ठेकेदारको चरम लापरबाही



वीरबहादुर बम, मुगु

निर्माण जिम्मा पाएको ठेकेदार पक्षले निर्माण कार्य थालनी नगर्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको हो।

छायाँनाथ रारा नगरपालिका १ र २ मा पर्ने सदरमुकाम गमगढी बजारको ढल निर्माणको जिम्मा लिएको ठेकेदार पक्षले हालसम्म निर्माणको कार्य शुरू नगर्दा बजारवासीले सास्ती खेप्नुपरेको हो।

जिल्ला प्रशासन कार्यालयदेखि चैना खोला र अदालत चोकदेखि खडकराज मल्लको घरसम्मको २ हजार १ सय मिटर ढल निर्माणको जिम्मा भवन डिभिजन कार्यालय जुम्लासँग ‘डाँफे द क्याराभान जेबी काठमाडौं’ ले २०७५ पुस ९ गते निर्माण सम्झौता गरेको थियो।

दुई वर्षअघि निर्माण भइसक्नुपर्ने ढल हालसम्म निर्माण भएको छैन। सडकमा बगेर आएको पानी र फोहर स्थानीयको घरभित्र पसेको छ। खुला पानी तथा फोहोरले गर्दा बजारवासी तथा बजार आउने–जाने सर्वसाधारणले सास्ती खेप्नुपरेको छ। जिल्ला प्रशासन कार्यालयभन्दा माथिबाट बगेर आउने खुला पानीले बगाएर ल्याएको फोहोरले पूरै बजार नै दुर्गन्धित हुँदै आएको छ। गमगढी बजारबाट मिलनचोक र अदालत चोकबाट आवत–जावत गर्ने सर्वसाधारणलाई समस्या हुने गरेको छ।

ठेकेदार पक्षले हालसम्म ढल निर्माणको कुनै काम नगरेको र काममा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको होटल व्यवसायी संघ मुगुका अध्यक्ष विष्णुबहादुर मल्लले बताउनुभयो।

२०७५ पुस ९ गते २ करोड १३ लाख ७० हजार ५ सय २८ रुपियाँ ३९ पैसामा भवन डिभिजन कार्यालय जुम्लासँग ०७७ असार मसान्तभित्र ‘डाँफे द क्याराभान जेबी’ ले निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो।

तर, सम्झौता गरे पनि निर्माणको जिम्मा पाएको ठेकदारले हालसम्म निर्माण नगर्दा दुईपटक भवन डिभिजन कार्यालय जुम्लाले आफ्नो जिम्माको काम शुरुआत गर्न पत्राचार गरेको छ।

ठेकेदार पक्षले अझैसम्म कुनै चासो देखाएको छैन। सम्झौता भएकै समयमा ठेकेदार पक्षले १० प्रतिशत पेस्कीसमेत लगिसकेको भवन डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चन्द्र खड्काले बताउनुभयो। सदरमुकाम गमगढी बजारको ढल निकासका लागि आर्थिक वर्ष ०७५–०७६ मा १ करोड ५० लाख रुपियाँ विनियोजित गरेको थियो।

भवन डिभिजन कार्यालय जुम्लाले उक्त योजना आफैँले निर्माण गर्ने चासो देखाएपछि छायाँनाथ रारा नगरपालिकाले विनियोजित बजेट अर्को योजनामा खर्च गरेको छ। नगरपालिका आफैँले सो योजनाअघि बढाएको भए यतिखेरसम्म सम्पन्न भइसक्ने सरकारी कर्मचारीहरू बताउँछन्।

भवन डिभिजन र ठेकेदार पक्षलाई काम शुरू गरी समयमै सम्पन्न गर्न नगरपालिकाबाट बेला–बेला पत्रचार गरेको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिङजङ शाहीले बताए।

निर्माणको जिम्मा लिएको ‘डाँफे द क्याराभान जेबी’ का चन्द्र थकालीले ढल निर्माणबारे फाराम सम्झौतामा रकम र योजना कहिलेबाट शुरुआत हुने भन्ने बारे आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस्