झोलुंगे पुलका पिता मनिलालको घर संग्रहालय



विजय नेपाली, पोखरा
माछापुच्छ्रे गाउँपालिकामा झोलुंगे पुलका पिताको नाममा परिचित समाजसेवी मनिलाल गुरुङको जन्म घरलाई संग्रहालय बनाइएको छ।

गाउँको शिक्षा, आर्थिक र पूर्वाधार विकासको अभियन्ताका रूपमा समेत चिनिने समाजसेवी तथा विकासप्रेमी गुरुङको स्मृतिमा जन्मथलो कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ इमुमा रहेको घरलाई मनिलाल संग्रहालयको रूपमा स्थापना गरिएको छ।

स्व. मनिलालको सम्झनामा उहाँका ५ भाइ छोरा तथा गाउँको पहलमा संग्रहालय तथा मनिलाल प्रतिष्ठानको स्थापना गरिएको हो।

पर्यटकीय क्षेत्रको रूपमा रहेको माछापुच्छ्रे गाउँपालिकालाई तत्कालीन समयमा सेती नदीदेखि माछापुच्छ्रे को फेदसम्म विकास तथा शिक्षाका लागि अतुलनीय भूमिका खेलेका मनिलाल अझै पनि गाउँका सबैको मन मस्तिष्कमा जीवितै हुनुहुन्छ। १९७७ सालको मंसिरमा जन्मिनु भएका मनिलालको मृत्यु जनआन्दोलनका बेला पोखरामा भएको थियो। क्यान्सर पीडितसमेत रहनुभएका मनिलाल आफ्नो क्यान्सर लुकाएरै लोकतन्त्रका लागि आवाज उठाउने क्रममा २०६२ सालमा मृत्यु भएको थियो।

नेपाली कांग्रेसका नेतासमेत रहनुभएका मनिलाल क्यान्सरका बाबजुत पनि पोखरामा लोकतन्त्रका लागि आमरण अनशनमा रहनुभएको थियो। तत्कालीन पञ्चायती कालमा २५ वर्षसम्म निरन्तर निर्विरोध प्रधानपञ्चको रूपमा रहेर गाउँको विकासका लागि सधैँ अघि लडिराख्नुभएको थियो। मनिलालले तत्कालीन समयमा हेम्जामा रहको सेती नदीदेखि माच्छापुच्छ«ेको फेदसम्म बाटो लैजानेदेखि झोलुंगे पुल हाल्नेसम्मका काम गरेका कारणले उहाँलाई झोलुंगे पुलका पिताको रूपमा समेत चिनिने स्थानीयहरूको भनाइ रहेको छ। संग्रहालयमा मनिलाले प्रयोग गर्नुभएको जीवनकालका विभिन्न सामग्रीहरू राखिएको छ।

संग्रहालयमा घरेलु जीवनमा प्रयोग हुने सामग्रीहरूलाई प्रदर्शनीमा समेत राखिएको छ। मनिलालका काँइला छोरा तेजबहादुर गरुङले आफ्नो बुबाले सामाजिक, शिक्षा र गाउँको विकासका लागि आफ्नो जीवन सुम्पेका कारणले पनि संग्रहालय खोलिएको बताउनुभयो। संग्रहालयको उद्घाटन भने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नुभएको हो।

 

प्रतिक्रिया दिनुहोस्