उपत्यकामा मेकानिकल पार्किङ प्रयोग गर्न प्रस्ताव पेस



नेपाल समाचारपत्र, काठमाडौं

अव्यवस्थित सवारी पार्किङले काठमाडौंमा बढाएको यातायात आवागमन असहजता र प्रदूषण घटाउन मेकानिकल पार्किङ प्रयोग गर्न जापानको निपोन केबल कम्पनीले प्रस्ताव गरेको छ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको मेकानिकल पार्किङबाट निजी क्षेत्रसँग दिगो व्यापारको सम्भाव्यता अध्ययन र यसको सञ्चालन व्यवस्थापनको दिगोपनाका लागि काठमाडौंमा गरिएको सर्वेक्षणको तथ्य देखाउँदै कम्पनीका अधिकारीले यस्तो प्रस्ताव गरेको हो।

प्रस्तावमा थोरै ठाउँमा धेरै गाडी पार्किङ गर्न सकिन्छ, अव्यवस्थित पार्किङले ओगटेको जमिन अन्य उपयोगमा ल्याउन सकिन्छ। प्रारम्भिक अध्ययनले देखाएको तथ्य उल्लेख गर्दै अध्ययन कार्यदलका प्रतिनिधि सुम्पेइ इचिकावाले थोरै जमिनमा धेरै सवारी अट्ने भएकोले राजस्वमा वृद्धि हुने, पार्किङ गरिएका सवारीको सुरक्षा हुने भएकोले हामीले मेकानिकल पार्किङ प्रस्तावअघि सारेका हौं।

सर्वेक्षण टोलीका अर्का प्रतिनिधि सेइजी ओकानोले यो प्रणाली जडान र सञ्चालन गर्दा महानगरका प्राविधिकलाई प्रविधि र प्राविधिक पक्षमा बुझ्ने बनाउने र त्यसपछि परियोजना महानगरलाई निःशुल्क हस्तान्तरण गर्ने योजना बताउनुभयो। यो परियोजना जाइकाले स्वीकृत गरेपछि मात्र लागू हुने जापानिज प्रतिनिधिको भनाइ छ।

शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले काठमाडौंमा बढ्दो सवारी चाप नियन्त्रण गर्न र अव्यवस्थित पार्किङ प्रणालीलाई विस्थापन गर्न अपरिहार्य भएको बताउँदै प्रस्तावकले दिएको बनिबनाउ परियोजनाभन्दा महानगर सहभागी भएको परियोजना महानगरको प्राथमिकतामा रहेको जानकारी दिनुभयो।

अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले पार्किङको समस्या झेलिरहेका सहरवासीले तत्काल सहज महसुस गर्ने खालको परियोजना सञ्चालन गर्न खोजेको जानकारी दिनुभयो।

कामपाका प्युखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्ग क्षेत्रमा सःशुल्क पार्किङ सञ्चालन गर्दाको अनुभव सुनाउँदै बैठकमा ट्रली योर्स प्रालिका सूचना प्रविधि संयोजक हरिश अग्रवालले शहरमा भएका कारहरू ९० प्रतिशत समय पार्किङमै बस्ने र बाँकी ५ प्रतिशत मात्र सडकमा गुड्ने भएकोले पार्किङमा समस्या देखिएको बताउनुभयो।

हाल प्रस्ताव गरिएको पार्किङमा एकैपटक १३ वटासम्म कार पार्किङ गर्न मिल्नेछ। यस प्रकारको पार्किङ प्रणालीले व्यापारिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई प्रत्यक्ष लाभ पु¥याउने अध्ययन टोलीको भनाइ थियो।

बैठकमा सार्वजनिक निजी साभेदारी इकाइका प्रमुख धु्रवकुमार काफ्ले, भौतिक पूर्वाधार विकास विभागका इन्जिनियरहरू प्रेमबहादुर श्रेष्ठ र जनार्दन गिरीलगायत अधिकारीहरूको सहभागिता थियो।

 

प्रतिक्रिया दिनुहोस्