पाडापाडी हुर्काउन ३० लाख अनुदान



हेटौंडा, (नेस)
बागमती प्रदेश सरकारले पाडापाडी हुर्काउन ७५ प्रतिशत अनुदान दिने भएको छ। भैंसीका पाडापाडी हुर्काउन चितवन, मकवानपुर, सिन्धुपाल्चोकलगायत जिल्लाका लागि ३० लाख रुपियाँ चालू आर्थिक वर्षका लागि छुट्याइएको हो।

कृषक समूह, सहकारी र निजी क्षेत्रसँगको साझेदारीमा पशुआहार उद्योग स्थापनाका लागि ५० प्रतिशत अनुदान दिइने भएको छ। यसका लागि २ करोड अनुदान विनियोजन गरिएको छ। नमूना डेरी तथा प्रशोधन प्लान्ट (क्याडवरी र चकलेटसहित) निर्माणमा सहकारी र निजी क्षेत्रलाई ५० प्रतिशत अनुदान दिन लागिएको छ।
प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले चालू आर्थिक वर्षमा किसानका लागि विभिन्न कार्यक्रम ल्याएको हो। निर्देशनालयले मत्स्य विकासको यान्त्रिकीकरण र पोखरी निर्माणमा ७५ प्रतिशत अनुदान दिने भएको छ।

चालू आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि ५ करोड छुट्याइएको निर्देशनालयका अधिकृत बिराम बोहोराले जानकारी दिनुभयो। सबै रकम यसमा खर्च हुन नसके अन्य अनुदानमा खर्च गर्न सकिने बताइएको छ। निर्देशनालयले पशुपालन यान्त्रिकीकरणमा ७५ प्रतिशत अनुदान दिने भएको छ।

उत्पादन, प्रशोधन तथा बजारीकरणसम्बन्धी मेसिनरीका लागि अनुदान दिन लागिएको अधिकृत बोहोराले बताउनुभयो। यसका लागि एक करोड रुपियाँ यस वर्ष अनुदान दिइने छ।

प्रतिक्रिया दिनुहोस्