‘मेरो विश्वयात्रा’



नारायण खनाल, मालरानी–३, अर्घाखाँची ।

(कविता)
चीन ! मलाई चिन भनेँ
अहँ सुनेन, हुस्सुले
त्यसैले त म
त्यहीँ प्रकट भएँ
अरबौँ मान्छेहरू
निमेष मै भस्म पार्न
भस्मासुर बनेर।

तर
चीन त झन, बदमाश रहेछ
आफ्ना सन्तान बचाउन
मरिहत्ते गर्ने, नेपाली जस्तो
जञ्जीरले बाँधेर
झन्डै पल्टायो मलाई नै
र त भागेर लागेँ
विश्व यात्रामा ।

अहिले संसारभर
जनमनमा गुन्जिरहेछु
मनमनमा चिन्ता रोपिदिएको छु
त्रासको आतंक फैलाएर
आनन्दमा रमिरहेछु
वाह! वाह! आफैंलाई
संसारको राजा सम्झेर ।

डर लाग्छ, मुटु काँप्छ
मलाई सिध्याउन
एकमनले जुटिरहेकाहरू
विजय भए भने
म त सिद्धिन्छु सदाको लागि
अहँ, म त
यो सोच्न पनि सक्दिन ।

भन्छन् रे
कोरोनाको विश्व यात्रामा
लगाम लागि सक्यो
भस्मासुरलाई
भस्म बनाउनु छ
त्यसैले
स्वास्थ्य आचरण सुधारौँ
आत्मविश्वास बढाऔँ
सबै मिलेर
कोरोनालाई परास्त गरौँ ।

हो, सचेतना सँगै
जागे र लागे भने मान्छे
म निभ्नुको विकल्प छैन
विश्व यात्राबाट
सदाको निम्ति ओझेल परेर ।

प्रतिक्रिया दिनुहोस्