‘माईभ्याली गोल्डकपले राष्ट्रिय परिधि नाघिसक्यो’



धिरेन चेम्जोङ अध्यक्ष, माईभ्याली फुटबल क्लब

इलामेले फुटबललाई एउटा संस्कृतिकै रूपमा लिने गर्दछन्। इलाममा फक्रिएको फुटबल संस्कृतिलाई अझ मजबुत बनाउन माइभ्याली फुटबल क्लब लागेको छ। जिल्लामा २०७१ सालदेखि प्रत्येक वर्ष अन्तराष्ट्रिय माईभ्याली गोल्डकप प्रतियोगिता गर्दै आएको छ। जुन पूर्वी पहाडकै सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिता पनि हो। जहाँ देशका फुटबलका महारथी क्लबदेखि विदेशका उत्कृष्ट टिमले प्रतिष्पर्धा गर्दै आएको छ। यो वर्ष पनि आउँदा फागुन १५ देखि २४ गतेसम्म छैटौं संस्करणको माईभ्याली गोल्डकप सुरु हुँदै छ। यसै विषयमा माईभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङसंग इलामको फुटबल संस्कृति, प्रतियोगिता आयोजनाको तयारी, इलाममा फुटबल क्षेत्रको थप विकास र संभावनाको विषयमा इलामबाट नेपाल समाचारपत्रका लागि गणेश घिमिरेले गरेको संक्षिप्त कुराकानीः

माईभ्याली गोल्डकपको शुरुआत कसरी भयो ?
बिगतमा माईभ्याली स्पोर्टिङ क्लब थियो। त्यस क्लबले चार संस्करणसम्म निरन्तर भूकम्प स्मृति कपका रूपमा फूटबल प्रतियोगिता सञ्चालन भयो। त्यस पश्चात देशको राजनीतिक परिस्थिति तथा अन्य विभिन्न कारणले त्यो प्रतियोगिता धेरै वर्षसम्म सञ्चालन हुन सकेन। युवाहरूको बाटो बदलिन थाल्यो, युवाहरूमा खेलकु्द प्रतिकै मोह हराउन थालेको आभाष पाएर फूटबललाई माया गर्ने इलामे युवासहित इलामेको साझा भेलाले इलाममा फेरि अब फुटबललाई ब्यूँताउनुपर्छ, फूटबलको विकासमा लाग्नुपर्छ भनेर हामीले प्रयास थाल्यौें। यसै क्रममा २०७१ सालमा माइभ्याली फूटबल क्लब दर्ता गरेर सोही वर्षदेखि आफूहरूले इलाममा पूर्वी पहाडकै ठूलो धनराशि पुरस्कार भएको माईभ्याली गोल्डकप फूटबल प्रतियोगिता सुरु गरेका हौं।

इलामलाई फूटबलको सहर भनेर चिनाउन कस्तो प्रयास भइरहेको छ ?
फूटबल भनेपछि इलाममा राणाकालदेखि नै इलामेहरूमा क्रेज थियो। त्यो क्रेज अहिले पनि छ। तर अब फूटबललाई आधुनीकिकरण ढंगबाट अघि बढाउनुपर्छ भन्ने लागेर माइभ्याली फूटबल क्लबले देशकै चर्चित फूटबल क्लब, भारत, भूटान, बंगालदेशको फूटबल क्लबहरूलाई मैदानमा उतारिसकेका छौं। यस्ता उत्कृष्ट क्लबहरू इलाम आउँदै गर्दा यस प्रतियोगिताले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रियकरण गरिसकेको अवस्थामा आयोजकले इलामलाई फुटबलको सहरका रूपमा चिनाउन कुनै कसर बाँकी राखेका छैनांै। यो क्रम अझै सशक्त ढंगबाट अघि बढ्नेछ।

ठुलो धनराशीको प्रतियोगिता भनेर प्रचार त भयो तर व्यवस्थापन गतिलो भएन भन्ने आरोप छ नि ?
हो, त्यो एक किसिम सही नै हो। तर व्यवस्थापन एकैपटक राम्रो हुन्छ भन्ने पनि हैन। विस्तारै हुँदै जाने प्रकृया हो। पहिलोमा भन्दा दोस्रोमा, दोस्रोमा भन्दा तेस्रो संस्करण हुँदै पाँचौं संस्करण सकिसक्दासमेत व्यवस्थापनमा हामीले धेरै सुधार गरेका छौं जस्तो लाग्छ। यहाँ मैदानकै अभाव छ। अनि दर्शकलाई खेल सहज ढंगबाट बसेर हेर्नका लागि सुबिधा सम्पन्न स्टेडियम छैन। यस अर्थमा पनि व्यवस्थापन कमजोरी हुन सक्छ। तर हामीले जतिसक्दो दर्शकलाई असहज नहोस् भनेर अस्थायी नै भए पनि बाँसको प्याराफिट निर्माण गरेर बसेर खेल हेर्ने व्यवस्था भने मिलाउँदै आएका छौं। टिकट काटेर खेल हेर्नुपर्ने भए पनि खुल्ला ठाउँहरू धेरै भएकाले टिकट काटेर हेर्ने दर्शकले सहज रूपमा बसेर हेर्न नपाउनु भएकोले पनि व्यवस्थापनमा कमजोरी देखिएको हुनसक्छ। यसलाई पनि हामी सुधार गरेर लैजानै प्रयासमा छौं।

माइभ्याली गोल्डकपले इलामको फुटबल संस्कृतिमा के फरक पार्छ भन्ने लाग्छ ?
फूटबललाई राजा खेल भनेर भन्ने गरिन्छ। दर्शकको चाप उच्च हुन्छ। माइभ्याली गोल्डकपले सामाजिक सद्भाव कायम राखेको छ भने खेल भावनाको विकास पनि गराएको छ। फुटबलकै माध्यमबाट समाजमा सामाजिक रुपान्तरण गर्न हामी लागेका छौं। यहाँ राम्रा खेलाडी धेरै छन्। तर सबैले आफ्नो प्रतिभा देखाउन सकेका छैनन्। यसै गोल्डकपको माध्यमबाट इलामका धेरै खेलाडीहरू व्यवसायिक बन्दै गएका छन्। कुलतमा फसेका युवाहरूलाई खेलकुदको माध्यमबाट सहि बाटोमा ल्याउन माईभ्याली गोल्डकपको प्रमुख भूमिकासमेत रहेको छ।

इलाममा स्तरीय खेल मैदान छैन। पुर्वाधार विकासका लागि किन अहिलेसम्म पहल गर्नुभएन ?
इलाम मात्र हैन पहाडी भेगमा कहिँ पनि स्तरी मैदान छैन। इलामको कुरा गर्नुपर्दा ठूलो टुडिखेल जिल्लाकै एकमात्र ठूलो मैदान हो। तर यस मैदानको स्तरउन्नती गर्न सरोकारवाला निकाय लागेको छैन। माइभ्याली फुटबल क्लबले मात्र मैदानको स्तरउन्नति गर्न सक्दैन। स्थानी सरकारदेखि खेलसंग सम्बन्धि सबै सरोकारवाला निकाय लाग्नुपर्छ। क्लबले २०औं लाख रुपियाँ खर्चेर दुबो लगाएको थियो। चौरीमा परिणत भइसकेको मैदान फेरी विभिन्न कार्यक्रम, मेला लगायतले फेरी जस्ताको तस्तै भयो। अब मैदानको स्तरउन्नती माथिल्लो निकायबाटै गर्न जरुरी छ।

छैटौ संस्करणसम्म आइपुग्दा माइभ्याली गोल्डकपको कस्तो खालको प्रभाव देख्नुभएको छ ?
यो गोल्डपक देशकै एउटा प्रतिष्ठित गोल्डकप हो। यसले राष्ट्रिय परिधि मात्र नभएर अन्तर्राष्ट्रियकरण भइसकेको छ। यहाँ आएर खेल्न देशका चर्चित फुटबल क्लब मात्र हैन भारत, बंगलादेशलगायत देशका चर्चित क्लबहरू आउन इच्छुक हुन थालेका छन्। धेरै वर्ष पहिले हामीले टिभीमा हेरेको भारतको पुरानो र अत्यन्तै चर्चित फुटबल क्लब महम्द स्पोटिङ क्लब यो छैटौं संस्करणमा आउने भएको छ। यो क्लब आफैंले सम्पर्क गरेर इलाममा आएर खेल्न चाहेकोले पनि यस गोल्डकपले अन्तर्राष्ट्रिय स्तरमा पनि राम्रो प्रभाव पारिसकेको महसुस आयोजकले गरेका छौं।

माइभ्याली गोल्डकपले सिंगो पूर्वीपहाडलाई के फाइदा पुगेको छ ?
विदेशी खेलाडीदेखि सबै यहाँ आएका छन्। मेचीका ताप्लेजुङ, पाँचथरदेखि फूटबल प्रेमीहरू प्रतियोगिता हेर्न आउने गरेका छन्। पहाडी भेगमा रहेका फुटबल आयोजकहरूले धेरै कुरा सिकेका छन्। भावनात्मक एकताको सन्देश यस गोल्डकपले दिएको छ। यहाँको व्यपार, पर्यटन क्षेत्रमा महत्वपूर्ण सहयोग पुगेको छ। इलाममा खेल पर्यटनको विकास गराउन पनि यस प्रतियोगिता कोशे ढुंगा साबित बन्ने आशा गरेका छौं।

इलाममा फुटबलको विकासका लागि लागि के योजना छ ?
हामी एकाडेमी खोल्ने सोचमा छौं। तर मैदानको अभाव छ। आर्थिक अवस्था पनि निकै महत्वपूर्ण पाटो हो। त्यसो त माइभ्याली फुटबल क्लब, जिल्ला फुटबल संघ र प्याब्सनको संयुक्त प्रयासमा एकाडेमी खोल्ने योजना बनाएका छौं। मैदान नभएका कारण हामी योजनालाई कार्यन्वयन ल्याउन नसकिरहेको अवस्था हो। फुटबललाई माया गर्ने इलाममा एकाडेमी हुन अत्यन्तै खाँचो छ।

 

प्रतिक्रिया दिनुहोस्