक्त गर्नुभयो।

सह–प्रशासकीय अधिकृत खनालले पत्रकार र पत्रकारिताका विद्यार्थीले आचारसंहिता, पत्रकारिताको प्रतिबद्धता र मिडिया कानुनलाई सधैँ ध्यानमा राख्नुपर्ने बताउँदै पत्रकारिता पेसामा प्रवेश गर्दा पत्रकारले प्रतिबद्धतासहित आचारसंहिताको शपथ खानुपर्नेमा जोड दिनुभयो।

फरक सन्दर्भमा सह–प्रशासकीय अधिकृत खनालले धेरैजसो कलेजमा छात्रको तुलनामा छात्राहरूले बढी पत्रकारिता पढेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले पत्रकारिता पढेर पत्रकार, शिक्षक, अनुसन्धानकर्ता, प्रेस सल्लाहकार, सञ्चार अधिकृत, लेखक, जनसम्पर्क अधिकृत, विज्ञापन व्यवसायी, स्वरोजगार र स्वतन्त्र पत्रकार आदि बन्न सकिने भएकाले यस विषयमा भविष्य छैन भनेर चिन्तित नहुन सुझाव दिनुभयो।

उप–प्रशासकीय अधिकृत रामशरण बोहराले काउन्सिलको काम, कर्तव्य र अधिकार, उद्देश्य एवं प्रेस काउन्सिलको गठन प्रक्रिया र संरचना, पदाधिकारी नियुक्तिको प्रक्रियाबारे जानकारी गराउनुभएको थियो।

उहाँले दर्ता भएका अनलाइन, वर्गीकरणमा परेका तथा नियमित प्रकाशित भएका पत्रपत्रिका, रेडियो तथा टेलिभिजनको संख्या, काउन्सिलमा परेका उजुरी, जनगुनासो, कारबाही प्रक्रियाका साथै स्वअनुगमनबारे बताउनुभयो।

सूचना प्रविधि अभिलेख र आचारसंहिता अनुगमन (विद्युतीय) का प्रमुखसमेत रहेका उप–प्रशासकीय अधिकृत बोहराले काउन्सिलले उजुरी र खण्डन मात्रै नभएर दुवै पक्षलाई बोलाएर मेलमिलाप गराउनेसम्मको अभ्यास गर्ने गरेको जानकारी दिनुभयो। उहाँले पत्रकारले बारम्बार गल्ती गरेमा प्रेस पास निलम्बन गर्ने, कालोसूचीमा राख्ने, सरकारबाट पाउने सुविधा रोक्नेलगायतका कारबाही हुने बताउनुभयो।

ब्रुकलिन कलेजका शिक्षकसहित २८ जनाको सहभागितामा प्रेस काउन्सिल नेपालको सभाहलमा भएको उक्त कार्यक्रमको अन्त्यमा सह–प्रशासकीय अधिकृत खनाल र उप–प्रशासकीय अधिकृत बोहराले विद्यार्थीले राखेका जिज्ञासाको सम्बोधन गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्